कम्पनीका केही निर्णय जसले शेयरमूल्य प्रभावित हुन्छ

Oct 25, 2020 10:31 AM Merolagani

कम्पनीका कयौँ निर्णयले त्यसको शेयरमा असर पार्दछ । ती निर्णयलाई नजिकबाट नियाल्दा उक्त कम्पनीको वित्तीय अवस्था सहित कयौँ जानकारी प्राप्त हुन्छ । कम्पनीको उक्त निर्णयका आधारमा तपाईले उक्त कम्पनीको शेयर बेच्ने र खरिद गर्ने निर्णय पनि गर्न सक्नुहुनेछ। 

यस प्रकारका निर्णय कम्पनीको बोर्ड अफ डाइरेक्टर्सले लिने गर्दछन् र शेयरधनीहरुले त्यसलाई स्वीकृती दिने गर्दछन् । 

पहिलो, नगद लाभांशः कुनै पनि पब्लिक कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगदमा दिइने प्रतिफललाई नगद लाभांश भनिन्छ । कम्पनीले प्रतिशेयरका आधारमा नगद लाभांश दिन्छन् । यद्यपी हरेक वर्ष कम्पनीले लाभांश दिन जरुरी हुदैन । यदि कम्पनीलाई वर्षको लाभांशका रुपमा शेयरधनीलाई वितरण गर्ने मुनाफाको सट्टा उक्त पैसा नयाँ प्रोजेक्ट र कम्पनीको उत्कृष्ट भविष्यका लागि लगानी गर्न चाहेमा पनि कम्पनीले गर्न सक्छ । नगद लाभांश सिधै शेयरधनीको बैंक खातामा जम्मा हुन्छ । कम्पनीले यसरी शेयर वितरण गर्दा कम्पनीको वित्तीय अवस्था राम्रो भएको देखिनुका साथै कम्पनीप्रति शेयरधनीहरुको विश्वास बढ्दछ।

दोस्रो, शेयर लाभांशः यो एक प्रकारको लाभांश हो जसमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई नगदको सट्टा शेयर वितरण गर्ने गर्दछ । कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि आफ्ना शेयरधनीहरुलाई बिना कुनै मूल्य वितरण गरिने शेयरलाई बोनस शेयर भनिन्छ। कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी शेयरधनीहरुलाई अतिरिक्त शेयरको रूपमा बोनस शेयर जारी गरिन्छ । यसरी जारी गरिएको शेयर नै बोनस शेयर हो । बोनस शेयर सामान्यतया शेयरधनीसँग भएको शेयर संख्याको आधारमा वितरण गरिन्छ । जस्तैः लगानीकर्तासँग कुनै कम्पनीको पाँच सय कित्ता शेयर छ। उक्त कम्पनीले २० प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गर्छ भने अब लगानीकर्तासँग एकसय कित्ता बोनस थपिएर ६ सय कित्ता शेयर पुग्नेछ । कम्पनीले आफ्नो शेयरमा साना लगानीकर्ताहरुको हिस्सा बढाउनका लागि बोनश शेयर जारी गर्ने गर्दछ ।

तेस्रो, राइट इश्यूः कम्पनीहरुले पूँजी जुटाउनका लागि हकप्रद शेयर जारी गर्ने गर्दछ । कम्पनीले पूँजी वृद्धि गर्न आफ्ना विद्यमान शेयरधनीले मात्र खरिद गर्न सक्ने गरी हकप्रद निष्काशन गरेको हुन्छ । जुन हकप्रद शेयर खरिद गर्न लगानीकर्ताले तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । नेपालमा साधारणतया कम्पनीहरुले एकसय रुपैयाँको दरमा हकप्रद शेयर निष्काशन गर्छन् । हकप्रद कम्पनीको चुक्ता पूँजीको अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ ।

उदाहरणका लागि कुनै एउटा कम्पनीको चुक्ता पूँजी एक अर्ब छ । उक्त कम्पनीले उक्त चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्छ भने त्यसलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन भन्ने बुझिन्छ । अर्थात कुनै कम्पनीको एक सय कित्ता शेयर हुनेले उक्त कम्पनीबाट थप एक सय कित्ता हकप्रद शेयर खरिद गर्न सक्नेछन् । राइट इश्यूमा कम्पनीको शेयर बजार मूल्यभन्दा तल पाइन्छ ।

चौथो स्टक स्प्लिटः शेयर स्प्लिट अर्थात् शेयर विभिन्न हिस्सामा बाँडिनु एउटा सामान्य घटना हो। यसमा एउटा शेयर केही टुक्रा शेयरमा बाडिन्छ । यसमा पनि बोनशको जस्तै शेयर संख्या बढ्छ तर लगानीको मूल्य र बजार पूँजीकरण भने परिवर्तन हुदैन। स्टक स्प्लिट शेयरको फेस भ्यालूसँग जोडिएको हुन्छ। उदाहरणका लागि मानौँ, कुनै शेयरको फेस भ्यालू १० रुपैयाँ छ र एक बराबर दुईको अनुपातमा शेयर स्प्लिट हुन्छ भने शेयरको फेस भ्यालू ५ रुपैयाँ हुन्छ र यदि तपाईसँग एउटा शेयर थियो भने अब तपाईसँग दुईवटा शेयर हुनेछ ।

पाँचौँ, शेयर बाइब्याकः बाइब्याकमा कम्पनीले आफ्नो शेयर बजारबाट आफैँ खरिद गर्दछ । यसलाई कम्पनीको आफूमा आफ्नो लगानीका रुपमा लिइन्छ । यसबाट बजारमा उक्त कम्पनीको शेयर संख्या कम हुने गर्दछ । बाइब्याकका कारणहरुमा प्रतिशेयर मुनाफा अधिक बढाउनु, कम्पनीमा प्रमोटर शेयरको हिस्सा बढाउनु, कोही अरुको टेक ओभर अर्थात् कब्जाबाट बचाउन, कम्पनीलाई लिएर प्रमोटरप्रति आत्मविश्वास जगाउन, शेयर मूल्यमा आइरहेको गिरावट रोक्नु रहेको छन्। बाइब्याकले कम्पनीको आत्मविश्वास देखाउँछ, त्यसैले यसको घोषणाबाट शेयरको मूल्य माथि जाने गर्दछ ।

नेपालमा स्टक स्प्लिट र शेयर बाइब्याक गर्ने व्यवस्था छैन । यद्यपि, पछिल्लो समयमा लगानकर्ताहरुले शेयर बाइब्याकको व्यवस्था गर्न माग गरेका छन् । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।