पम्पिङ्ग एण्ड डम्पिङ्ग भनेको के हो
जसरी हामीलाई धेरै पानी चाहिएको बेलामा खानेपानीको धारामा सोझै पाईप जोडेर मोटरपम्पको सहायताले छोटो समयमा धेरै पानी तान्दछौं जबकी कानुनत त्यो अपराध हो । ठिक त्यसै गरि शेयर बजारका ठूला लगानीकर्ता, लगानीकर्ताका समूह तथा मूल्यमा प्रभाव पार्ने समूहहरुले पछि कृत्रिम रुपले मूल्य बढाएर उच्च मुनाफा लिएर बिक्रि गर्ने उद्धेश्यले थोरै थोरै गर्दै शेयर खरिद गर्दै छोटो समयमा धेरै शेयर जम्मा गर्दछन त्यसलाईनै शेयरको पम्पिङ्ग भनेर भनिन्छ । यस्तो बेलामा उनिहरुले शेयरको मूल्यमा थोरै थोरं मात्र बृद्धि गराउदछन् अथवा शेयर मूल्यलाई साईडवेजमै राख्छन् ।
यसरी उक्त समूहले आफूलाई चाहिए जती शेयर उठाईसकेपछि बजारमा बिभिन्न हल्ला फिजाएर शेयर मूल्यलाई क्रमशः बृद्धि गराउदै लान्छन् । मूल्य बढदै जाँदा स्वभाविकरुपले क्रेता झुम्मिन थाल्छन् र जब उनिहरुले चाहेको मूल्यको रेन्जमा शेयर मूल्य पुग्दछ तब उनिहरुले निकै छोटो समयको अन्तरालमा आफ्नो सबै शेयर बिक्रि गरि बाहिरिन्छन् (जसरी की बाढीको पानी हाम्रो आँगनमा पस्दा उही मोटर पम्पको सहायताले छोटो समयमा पानी बाहिर फाल्दछौं) र यसरी भएको सबै शेयर बिक्रि गरि बाहिरिनुलाईनै डम्पिङ्ग भनिन्छ ।
पम्पिङ्ग एण्ड डम्पिङ्गले कसरी काम गर्छ
जब लगानीकर्ताको कुनै समूह वा समूहहरुले कुनै शेयर उठाउन थाल्दछन तब यसको शूरुवात हुन्दछ । त्यस्ता समूहले खास गरी थोरै पूँजी भएको शेयरलाई लक्ष्य बनाउछन जसमा की अतिरिक्त पूँजी ( उच्च बोनस तथा राईट शेयर मार्फत ) प्रवाह गर्न सजिलो हुन्छ अथवा त्यस्तो शेयर जसमा लगानीकर्तालाई सहजै आकर्षित गर्न सकिन्छ । लगानीकर्ताको यस्तो समूले आफूहरुले चाहिए जति शेयर उठाईसके पछि यिनले त्यो शेयरको बारेमा "यो शेयर एकदमै हट छ र यसले धेरै बोनस दिदैछ अथवा निकै धेरै राईट शेयर दिने हुनाले छोटो समयमै मूल्य आकासिएर जान्छ" भन्ने जस्ता सूचना आम लगानीकर्तामा प्रवाहित गर्न थाल्छन् । परम्परागत रुपमा यस्तो सूचना प्रवाहित गर्ने काम पहिले पहिले ब्रोकर कम्पनीको कार्यालयबाटै हुने गर्दथ्यो । त्यस्तो सूचना ब्रोकर कार्यालयबाट लगानीकर्तामा तथा एउटा लगानीकर्ताबाट अर्कोमा प्रवाहित हुँदै जाँदा मूल्य तथा भोलुम पनि क्रमशः उकालो लाग्दै जान्छ चाहे त्यो कम्पनीको फण्डामेन्टल जस्तो सुकै किन न होस । तर आजको डिजिटल जामनामा यस्तो सूचना प्रवाह गर्न झनै सजिलो भएको छ । आजभोली विभिन्न सामाजिक संजालका ग्रुप चाटको माध्यम प्रयोग हुने हुँदा अहिले सूचना फैलाउन झनै सजिलो भएको छ ।
यसरी जब मूल्य आकासिएर माथि पुग्दछ र क्रेता पनि खरिद गर्न तँछाड मछाड गर्न थाल्छन तब त्यस्ता समूहहरुले आफूसंग भएको शेयर महगो मूल्यमा सोझा तथा मुर्ख लगानीकर्तालाई भिडाएर आफु बाहरिन्छन् । त्यस उप्रान्त माग क्रमशः कम हुँदै गई मूल्य तल्लो बिन्दुमा आईपुग्छ । परिणामतः उचालिएको त्यस्तो शेयर उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताको हातमा निल्नु न ओकल्नुको अवस्थामा डम्प भएर बसिरहन्छ ।
