कारोबार गरिरहेको ब्रोकर परिवर्तन गर्न मिल्छ कि मिल्दैन?

Oct 09, 2020 10:09 AM Merolagani

सबिना बजगाई 

चाबहिलमा बस्ने विक्रम चौलागाईले केही दिन पहिले एउटा ब्रोकरबाट एक कम्पनीको केही कित्ता शेयर बेचे । तर, शेयर बिक्री गरेको १० दिनसम्म पनि आफ्नो पैसा पाएनन्। बारम्बार यसका लागि पहल गर्दा पनि आफूले बेचेको शेयरको पैसा नपाउदा उनी कारोबार गरिरहेको ब्रोकर नै परिवर्तन गर्ने सोचमा पुगे । 

उनी आफूले बेचेको शेयरको भुक्तानी समयमा नपाएकै कारण आफूले ब्रोकर नै परिवर्तन गर्न लागेको बताउँछन् । उनी भन्छन्, ‘योभन्दा पहिले पनि उसले समयमा शेयर बेचेको रकम भुक्तानी गरेन । तर अब त्यसो नहोला भन्ने आशमा कारोबार गरेँ तर पुनः सोही व्यवहार दोहोरियो। बारम्बार यस्तो समस्या आइरहन्छ भने यस्तो ब्रोकरमा मात्र सीमित भएर के काम? भनेर राम्रो सेवा दिने र समयमै रकम भुक्तानी गर्ने नयाँ ब्रोकरबाट कारोबार गर्ने सोच बनाइरहेको छुँ।’

यता, बानेश्वर बस्दै आएका सरोज बस्नेत पनि ब्रोकर परिवर्तन गर्ने सोचमा छन्। तर उनको समस्या भने अलि फरक छ । उनले पहिले आफू बसेको ठाउँ नजिकैको ब्रोकरमा खाता खोली कारोबार गरिरहेका थिए । सुरुमा आफूलाई सहज हुने गरेर आफू बस्ने कोठा नजिकैको ब्रोकर कार्यालयमा खाता खोले तर अब उनी जागिरको सिलसिलामा कोठा सरेर त्यो ब्रोकर कार्यालयभन्दा टाढा पुगेका छन्। त्यसैले उनी नयाँ कोठा नजिकै आफूलाई उपयुक्त हुने ठाउँमा ब्रोकर खाता खोल्न चाहिरहेको बताउँछन् ।

यस्ता धेरै मानिसहरु छन्, जो विभिन्न समस्याका कारण ब्रोकर परिवर्तन गर्न चाहिरहेका छन् । यद्यपी यिमध्ये कतिपय आफुले कारोबार गरिरहेको ब्रोकर कसरी परिवर्तन गर्ने भन्ने विषयमा अनभिज्ञ छन् ।

कतिपय लगानीकर्ताहरु हालको ब्रोकर परिवर्तन गरेर नयाँ ब्रोकरकोमा खाता खोल्न सकिन्छ कि सकिदैन भन्ने प्रश्न सोधिरहेका भेटिन्छन्। यसै विषयमा स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाट भन्छन्, ‘अवश्य पनि, लगानीकर्ताहरुले ब्रोकर परिवर्तन गर्न सक्छन्।’

यसका लागि सबैभन्दा पहिले आफूले कारोबार गरेको ब्रोकरकोमा हिसाब किताब फछ्र्यौट गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो अकाउन्ट डिएक्टिभेट गर्नका लागि अनुरोध गरेपछि ब्रोकरले उक्त अकाउन्ट डिएक्टिभेट गरेसँगै अर्काे ब्रोकरकोमा नयाँ अकाउन्ट खोली एक्टिभेट गर्न मिल्ने रानाभाट बताउँछन्।

उनी भन्छन्, ‘एकातिर डिएक्टिभेट हुने बित्तिकै अर्काेतिर एक्टिभ गर्न मिल्छ । तर मुख्य समस्या भनेको जहाँ काम भइरहेको छ, त्यहाँको डिएक्टिभेट नगर्ने अनि अर्को ब्रोकरकोमा गएर एक्टिभ गर्नु भनेर अनुरोध गर्दा चाहिँ पहिलेको ब्रोकरमा नै लेनदेन हुनसक्छ । त्योभन्दा पहिले आफूले जहाँ काम गरेको छ, त्यसलाई क्लियर गरेर आफ्नो अकाउन्ट डिएक्टिभेट गर्ने भनेर ब्रोकरसँग सम्झौता गरेपछि डिएक्टिभ गर्न सकियो । त्यसपछि नेप्सेलाई ब्रोकर परिवर्तन गर्ने सम्बन्धमा पत्र लेखेर ब्रोकर परिवर्तन गर्न सकिन्छ।’

तर पछिल्लो समय दुई/तीनवटामा ब्रोकर कार्यालयमा अकाउन्ट खोल्ने अनि पुरानो खाता डिएक्टिभ नगर्ने र अर्काे नयाँ अकाउन्ट खोलेको ब्रोकर कार्यालयमा गई ‘मेरो अकाउन्ट एक्टिभ भएन’ भनेर गुनासो गर्ने गरेको पाइएको रानाभाटको भनाई छ ।

यसै सन्दर्भमा नेप्सेका प्रवक्ता मुराहरि पराजुली भन्छन्, ‘कारोबार गरिरहेको ब्रोकर परिवर्तनका लागि क्लाइन्टले पुरानो ब्रोकरको सहमति लिएर नेप्सेमा रिक्वेस्ट पठाउनुपर्छ ।’ मैले यो (ब्रोकरको नाम) ब्रोकरबाट कारोबार गरिरहेको थिएँ, अब नयाँ ब्रोकरबाट कारोबार गर्दैछुँ भनेर डिम्याट नम्बर, कारोबार गर्न चाहेको ब्रोकर नम्बर र लगानीकर्ताको क्लाइन्ट आइडी सहित ई–मेल या पत्र पठाएपछि नयाँ ब्रोकरकोमा कारोबारका लागि स्वीकृती प्राप्त हुने पराजुली बताउँछन् ।

यसका लागि सबैभन्दा पहिले पुरानो ब्रोकारकोबाट सहमति लिनुपर्ने उनको भनाई छ ।

ब्रोकरकोमा नगई सिधैँ नेप्सेबाट ब्रोकर परिवर्तन प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिन्न भन्ने प्रश्नमा उनी भन्छन्, ‘ब्रोकरको सहमति नभई प्रक्रिया अगाडि बढ्दैन । किनकि पुरानो ब्रोकरसँग क्लाइन्टको लेनदेन बाँकी पनि हुनसक्छ । त्यसैले सर्वप्रथम ब्रोकरकोबाट सहमति लिन जरुरी हुन्छ।’ 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।