राजस्वका लक्ष्य पूरा भए सम्मान गर्छौ, पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छ -अर्थमन्त्री

Nov 23, 2020 03:50 PM merolagani

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

अर्थ मन्त्रालयका सचिवहरु,  आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु  लगायतको सहभागितामा आज आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट बिचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने बताउनु भयो ।

 डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभयो । ‘कठिनाइ र समस्याहरुलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरु दण्डित हुनुपर्छ',- उहाँले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन अनुरोध गर्नु भयो । उहाँले इमान्दार र सक्रिय भएर लाग्न पनि निर्देशन दिनु भयो ।

 अर्थमन्त्री पौडेलले समस्या र समाधानका बारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो–‘आफ्नो तहमा समाधान गर्न सक्नु भएन भने नेतृत्वलाई भन्नुहोस् । हामी सहयोग गर्न तयार छौं ।’

 अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गर्नु भयो ।

 उहाँले स्वस्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी कोभिड–१९ ले सिर्जना गरेका चुनौतीहरुसँग जुध्दै अर्थतन्त्रलाई गतिशील बनाउन दृढताका साथ काम गर्न पनि कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिनु भयो ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताउनुभयो ।

 कार्यक्रममा १ सय भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।