दशैँअघि लगानीकर्तालाई खुसी पार्दै १६ सय विन्दु माथि बन्द भयो शेयर बजार

Oct 22, 2020 03:44 PM Merolagani

दशैँअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६ सय विन्दुमाथि बन्द भएको छ। यस साताको दोस्रो कारोबार दिनदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ८.५४ अंक बढेर १६०६.२५ विन्दुमा पुगेको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन १८७ कम्पनीको ३० हजार ३२८ पटकको कारोबारमा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार रुपैयाँ बराबरको ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से अहिले बुलिश ट्रेण्डमा छ। गत साता र यस साताको पहिलो कारोबार दिन बजारमा केही गिरावट देखिएको थियो। लगानीकर्ताहरु दशैँ खर्च जोहो गर्नका लागि शेयर बिक्री गर्नतर्फ लाग्दा बजारमा करेक्सन भएको जानकारहरु बताउँछन्। त्यसयता अर्थात यस साताको सोमबारदेखि बजारले पुनः बुलिश लय नै समातेको छ। सोमबारदेखि बजारमा बिक्रीचाप घटेका कारण बजारमा सुधार देखिएको उनीहरुको भनाइ छ। खर्चका लागि शेयर बिक्री गर्ने लगानीकर्ताहरु घटेसँगै बिक्रीचाप घट्न पुगेको थियो।

यसका साथै सूचीकृत कम्पनीहरुले अहिले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। कम्पनीहरुले घोषणा गरेको आकर्षक लाभांशका कारण पनि बजार उकालो लाग्न टेवा पुगेको एक लगानीकर्ताले बताए।

दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार

बिहीबार कारोबारमा आएका दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन ५३ रुपैयाँ बढेर ५८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नेपाल फाइनान्सको १८.६७ रुपैयाँ बढेर २०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन माउन्टेन हाइड्रोको शेयरमूल्य सर्वाधिक ३.६१ प्रतिशत घटेको छ। त्यसैगरी, रैराङ हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत घटेको छ। यस दिन शेयरमूल्य घटेका शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी रहेका छन्।

८ उपसमूहको परिसूचक हरियो

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक हरियो अर्थात बढेर बन्द भएको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेर बन्द भएको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.८ प्रतिशत घटेको छ।

कुमारी र एनआईसी एशियाकाे सर्वाधिक काराेबार

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ भने एनआईसी एशिया बैंक दोस्रो स्थानमा रहेको छ। हालसालै आकर्षत लाभांश वितरण गर्ने घोषणा गरेका कारण यी दुई बैंकहरुको कारोबार बढेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।