तर शेयर बजारका लगानीकर्ताकालागि काेरानाेकाे समय फलिफाप सिद्ध हुँदै गएको छ। यही अवधिमा शेयर बजारका लगानीकर्ताको सम्पत्ति भने दैनिक बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो तिन महिनामै लगानीकर्ताले सय आठ प्रतिशत बढी आम्दानी गरिसकेका छन्।
उनीहरूले पहिलो त्रैमासमा शेयर बजारबाट मनग्गे आम्दानी गरेका हुन्। उनीहरूले गत वर्षको सोही अवधिको तुलनामा सात सय आठ प्रतिशत बढी आम्दानी गरेका हुन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लगानीकर्ताले एक खर्व १२ अर्व रुपैयाँ आम्दानी गरेका छन्। जबकि गत वर्ष सोही अवधिमा लगानीकर्ताको आम्दानी १३ अर्व ८५ करोड रुपैयाँ मात्रै रहेको थियो। जुन गत वर्षको सोही अवधिको तुलनामा सात सय आठ प्रतिशत बढी हो।
पहिलो त्रैमासमा लगानीकर्तासँगै सरकारको आम्दानी समेत उल्लेख्य बढेको छ। उसले लगानीकर्ताले कमाएको नाफाबाट यस वर्षको पहिलो त्रैमासमा मनग्गे पूँजीगत लाभकर प्राप्त गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले पूँजीगत लाभ मार्फत एक अर्व १२ करोड रुपैयाँ उठाएको छ। गत वर्ष सोही अवधिमा सरकारले जम्मा जम्मी १३ करोड ८५ लाख मात्रै उठाएको थियो।
दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले नाफामा पूँजीगत लाभकर तिर्नु पर्छ। संस्थागत लगानीकर्ताले साढे सात प्रतिशत र व्यक्तिगत लगानीकर्ताले पाँच प्रतिशत लाभकर तिर्नु पर्ने प्रावधान छ। लगानीकर्ताले तिरेको पाँच प्रतिशत लाभकरको आधारमा उक्त रकम बराबरको नाफा भएको विश्लेषण गरिएको हो।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कारोबार रकम र सूचक दुवै उल्लेख्य बढेको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक खर्व ११ अर्व रुपैयाँ बराबरका १५ करोड ९७ लाख कित्ता शेयर कारोबार भएका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा कारोबार रकम एक सय ८४ प्रतिशत र शेयर संख्याँ २०८ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा सात करोड ६६ लाख कित्ता शेयर २० अर्व ४३ करोड रुपैयाँमा कारोबार भएका थिए।
गएको तीन महिनामा सूचकमा देखिएको बद्धिले समेत लगानीकर्ताको नाफा बढाउन टेवा पुर्याएको छ। गएको तीन महिनामा सूचक १७१.४६ अंकले बढिसकेको छ। गत साउनमा १३८६.३५ अंकमा रहेको नेप्से परिसूचक असोज मसान्तमा १५५७.८१ अंकमा उक्लिएको छ। जुन साउनको तुलनामा १७१ अंक बढी हो।