कुनै कम्पनी छनौट वा लगानी गर्नुभन्दा अघि के कुरामा ध्यान दिने?

Oct 24, 2020 06:11 PM Merolagani

सबिना बजगाई 

शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताहरुले लगानी गर्न लागिएको कम्पनीको विभिन्न पक्षहरु विश्लेषण गरेर कम्पनी छनौट गर्ने गरेका छन् । जसअनुसार कोही लगानीकर्ताले इपिएसमा जोड दिएको, कसैले प्रतिशेयर आम्दानी त कसैले वितरणयोग्य मुनाफा, कसैले संचित मुनाफाका आधारमा लाभांश क्षमता हेर्दै लगानी प्राथमिकीकरण गर्दै आइरहेको पाइएको छ । 

सबैले आफ्नो आफ्नो दृष्टिकोणबाट बजारको विश्लेषण गरेर विभिन्न सूचकलाई प्राथमिकताका आधारमा राखेर लगानी गर्ने गर्दछन् । यसैगरी पीई रेसियो ३० भन्दा जति कम त्यति राम्रो तर तल १० भन्दा कम होइन, प्रतिशेयर आम्दानी १५ भन्दा माथि, बर्षेनी लाभांश र बोनस बढाउदै लगिरहेको, निष्क्रिय कर्जा २ प्रतिशत भन्दा कम भएको, प्रतिशेयर मूल्य सबैभन्दा घटेको, निक्षेप संकलन र कर्जा परिचालन बढाउदै लगेको, आन्तरिक सुशासन राम्रो भएको, प्रमोटर लगानीकर्ता धेरै भएको, किन्ने मुल्य ३/४ सय देखि ७/८ सय सम्मकोमा लगानी सुरक्षित हुने केही लगानीकर्ताहरुको भनाई छ ।

कुनै पनि कम्पनीमा लगानी गर्नुपूर्व प्राथमिकताका आधारमा के कुरामा ध्यान दिने भन्ने विषयमा छोटेलाल रौनियार 

हामीले लगानी गर्ने हो भने सबैभन्दा पहिले कुन सेक्टरमा गर्ने हो त्यो छनौट गर्नुपर्छ। जस्तै बैंक तथा वित्तीय संस्थाहरु, माइक्रोफाइनान्स, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी। यसैगरी इन्स्योरेन्समा हो भने नन लाइफ, लाइफ या होटल समूह, हाइड्रोपावर कुन हो त्यो छनौट गर्नुपर्छ।

जस्तै बैंकतिर लिने हो भने व्यवस्थापन कस्तो छ भन्ने कुरा सबैभन्दा पहिले हेर्ने, अनि कति वर्षदेखि लाभांश कसरी दिइरहेको छ? चुक्ता पूँजी कति छ? तिनीहरुको रिजर्भ सरप्लस कति छ? हेर्नुपर्छ। त्यसपछि ईपीएस, एनपीएल कति छ? नेटवर्थ कति छ? उनीहरुको डिपोजिट कति छ? कति पैसा लोन कति छ? ग्रोइङ छ कि छैन? लगायतका कुराहरु प्राथमिकताका आधारमा हेर्नुपर्छ।

यसैगरी, डिपोजिट यति छ उति छ भनेर मात्र हुदैन, त्यो हरेक वर्ष बढ्दै गएको छ कि छैन, त्यो पनि हेर्नुपर्छ। कुनै पनि कम्पनीको ग्रोथ छ कि छैन मुख्य रुपमा त्यो पनि हेर्नुपर्ने हो।

अर्काे कुरा कसरी हेर्ने भन्दा कुनै पनि कम्पनी छनौट गर्नुभन्दा अगाडि हामीले मिडियम लङ टर्म भ्यालू इन्भेष्टमेन्ट फिक्स्ड कम्पाउन्डिङ रिटन्र्स हेर्ने। हामीले मिडियम लङ टर्म इन्भेष्टमेन्ट गर्याैँ भने फन्डामेन्टल्ली बलिया कम्पनीहरु, म्यानेजमेन्ट राम्रो भएको अनि ईपीएस, एनपीएल, नेटवर्थ, पीई रेसियो लगायतका कुराहरु र उसले लाभांश दिएको ट्रयाकहरु सबै हेरेर आफूलाई चित्त बुझ्छ, राम्रो लाग्छ र आफूले लगानी गरे अनुसार प्रतिफल पाउछुँ भन्ने लाग्छ भने लगानी गर्ने हो।

