१८८१ मा किनेकाे शेयरबाट पूरा नाफा कमाउन नेप्से २५ सय पुग्नुपर्छ,ब्याजदर नबढेसम्म 'रिक्स' छैन:खेतान

Jan 15, 2021 06:08 PM Merolagani

कम्तीमा १० वर्षका लागि शेयरमा लगानी गर्छु, १५ अर्बकाे पोर्टफोलियो होला 

राजेन्द्र खेतान नेपालकाे व्यवसायिक क्षेत्रमा स्थापित नाम हाे । सानै उमेरमा पिता माेहन गाेपाल खेतानकाे बिँडाे थामेर औद्याेगिक घराना खेतान समूहकाे नेतृत्व गरेका खेतान आजभाेली सार्वजनिक मन्चमा कम देखिन्छन् ।&

यद्यपि उनी आन्तरिक व्यवसायिक गतिविधिमा झनै सक्रिय बनेका छन् । कम उमेरमै उद्याेग बाणिज्य महासंघकाे उपाध्यक्ष बनेका खेतानले संविधान सभामा व्यवसायीकाे मुद्दा उठाउन सभासद बन्ने ऐतिहासिक अवसर पनि प्राप्त गरे । उद्याेगीका नेता, देशकै बिधायक बनेर सार्वजनिक व्यक्तित्व बनाएका खेतान आजभाेली गर्छन चाँहि के त ? मेराे लगानीका उप सम्पादक सुवास निराैलाले खेतानसँग भेटेरै व्यवसायिक क्षेत्रका विभिन्न जिज्ञासा मेट्ने प्रयास गरेका छन् ।

एक समय पर्दामा निक्कै छाउनु भएको व्यक्ति, एकाएक हराउनु भएको छ। धेरै मानिसलाई राजेन्द्र खेतान के गर्दै छन् भन्ने चासो छ। के गर्दै हुनुहुन्छ अहिले ?

म कतै हराएको छैन। यही छु। पहिलेको भन्दा झन् बढी स्प्रिडमा काम गरिरहेको छु। तर पहिले र अहिलेमा यति फरक छ, पहिले बाहिर निक्कै देखिन्थे तर अहिले त्यति देखिएको छैन। म अहिले लक्ष्मी बैंक र लक्ष्मी बैंक अन्तर्गत रहेका पाँच ओटा कम्पनीलाई मात्रै फोकस गरेर काम गरिरहेको छु। विशेष गरेर अहिले मेरो पूर्ण समर्पण वित्तीय क्षेत्रमा छ। त्यसभित्र रहेका वित्तीय औजार, वित्तीय प्रविधि र वित्तीय क्षेत्रसँग जोडिएका कुनै पनि किसिमको व्यापारमा लाइसेन्स भित्र रहेर काम अघि बढाउँदै लगेका छौ। इजाजत नपाएका क्षेत्र जस्तै भेन्चर क्यापिटल, ब्रोकर लाइसेन्स, कमोडिटी एक्सचेन्ज लगायतको कामका लागि अनवरत प्रयास गरिरहेको छु। समग्रमा भन्दा म आफ्नो पूँजी,आफ्नो प्रविधि, बौद्धिकता सबै एकै ठाउँमा राखेर कन्सनट्रेसन गरिरहेको छु ।

तपाईले वित्तीय क्षेत्रमा फोकस गरिरहेको छु भन्नु भयो। खास कुन कुनमा तपाईको सक्रियता बढी छ ?

लक्ष्मी बैंक, लक्ष्मी बैंक अन्तर्गत दुई वटा सिस्टर कम्पनी जसमा लक्ष्मी क्यापिटल र लक्ष्मी लघुवित्त छन्। ज्वाइन्ट भेन्चरमा प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स छन्। लक्ष्मी क्यापिटलमा दुई वटा म्युचुअल फण्ड छन्। त्यसैगरी हामीले लाइसेन्स अप्लाइ गरेकोमा लक्ष्मी सेक्युरुटिज र लक्ष्मी भेन्चर क्यापिटल छन्। भविष्यमा चाहिँ फाइन्सियल टेक्नोलोजीका लागि काम गर्ने गरी तयारी गरिरहेका छौ।

यी बाहेक बैंक वा वित्तीय क्षेत्रसँग सम्बन्धित कुनै अफर आएमा त्यस्ता अफर पनि हामीले स्वीकार गर्दै लगेका छौ। जस्तै नेपाल स्टक एक्सचेन्ज लगायतले बिक्री गरेका शेयर पनि हामीले किनेका छौ। तीनमा पनि हामी साझेदारका रुपमा अघि बढिरहेका छौ। अर्को कुरा भनौँ, दोस्रो बजारमा ठूलो बल्क शेयर आयो भने हामी चार पाँच जना मिलेर त्यो शेयर पनि किन्छौ।

वित्तीय क्षेत्र बाहेकमा पनि तपाईको संलग्नता थियो हैन ?

हो । तर त्यो अहिले हाम्रो परिवारको अर्को भागमा परेको छ।

यसो हो। हामी छुट्टियौँ। मसँग दुईजना भाइ थिए। एउटा मेराे भाइ अनि अर्को काकाको छोरा। उनीहरू दुवै जना क्लास मेट पनि हुन्। हामी छुट्टिदा उनीहरू एक ग्रुप भए। म अर्को ग्रुपमा परे। 

 वित्तीय क्षेत्रको कुरा गर्नु भयो,अहिलेको अवस्था कस्तो  छ ?