पम्पिङ्ग एण्ड डम्पिङ्ग भईरहेको कसरी थाहा पाउने
अब चुरो कुरो भनेको पम्पिङ्ग एण्ड डम्पिङ्ग भईरहेको छ भन्ने कुरा कसरी थाहा पाउने ताकी आफूलाई त्यसको जालमा पर्नबाट बचाउन सकियोस । सर्वप्रथम अरुबाट प्राप्त सूचना ( जसलाई तपाँई ब्यक्तिगत रुपमा चिन्नु हुन्न ) मा तुरन्त प्रतिकृया जनाई शेयर खरिद गर्नु पूर्व त्यस्तो कम्पनीको बारेमा सम्भव भएसम्मको जानकारी लिई उक्त कम्पनीको आधारभूत तथ्याङ्कहरुले बजार मूल्यलाई सपोर्ट गर्छ की गर्दैन भन्ने जानकारी लिनु हो । यदि बजार मूल्यले सपोर्ट गर्दैन तर कारोबार तथा मूल्य दुबै क्रमशः बढदै गईरहेको छ भने शेयर पम्पिङ्गको संभावनालाई नकार्न सकिदैन ।
दोश्रो कुरा यदि बजारमा कुनै शेयरको बारेमा अत्यधिक चर्चा भईरहेको हुन्छ र बजार मूल्य पनि क्रमशः झिनो किसिमले बढदै गईरहेको हुन्छ भने त्यो शेयर पम्पिङ्ग भईरहेको छ भन्ने शंका गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा विगतमा कुनै शेयरको सन्दर्भमा यस्तै भएको थियो की भनि हेर्नु पर्ने हुन्छ र भएको थियो भने त्यो शेयरको बारेमा तत्कालिन अवस्थामा फैलाईएको अफवाह सत्य प्रमाणित भएकोथियो कि थिएन भनि हेर्नु पर्ने हुन्छ । यसको ज्वलन्त उदाहरणको रुपमा HIDCLको शेयरलाई लिन सकिन्छ ।तत्कालिन अवस्थामा चुक्ता पूँजीलाई मुद्दति खातामा राखेर ब्याज आमदानी मात्र गर्ने अवस्थाको कम्पनीको शेयर रु. ५०० माथि पुर्याएर डम्पिङ्ग गरिसके पछि उक्त कम्पनीको शेयर कुन मूल्यमा आएको थियो त्यो सबैलाई थाहा भएको अवस्था हो ।
तेश्रो कुरा जब कुनै शेयरको बारेमा बजारमा दैनिक रुपमा अत्यधिक चर्चा हुन्छ र लगानीकर्ताहरु उक्त शेयरको मूल्यको विषयमा विभाजित हुन्छन् तथापी उक्त शेयरको मूल्य कछुवा चालमा उकालो लागिरहेको हुन्छ । विभाजित लगानीकर्ता मध्ये शेयरको मूल्यमा सकारात्मक सोच नभएका लगानीकर्ता पनि समय बित्दै जाँदा सकारात्मक बन्दै गई शेयर खरिद गर्ने सोच बनाउन थाल्छन् र उक्त शेयर खरिद गर्न लगानीकर्ता तँछाड मछाड गर्न थाल्छन् जसले गर्दा शेयरको भोलुम अत्यधिक हुन जान्छ तब शेयर डम्पिङ्ग हुन थालेको छ भन्ने शंका गर्नु पर्ने हुन्छ ।
यस क्रममा डम्पिङ्ग गर्ने समूले प्रारम्भ देखिनै शेयर खरिद गरिरहेका हुनाले शेयर मूल्य बढदै जाँदा पनि तिनलाई फरक पर्दैन किनकि तिनले आफूले चाहेको भोलुम हात पार्न खोजिरहेका हुन्छन् र उक्त शेयरलाई एउटा निश्चित उचाईमा पुर्याएर डम्पिङ्ग गर्ने सोच बनाई सकेका हुन्छन् । त्यसैले तिनले आफूले चाहेको मात्रामा शेयर खरिद गरिसके पछि पनि मूल्यलाई क्रमश उकालो लाग्न सहयोग गरिरहेका हुन्छन् ।