भावनामा आएर बजारमा जे चलिरहेको छ त्यो लगानी गर्याे भने घाटा हुनसक्छ। किनभने बजारमा लहैलहैमा लागेर लगानी गर्नु हुदैन। हाम्रो गृहिणीहरु, विद्यार्थीहरु, सरकारी तथा निजी कम्पनीहरुका कर्मचारीहरुको हार्डन मनी हुन्छ। उनीहरुले आफूले जती बचत गरेका हुन्छन्, त्यो लगानी गर्ने हो। अब व्यापारीहरु पनि दिनभरी कमाएको पैसा अलिअलि बचत गरेर लगानी गर्छन्। तिनीहरुको पनि धेरै मिहेनतले कमाएको पैसा हो। त्यस्तो नराम्रो कम्पनीमा लगानी गर्याे भने लगानी घट्न सक्छ अथवा डुब्न सक्छ। पूरै त डुब्दैन तर, घट्न सक्छ।

त्यसकारण कम्पनी छनौट गर्दा कम्पनीको गुण र दोषको आधारमा छनौट गर्ने हो। मैले गुणहरु अघि भनिहाले। जस्तै दोषहरुमा एनपीएल धेरै भयो, त्यो कम्पनीको व्यवस्थापन राम्रो छैन, बोनस कहिले दिन्छ कहिले दिदैन अर्थात् बोनसको ट्र्याक पनि त्यति राम्रो छैन, कोभिड पछिको अवस्था झन् धेरै बिग्रीएको छ कि लगायत सबै कुरा हेर्नुपर्छ।

यसैगरी आफ्नो लगानीका आधारमा कम्पनी छुट्याउनुपर्छ। कहिलेकाहीँ सानो लगानीले पनि ठूलो प्रतिफल दिन सक्छ। यसैगरी, कम्पनी बुझेर अनि आफू पनि अलि एक्टिभ हुनुपर्छ। कम्पनीको छनौट गर्दा, बजारमा आफूभन्दा अग्रजहरु, जसले ११७५ हुदाँ २९२ झर्दा फेरि २९२ बाट १८६० हुदाँ त्यसपछि ११ सयमा आयो, ११ सयबाट अहिले साढे १५ सय/१६ सयको हाराहारीमा चलिरहेको छ, यि सबै समयमा लगानी गरेका लगानीकर्ताहरु हाम्रा अग्रज हुन्, उहाँहरुसँग पूरै ज्ञान हुन्छ, उहाँहरु अनुभवी हुन्, उहाँहरुलाई गुरु जस्तो बनाएर उहाँहरुसँग पनि शिक्षा लिनुपर्छ। के कस्तो गर्ने? के गर्दा राम्रो होला? उहाँहरुजस्तो विज्ञसँग सोधपुछ गरेर त्यसपछि आफ्नो दिमागले मात्र लगानी गर्ने। कसैको कुरा सुनेर मात्र लगानी गर्नु भनेको पनि मुर्खता हो। कुरा सुनेर मात्र लगानी गर्न हुदैन। कुरा सबैको सुन्ने तर आफ्नो दिमागले लगानी गर्नुपर्छ।

लगानी गर्दा पोर्टफोलियो मिलाउनुपर्छ। प्राक्टिकल लगानी कसरी गर्ने भने बैंक तथा वित्तीय संस्थाको बजारमा करिब ७० प्रतिशत लगानी छ। कुल २२/२३ खर्बको मार्केट हेर्ने हो भने, त्यसमा १५/१६ खर्ब त बैकिङ फाइनान्सियलको मात्र हिस्सा छ। त्यसपछि इन्स्योरेन्स, हाइड्रो, होटल तथा अरु रियल सेक्टरहरु रहेका छन्।

त्यो अनुसार, के गर्ने भने, मानौँ तपाईको बजारमा एक करोडको लगानी छ भने त्यसको ७० प्रतिशतसम्म अर्थात् ६० देखि ७० लाखसम्म तपाईले लगानी गर्ने मिडियम लङ टर्म भ्यालू इन्भेष्टमेन्ट कम्पाउन्डिङ रिटर्नमा। हरेक वर्ष बोनस र नगद लाभांश खाने गरेर राम्रो राम्रो कम्पनीमा लगानी गर्ने र ३० प्रतिशत अर्थात् ३० लाख रुपैयाँ बराबरको शेयर दैनिक किनबेच गर्ने। दैनिक किनबेच गर्दा त्यसबाट नाफा हुन्छ। त्यसबाट अभ्यास पनि गर्दै गयो, थाहा पनि हुँदै जान्छ। त्यो ३० लाखको कारोबारले तपाईको दैनिक घर खर्च टर्न सक्छ।

