बिहीबार नेप्से परिसूचक ३०.७८ अंक बढेर १५७२.१८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०२ अंक अर्थात २.३ प्रतिशत बढेर ३१२.५० विन्दुमा पुगेको छ। यस दिन १९१ कम्पनीको ४७ हजार ८९५ पटकको कारोबारमा ३ अर्ब ३६ करोड १९ लाख ५६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
पछिल्ला दिनहरुमा जस्तै यस दिन पनि लगानीकर्ताहरु विशेष गरी होटल र हाइड्रोपावर कम्पनीहरुको शेयरमा आकर्षित भएका देखिन्छ। यस दिन यी होटल उपसमूहको परिसूचक सर्वाधिक ९.३७ प्रतिशत बढेको छ भने हाइड्रोपावरको ७.३६ प्रतिशत बढेको छ। यी दुई उपसमूहबाहेक फाइनान्स उपसमूह यस दिन ६.१३ प्रतिशत बढेको छ। यस दिन विकास बैंकको सूचक ३.७३ प्रतिशत बढेको छ भने बैंकिङ्गको २.३ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक लिमिटेड अगाडि रहेका छन्। नेपाल पुनर्बीमा कम्पनीको यस दिन १३ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल बैंकको १२ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।