खराब कर्जा भनेको के हो? खराब कर्जा बढे के हुन्छ?

Nov 16, 2020 08:58 AM Merolagani

बैंक वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ । 

निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । यद्यपि, कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता नगर्ने अर्थात् गर्न नसक्ने अवस्था पनि आउँछ । ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ ।

सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गरेर बैंकले नाफा आर्जन गर्ने गर्दछ । यद्यपि, लगानी गरेको पैसा नै नउठ्दा बैंकको नाफामा गिरावट आउदा बैंकले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । खराब कर्जा बढेर समस्याग्रस्त अवस्थामा पुगेको बैंकलाई सर्वसाधारणले पनि विश्वास गर्दैनन् । खराब कर्जाले बैंकको छविलाई नै गिराउने अर्थात् बैंकप्रति सर्वसाधारणको भरोसा नै गुम्न पुग्छ ।

कतिपय बैंकले व्यक्तिगत सम्बन्ध अर्थात् चिनेजानेको भरमा कर्जा पास गराउने गरेका कारण पनि बैंकले घाटा व्यहोर्ने स्थिति आइपर्ने गरेको छ। यसैगरी बैंकहरुले जथाभावी रुपमा कर्जा लगानी गर्दा यस्तो समस्या आउँछ । साथै अनुत्पादनमूलक क्षेत्रमा गरिएको लगानी डुब्ने खतरा बढी हुन्छ ।

लगानी गर्न लागेको क्षेत्रको अध्ययन नगर्दा पनि यस्तो समस्या निम्तिन्छ । यस्ता क्रियाकलापहरुका लागि बैंकप्रतिको विश्वास घट्दै जाने हुन्छ। जसले गर्दा बैंकतथा वित्तीय संस्थामा कारोबार कम हुन गई व्यवसायमा उल्लेख्य ह्रास आउँछ र संस्था समस्याग्रस्त हुन जान्छ ।

एनपिएल ५ प्रतिशत भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा आर्जन गरेपनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको अवस्था पनि देखाउँछ। एनपिएल जति कम भयो, त्यति राम्रो मानिन्छ । त्यसैले एनपिएल कम भएको कम्पनी छान्नु उपयुक्त हुन्छ ।
प्रस्तुतिः सबिना बजगाई 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।