यसरी पोर्टफोलियो बनाएर, जस्तै ७० प्रतिशत र ३० प्रतिशतको पनि बनाउनु भयो भने ७० प्रतिशतबाट बैँक, फाइनान्स, माइक्रोफाइनान्सहरुमा पनि लगानी गर्ने। त्यसैगरी नन लाइफ, लाइफ, हाइड्रो, होटलमा पनि अलि अलि रियल सेक्टरमा पनि लगानी गर्ने। त्यसमा टप फाइभ कम्पनी छनौट गर्ने र त्यसमा हेरेर कम्प्लिट चार्ट बनाएर लगानी गर्ने। शेयर बजारसँग सम्बन्धित समाचार पढ्ने। तर, आफ्नो दिमाग चाहिँ सधै खुल्ला राखेर लगानी गर्ने हो। कम्पनीको दोष र गुण कहिल्यै पनि बिर्सिनु हुदैन। कम्पनीको आधारभूत अध्ययन (फण्डामेन्टल स्टडी) गर्नैपर्छ। सकिन्छ भने टेक्निकल एनालाइसिस र फण्डामेन्टल एनालाइसिसको क्लासहरु पनि लिने। आफूलाई अनुभवी बनाउँदै जाने, अलिअलि कारोबार गर्दै जाने, धेरै नहौसिने। नयाँ लगानीकर्ताहरुले आईपीओ भर्न नछुटाउने। आजभोली गृहिणी, विद्यार्थीहरुले पनि आईपीओमा लगानी थालेसँगै पछिल्लो समय आईपीओमा ८ लाख भन्दा बढी आवेदन भइरहेको छ, त्यो धेरै राम्रो हो।

सेबोनको एउटा कार्यक्रम छ, हरेक घरमा हरेक व्यक्तिसँग केही न केही शेयर होस्। १० कित्ताको कार्यक्रम हो यो। हामीहरुले यसको सपोर्ट गरिरहेका छौँ, तर कतिपयले यसको विरोध गरिरहेका छन्। किनभने यो १० कित्ताले गर्दा हामीले शेयर नै पाउदैनौँ भन्ने उनीहरुलाई छ। अब १० कित्ताले गरेर कुनै विद्यार्थीलाई पकेट खर्च भइरहेको छ भने त्यसले के फरक पर्छ र? पछि ऊ ठूलो लगानीकर्ता हुनसक्छ। गृहिणीहरुले १० कित्ता शेयर भरिरहेका छन्, त्यसो गरेर उनीहरु ठूलो लगानीकर्ता हुन सक्छन्। यसको विरोध गर्नेहरुले पहिले बोरामा भरेर अर्काको नागरिकता लिएर १०/१० कित्ता गरेर घुमे। अहिलेचाहिँ सि–आस्वा लगायतका प्रविधिले गरेर डिटेल चाहिने भएकाले उनीहरुले त्यसो गर्न पाइरहेका छैनन्।

वास्तवमा हरेक नेपालीहरुको घरमा शेयर हुनुपर्छ। जापान, भारत, चीन लगायतका हरेक देशहरु यसरी नै स्थापित भएको हो। हरेक घरका व्यक्तिसँग अलिकति शेयर भयो भने उसलाई शेयरप्रति चासो हुँदै जान्छ। त्यसकारणले त पछिल्लो समय डिम्याट अकाउन्ट १८/१९ लाख पुगिसक्यो, अनलाइनहरु प्रयोगकर्ता बढ्दै गइरहेको छ। लगानीकर्ताहरुमा शेयर बजारप्रति चासो बढ्दै गइरहेको छ। ३/४ वर्षको समयावधिलाई हेर्ने हो भने धेरै राम्रा लगानीकर्ताहरु शेयर बजारप्रति आकर्षित भइरहेका छन्। पूँजी बजार अलिकति व्यवस्थित हुँदै गइरहेको छ। अनलाइन सिस्टम राम्रो हुँदै आयो, लगानीकर्ताहरु बढ्दै गए, कम्पनीहरुमा पनि मान्छेहरुले एनालाइसिस गर्न थालेका छन्।

४÷५ वर्ष अगाडि कुनै राम्रो मिडिया पनि थिएनन्, शेयर बजारसम्बन्धि राम्रो जानकारी दिनका लागि। अब त मेरोलगानी जस्ता राम्रा मिडियाहरु र ट्रेनिङ दिने ठाउँहरु पनि स्थापित भइरहेका छन्।