मूल्यलाई नयाँ उचाँईमा पुर्याउन ती समूहले हरेक हठकण्डा अपनाउँछन् । आफ्नो समूकका लगानीकर्ता मार्फत हरेक ब्रोकर कार्यालयमा लगानीकर्ताहरुलाई शेयर प्रति आकर्षित गर्न उक्त शेयर ठूला ठूला लगानीकर्ताहरुले कर्नरिङ्ग गरिरहेको तथा यो शेयर यति मूल्यसम्म माथि जान्छ भन्ने प्रचार गराउँछन् । यस क्रममा तिनले फेसबुकको वाल,फेसबुकको फ्रेण्डग्रुप,भाईबर ग्रुप,ह्वाट्सएप तथा मैसेन्जर लगायतका सामाजिक संजालमा शेयरको बखान गर्न पनि लगाउछन् । त्यति मात्र नभएर तिनले शेयर बजार सम्बन्धि समाचार संम्प्रेषित गरि लगानिकर्ताहरुलाई उक्त शेयर खरिद गर्नबाट विमुख हुन नदिने प्रयास पनि गर्दछन। साराशँमा भन्दा तिनले शेयर खरिद गर्न प्रेरित गर्न हरेक किसिमको हठकण्डाको उपयोग गर्दछन् ।
अर्को तर्फ पम्पिङ्ग एण्ड डम्पिङ्ग हुने शेयरको भोलुम शुरुवातको थोरै मात्राबाट बढदै मूल्य उचालिएको समयमा एकदमै उच्च हुन पुग्दछ । यो समय भनेको शेयर बजार चक्रको युफोरिया स्टेज हो । यस्तो अवस्थामा जब हरेकको मुखमा तथा चिया पसल, कार्यालय जतात्यतै यसैको चर्चा हुन थाल्छ तब शेयरको डम्पिङ्ग शूरु भैसकेको छ भन्ने बुझ्नु पर्छ ।
पम्पिङ्ग एण्ड डम्पिङ्गको समयमा कसरी कारोबार गर्ने
पम्पिङ्ग एण्ड डम्पिङ्ग सोझा साझा लगानीकर्ताको लागि खतरनाक भए पनि पम्पिङ्ग एण्ड डम्पिङ्ग भईरहेको समयमा मुनाफा कमाउने अवसर भने उच्च हुने गर्दछ । यसको लागि शेयर कारोबार पम्पिङ्ग स्टेजमा छ कि डम्पिङ्ग स्टेजमा छ त्यो भने थाहा पाउनु पर्छ । तर याँहा एउटा कुरा के थाहा पाउनु पर्छ भने डम्पिङ्गको स्टेजमा पुगिसकेको शेयर ठूला लगानीकर्ता बाट डम्प भैसके उप्रान्त क्रमशः ओरालो लाग्दै उक्त शेयर जहाँबाट उकालो लाग्न थालेको थियो त्यहि मूल्य वा सो भन्दा पनि तल आउन सक्छ । त्यसैले पम्पिङ्गको शुरुवात भए पछि केहि समय सम्म मूल्य बढदै जाने हुनाले बाई हाई सेल हाईको रणनीति अपनाई कारोबार गर्दा मनग्गे मुनाफा कमाउन सकिन्छ ।
सारांश
गैरकानुनी मानिएको पम्पिङ्ग एण्ड डम्पिङ्ग योजना त्यस्ता लगानीकर्ताहरुको लागि एकदमै खतरनाक हुन सक्छ जसले कुनै शेयरमा पम्पिङ्ग एण्ड डम्पिङ्ग योजना लागु भएको छ भन्ने थाहा पाउदैन तथा जसले उच्च मूल्यमा खरिद गरि डम्पिङ्गको शुरुवात भैसके तापनी मूल्य फेरी बढछ भनेर शेयर मूल्य एकदमै तल आउन्जेल सम्म पनि आफु संगै राखिरहन्छन् । तर पम्पिङ्ग एण्ड डम्पिङ्ग योजना लागु भएको छ भन्ने पहिचान गर्ने लगानीकर्ता जसले केही जोखिम पनि लिन सक्छ को लागि भने यो योजना राम्रो मुनाफा कमाउने अवसर पनि हो ।
(भट्टराई अर्थ मन्त्रालयका अवकास प्राप्त उपसचिव हुन)
email: anandakbhattarai@gmail.com
(नोटः माथिको विश्लेषण उपलब्ध तथ्याङ्क तथा चलेका सुत्रका आधारमा प्रस्तुत गरिएको हो । यसैको आधारमा शेयर खरिद विक्रि गर्नु भन्दा पहिले आफैले पनि विश्लेषण गरि निर्णय लिनु राम्रो मानिन्छ ।)