बुधबार नेप्से परिसूचक १३.९४ अंक बढेर १५९७.७१ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ। यस दिन १९२ कम्पनीको २२ हजार ४८२ पटकको कारोबारमा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको ५५ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
दशैँको लागि खर्च जोहो गर्न शेयर बिक्री गर्ने लगानीकर्ताहरु बाहिरिएसँगै शेयरबजारमा सुधार देखिएको जानकारहरु बताउँछन्।
यस दिन जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस इन्स्योरेन्सको शेयरमूल्य निरन्तर छौठौँ दिन कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन नेपाल हाइड्रो, सांग्रीला डेभलपमेन्ट बैंक र एनआईसी एशिया बैंक लिमिटेडको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
बुधबार कारोबारमा आएको नेपाल फाइनान्सको शेयरमूल्य ५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयर कारोबार बढेको हो। यस दिन सो बैंकको २४ करोड २९ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १२ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशत बढेको हो। मंगलबार सर्वाधिक बढेको हाइड्रोपावर उपसमूहको परिसूचकमा भने यस दिन करेक्सन भएको छ। सो उपसमूहको परिसूचक यस दिन १.०१ प्रतिशत घटेको छ।