तर, लगानीकर्ताहरु एकदम हौसिएर होइन, जोश गुमाएर होइन होशमा भएर राम्रोसँग कम्पनी छनौट गरेर लगानी गरेर त्यसलाई अगाडि बढाउँदै लग्यो भने पूँजीबजारमा राम्रो कमाई हुनसक्छ। अहिले हामी कहाँ विभिन्न समस्याहरु भएर न इण्डेक्स १५ सयको हाराहारीमा छ, भारतमा नै हेर्ने हो भने पनि त्यहाँको इन्डेक्स ३८/३९ हजारको हाराहारीमा छ। अरु देशमा पनि इण्डेक्स कहाँबाट कहाँ पुगिसक्यो। किनभने उनीहरु कहाँ पूँजी बजार विकसित भइसक्यो। हामी कहाँ २० वर्ष २५ वर्ष पुरानो बैंकको शेयर २०० सय डेढ सय रुपैयाँमा पाइरहेको छ। त्यो भनेको आईपीओभन्दा सस्तो हो। आईपिओ निकाल्दा एकसय रुपैयाँमा उसको कुनै पनि कम्पनीको सम्पत्ति पनि हुँदैन। उसले काम गर्छ तर, भोली के हुन्छ थाहा हुँदैन। कुनै पनि बैंक हेर्नुस्, उसको आफ्नो सम्पत्ति छ, हरेक वर्ष उसको नाफा बढिरहेको छ, उनीहरुको आफ्नो नेटवर्थ छ, कमाइरहेको छ, ट्रान्जेक्सन भइरहेको छ, त्यो कम्पनीको शेयर १५/२० वर्षपछि पनि दुईसय साढे दुईसयमा पाउनु त हामी भाग्यमानी हो।

तर, हामी के खोज्छौँ भने इन्स्योरेन्स र माइक्रोफाइनान्समा दोब्बर तेब्बर अर्थात् एउटा शेयरमा दुईसय/तीनसय रुपैयाँ खाने बानी भइसक्यो। त्यसले गर्दा बानी बिग्रिएको हो। तर वास्तवमा लगानी सुरक्षित गर्ने हो भने मिहेनतका साथ बुझेर कम्पनीको प्रोफाइल अध्ययन गरेर लगानी गर्दा कमाई राम्रो हुनसक्छ। बैंकमा २/४ प्रतिशतमा राख्नुभन्दा त शेयरमा लगानी गर्दा कमसेकम १२/१५/२० प्रतिशत प्रतिफल मज्जाले पाउन सकिन्छ।

अब त ८ प्रतिशत ब्याजले पैसा पाउन थाल्यो। ८ प्रतिशत हुदाँ १८८१ पुगेको थियो। त्यसपछि, ब्याजदर १४/१५ प्रतिशत हुदाँ १८८१ बाट घटेर ११ सयमा आएको हो। त्यसकारले गर्दा ८ प्रतिशत हुदाँ बजार बढ्ने स्वभाविक देखिइरहेको छ।

हाइड्रोपावरमा पनि सरकारले राम्रो व्यवस्था गरेको छ। हाइड्रोपावरको मनसुनले गरेर बिजुलीको राम्रो उत्पादन भयो, सबै नेपाल विद्युत प्राधिकरणले किनिसकेको छ। कोभिड–१९ ले गरेर हाइड्रोपावरमा कुनै समस्या भएन। त्यसैगरी, कोभिडले गरेर बीमा कम्पनीहरुमा लाइफ र नन लाइफमा कुनै समस्या देखिएन। उनीहरुले पैसा पाइहाले। अलि समस्या देखिएको बैंकतिर हो। तर, बैंकमा पनि राम्रो भइरहेको छ। त्यसकारण अहिले बजार पोजिटिभ देखिराखेको छुँ। आउने समयमा राम्रै छ। नकारात्मक कुरा हुँदा कहिलेकाहीँ राम्रो कुरा पनि नकारात्मक नै हुन्छ।

२०१६ बाट घट्न थालेको बजारले ४ वर्षको ट्रेड साइकल पनि पूरा गर्याे। बजारमा सकारात्मक कुराहरु भइरहेका छन्। सानादेखि ठूला लगानीकर्ताहरु, म्युचुअल फण्ड, अब सीआईटी पनि आउनेवाला छ, सेबोनले पनि राम्रो काम गरिरहेको छ, अनलाइन पनि राम्रो भइरहेको छ, ५ प्रतिशत क्यापिटल गेन ट्याक्स भइहाल्यो, मार्जिन लेन्डिङ पनि ६५ को ७० भयो, कमिशन पनि कम हुने कुराहरु भइरहेको छ, यी सबै कुराहरुले गर्दा बजार सकारात्मक र राम्रो देखिइरहेको छ। त्यसैले, विद्यार्थी होस्, गृहिणी होस्, सरकारी या निजी संस्थाका कर्मचारी वा साना देखि ठूला व्यापारी, जोसुकै होस् आफ्नो मिहेनतको कमाई धेरै विचार गरेर, सोधपुछ गरेर, जानकारी लिएर, राम्रेसँग बुझेर, स्टडी गरेर राम्रो राम्रो कम्पनी छनौट गरेर शेयर किन्ने बेच्ने मात्र हैन कि, बेच्न सकिएन भने कमसेकम त्यो कम्पनीले राम्रो प्रतिफल दिओस्। त्यो हुदाँ लगानी सुरक्षित हुन्छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।