दशैँतिहारमा घुम्नेका लागि कस्ताे बन्ला टुर प्याकेज ?

Sep 19, 2020 07:46 PM Merolagani

  • ज्याेति शाह

फ्रान्सबाट तीन साता अघि नेपाल फर्किएका सुनिल डिमडुङ दशै अघि कास्कीको घान्द्रुक घुम्न जान चाहन्छन् । लामो लकडाउन र निषेधाज्ञाकाकारण घुमफिरको व्यवस्थापनबारे सर्वत्र अन्योल छ ।

त्यस्तै अन्योलमा सुनिल पनि परे । उनले केही ट्राभल कम्पनीमा घुम्ने प्याकेजबारे पनि सोधे । ‘सधैँका वर्षहरुमा अन्तरिक पर्यटक घुमाउने ट्राभल कम्पनी पनि अन्योलमा रहेको पाएँ,’ सुनिलले भने । घुम्ने गन्तब्य, घुम्न जाने साधन र बस्ने होटलको अन्योलका कारण यसपालीको दशैं घुमफिर अन्योलमा परेको उनको भनाई छ ।

'घान्द्रुक खुलेको छ वा छैन उनले केहि ट्राभल कम्पनीमा भ्रमण व्याकेज बारे बुझे पनि । तर ट्राभल कम्पनीहरु भ्रमण हुने वा नहुने बारे स्पष्टसँग भन्न सक्दैनन्,'उनी अन्यौलमा छन् । यद्यपि पोखरासम्म पुग्ने भन्ने सोचमा सुनिल छन् ।

घान्द्रुकका होटल व्यवसायीहरुले पनि तत्काल होटल संचालनमा नल्याउने जानकारी दिएका छन् । व्यवसायीहरुले असोज महिनाभित्र व्यवसाय पुन : सुचारु नगर्ने भएको पश्चिमाञ्चल होटल सङ्घ (हान) का अध्यक्ष विकल तुलाचनले मेरोलगानीलाई बताए ।

यस्तै ललितपुर भ्याली कलेजमा अध्यनरत विद्यार्थीहरु हरेक वर्ष शैक्षिक भ्रमणकालागि देशका विभिन्न स्थान जाने गर्दथे । तर यस वर्ष भने उनीहरुको केहि भ्रमणका योजना स्थगित भइसेकेका छन् भने केहि अन्यौलपूर्ण अवस्थामा छन् । सोहि कलेजमा अध्ययन गर्ने विशाखा अधिकारी भन्छिन्, 'सधैँजसो दशैँतिहारमा घुम्न जाने गथ्र्यौ, यो पाली त खोई के होला र ?'  उनी जस्तै कैयौँ विद्यार्थीहरुको घुम्ने योजना हाल प्रश्नचिन्हमा नै अड्किएको छ ।

आन्तरिक भ्रमणमा उत्साह छैन ?

केहि वर्षयता नेपालीहरुमा देश विदेश भ्रमण गर्ने प्रचलन बढेको पाइएको छ । विशेष गरेर चाडपर्वको समयमा परिवार लिएर घुमघाम गर्ने मानिसको संख्या पछिल्लो समय बढेको हो । चाडपर्वमा विदा हुने भएकाले पनि मानिसहरुको यसप्रति लगाव भएको हो । अन्य समय भन्दा चाडपर्वका बेला विदेश भ्रमण गर्ने नेपालीहरुको संख्या २० देखि २५ प्रतिशतले बढ्ने गरेको व्यवसायीहरु बताउँछन् । तर यस वर्ष भने विदेश भ्रमणकालागि कुनै उत्साह देखिएको छैन ।

विगत सात वर्षदेखि ठमेलमा संचालन भइरहेको स्काईलर्ड ट्राभल एण्ड टुर कोभिड १९ संक्रमणको जोखिम बढेसँगै जारी गरिएको लकडाउनका कारण ६ महिना बन्द रह्यो । अन्य वर्ष विभिन्न टुर प्याकेज ल्याउने तथा टिकटिङ गर्ने यस कम्पनी यस वर्ष यस्ता कुनै पनि कार्यक्रम ल्याउने कुनै योजना नबनाएको जनाएको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सुरज थापा भन्छन्,' विशेष गरी टिकेटिङ गर्ने गरेका थियौँ तर यसपालीको दशैँ तिहारलाई कुनै योजना छैन । अब हेरौँ सकेसम्म नयाँ वर्षकोलागि तयारी गर्ने कोशिष गर्दैछौँ ।' अन्य वर्ष आन्तरिक भन्दापनि विदेश जाने नेपालीहरुको संख्या निकै हुने गरेको सुरज बताउँछन् । दशैँ तिहारकोलागि असारदेखि नै टिकट बुकिङ हुने गर्ने र करिब ५०० देखि एक हजार जनासम्म यस कम्पनीमार्फत विदेश भ्रमण गर्ने उनी सुनाउँछन् ।

