दैनिक नयाँ रेकर्ड बनाउँदै नेप्से, करिब ९ अर्बको कारोबार

Nov 30, 2020 03:39 PM Merolagani

पछिल्ला केही दिनदेखि नेप्सेले दैनिक नयाँ रेकर्डहरु बनाइरहेको छ। २०७३ साउन १२ गते बनेको अलटाइम हाइ रेकर्ड तोडेर उकालो लागेको नेप्से, दैनिक नयाँ उचाइमा पुग्दै नयाँ रेकर्ड बनाइरहेको हो।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात २८.७९ अंक बढेर १९९७.०५ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च क्लोजिङ्ग विन्दु हो। यस अघि आइतबार नेप्से १९६८.२७ विन्दुमा पुग्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। दैनिक उच्च भोल्यूम सहित बजारले पुराना रेकर्डहरु तोड्दै नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरु उत्साहित भइरहेका छन्।

अल टाइम हाइ क्लोजिङ्ग सँगै नेप्सेले इन्ट्रा डे मा पनि नयाँ रेकर्ड बनाएको छ। यस दिन नेप्से कारोबारको शुरुवाती समयमा २०२८.४५ विन्दु पुगेर इन्ट्रा डे अल टाइम हाइ रेकर्ड बनाएको हो।

सूचकले अलटाइम हाइ रेकर्ड बनाउँदै गर्दा कारोबार रकममा भने सामान्य गिरावट आएको छ। आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन करिब ९ अर्बको शेयर कारोबार भएको छ। यद्यपी यस दिनको कारोबार रकम कम भने होइन। यस दिन १९८ कम्पनीको ८३ हजार ५६७ पटकको कारोबारमा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँ बराबरको २ करोड ५१ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.६३ अंक बढेर ३८५.५६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.५२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४४ अंक बढेको छ।

बैंकिङ्ग र विकास बैंकको सूचकमा करेक्सन

अघिल्लो कारोबार दिन उच्च दरमा बढेको बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचकमा यस दिन करेक्सन देखिएको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.४८ प्रतिशत घटेको छ भने विकास बैंकको २.०८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १.१ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ।

कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक ७.३४ प्रतिशत बढेको छ। त्यस्तै, व्यापारको ६.६१ प्रतिशत, हाइड्रोपावरको ५.९३ प्रतिशत, अन्यको २.६४, निर्जीवन बीमाको २, उत्पादन तथा प्रशोधनको १.६९, माइक्रोफाइनान्सको १.३ र होटलको ०.२४ प्रतिशत बढेको छ।

एनएलआईसीको उच्च कारोबार

यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक र नेपाल बङ्गलादेश बैंकको ३३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

आइतबार बजार बढेसँगै ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोशी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बङ्गलादेश बैंक, साञ्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी यस दिन यी बाहेक अन्य ३ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

बढेको बजारमा विशाल बजार कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३६० रुपैयाँ घटेर ३ हजार २४० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।