एक्सोडस ट्रेक एण्ड एक्स्वीडिसनलाई भ्याइनभ्याइ हुने समय थियो दशैँ तिहार तर कोरोना महामारीका कारण यस वर्ष भने कुनै टुर प्याकेज लिएको छैन यस कम्पनीले । विशेषगरी विदेशी पर्यटकलाई भ्रमण गराउने भएकाले पनि अर्को वर्षसम्मकालागि सबै प्याकेज स्थगित गरिएको एक्सोडसका लिडर इंग्सो लामा सुनाउँछन् । हुन त विदेश बस्ने नेपाली तथा केहि मात्रामा नेपालीहरुले पनि यस कम्पनी मार्फत घुमफिर गर्ने गरेका थिए तर यस वर्ष भने कुनै बुकिङ नभएको विकाश तामाङ बताउँछन् ।

बिउँतिदै पोखरा 

पोखरामा होटलहरु आंशिक रुपमा खुल्न थालेका छन् भने केहि होटल तथा ट्राभल व्यवसायीहरु व्यवसाय पुन : संचालन गर्ने तयारीमा रहेका छन् । पश्चिमाञ्चल होटल सङ्घ (हान)का अध्यक्ष विकल तुलाचनका अनुसार पर्यटक आउने संभावना निकै कम भएपनि व्यवसायीहरुले पोखरामा व्यवसाय सुचारु गर्ने तयारी गरिरहेको छन्। 'वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै आन्तरिक पर्यटकहरुकालागि पर्याप्त हुने होटलहरु संचालनमा आइसकेका छन् । कात्तिक १ गते बाट बाह्य पर्यटकलाई सन्देश दिनकालागि पनि तयारी गर्दैछौँ । अब विस्तारै पर्यटनको आगमन हेर्दै होटल संचालन बढाउँदै लैजाने योजनमा छौँ ,'अध्यक्ष विकल भन्छन् ।

आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटल प्याकेजिङहरु सार्वजनिक गर्ने विषयमा छलफल भइरेहको पनि उनी बताउँछन् । 'आन्तरिक पर्यटन प्रर्वद्धनकालागि दशैँतिहारको समयमा होटल प्याकेजहरु ल्याउने विषयमा छलफल गरिरहेका छौँ । अन्य कुनै विकल्प नभएकाले पनि सुरक्षाका सबै मापदण्ड अपनाएर होटल तथा पर्यटन व्यवसाय संचालन गर्न अनुरोध गरेका छौँ ',  उनी थप्छन् ।

नाटा र पर्यटन बोर्डबिच हुँदैछ छलफल

अहिलेको समयमा आन्तरिक पर्यटनलाई नै प्रर्वद्धन गर्ने उद्धेश्यले नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटा,पर्यटन बोर्ड तथा अन्य सात प्रदेशसँग मिलेर कार्यक्रम अगाडि बढाएको नाटाका वरिष्ठ उपाध्यक्ष विनय बस्नेतको भनाई छ। 'यसकालागि विभिन्न कम्पनीहरुसँग प्याकेज मागेको र एक साताभरमा प्याकेज तथा मूल्य सूची दिने तय भएको छ । त्यहि आधारमा नाटा र पर्यटन बोर्डबिच छलफल हुने र आन्तरिक पर्यटनकालागि प्याकेजहरु सार्वजनिक गरिनेछ', उनी  भन्छन् ।

पर्यटनसँग सम्बन्धित यातायात, हवाई उडान, होटल तथा अन्य सबै व्यवसायलाई समेट्दै प्याकेज तयार गर्ने जमर्को नाटाले गरिरहेको छ । यसकालागि व्यवसायीहरु पनि उत्साहित रहेको उनी सुनाउँछन् । नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यका मापदण्डलाई पुर्ण रुपमा पालना गर्दै आन्तरिक पर्यटनलाई बढावा दिन नाटा सक्रिय रुपमा अघि बढिरहेको विनय भन्छन् ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।