वित्तीय क्षेत्रको अवस्था अहिले साह्रै राम्रो छ। व्याज असुलीबाहेक अरू सम्पुर्ण आँकडाहरू राम्रा छन्। कोभिडले वीमा क्षेत्रमा त्यति धेरै प्रभाव पारेन। वित्तीय क्षेत्रमा पनि पर्याप्त तरलताका कारण मात्रै अप्ठ्यारो देखिएको छ। कोभिडले गर्दा व्याज असुली गर्न अप्ठ्यारो परिरहेको छ। त्यसमा पनि नेपाल राष्ट्र बैंकले बरु पाँच प्रतिशत प्रोभिजनिङ गरेर जानु तर व्याज असुलीमा जोड नदिनु भनिदिएका कारण यो अप्ठ्यारो परेको हो। त्यो नभएको भए यसमा पनि खासै असर देखिने थिएन। 

बैंक वित्तीय क्षेत्रले यो अवधिमा बढी नै पेलिरहेको गुनासो निजी क्षेत्रले गरिरहेका छन्। के साँच्चै तपाईहरू व्यवसायीप्रति अनुदार बन्दै गएको हो ?

बिलकुल गलत। यो कोभिडको महामारीमा बैंक वित्तीय संस्थाले जति त व्यवसायीलाई सरकारले पनि राहत दिएन। यो कुरा तपाई मान्नुहुन्छ ? किन भन्दा सरकारको खल्तीबाट  राहत कमै निस्कियो। जति सहुलियत व्यवसायीले पाएका छन्,सबै जसो व्यवसायिक क्षेत्रबाटै पाएका हुन्। एक व्यवसायिक क्षेत्रले अर्को व्यवसायिक क्षेत्रलाई सहयोग गरेर कोभिडको महामारीले पारेको आर्थिक प्रभाव न्यूनीकरण गर्दै अघि बढेको अवस्था छ। हामीले यो महामारीमा कर्पोरेट सोसिएल रेस्पोन्सिबिलिटी धेरै भन्दा धेरै पुरा गर्‍यौ भन्ने लाग्छ।

त्यसमा पनि सबैभन्दा बढी बैंक वित्तीय संस्थाले आफूलाई हुने नाफा काटेर राहत दिए। अझ यसलाई यसरी भन्दा ठिक होला। पब्लिकले व्यवसायीलाई राहत दिए। किन भन्दा राष्ट्र बैकले दुई प्रतिशत छुट देऊ भन्यो। हामीले दियौ। त्यो दुई प्रतिशत नदिएको भए बैंकको नाफामा थप दुई प्रतिशत वृद्धि हुने थियो। त्यो दुई प्रतिशत नाफाबाट पब्लिकले थप बढी लाभांश पाउने थिए। गत वर्षको बैंकको लाभांश दर घट्यो। 

ऋणीलाई व्याज तिर्ने समय अझै पर धकेलिएको छ। त्यसले चालु वर्षको नाफामा समेत धक्का लाग्न सक्छ। किनकि रकम घुम्ने ठाउँमा ब्रेक लागेको छ। त्यसमा पनि पब्लिकलाई नै घाटा छ।

तर हामीले यसलाई यसरी लियौँ। नेपाली समाज हो,यहाँ जनताको दुखमा जनताले नै बढी मलम लगाउने परम्परा छ। फेरि हाम्रो व्यवसायको प्रकृति पनि अलि फरक  भएकोले पब्लिक र देशको अर्थतन्त्रप्रति बढी नै माया हुन्छ। त्यसैले हामीले यो गम्भीर अवस्थामा व्यवसायी पनि बाच्नु पर्छ। देशको अर्थतन्त्र पनि बच्नु पर्छ भन्ने मान्यता राख्दै जति पनि निर्देशन आए तिनलाई अक्षरशः पालना गर्दै आएका छौ।   

यदि हामीले त्यो छुट नदिएको भए,कल्पना गर्नुस् आज कस्तो अवस्था आउने थियो होला ?

तर यति गर्दा गर्दै हामीलाई नै बढी अपजस् लगाउने, हामीलाई नै बदनाम गराउने, बैकिङ्ग इन्डष्ट्री बदनाम गराउँदा चाहिँ हामीलाई चित्त दुखेको छ। सबैभन्दा बढी चित्त कहाँ दुखेको छ भने,राहतको लाइनमा हुने खाने उभिए। जसको घरमा अन्नको भण्डार छ। त्यो पनि राहतको लाइनमा आएर उभिएको छ। तर राहत दिन लगाउनेको आँखामा पट्टी बाँधिएको छ। उसले सबैको हातमा राहत दिँदै गयो। राहत दिनेले साँच्चै राहत चाहिएको र नचाहिएको छुट्ट्याउन सकेन। उसले लाइनमा बसेका जति सबैलाई बराबरी राहत दिन भन्यो। खासमा चाहिँ आँखा खोलेर, हेरेर, जाँचेर र बुझेर दिनु पर्थ्यो भन्ने हो।

खासमा राष्ट्र बैकले विगतको यसको वासलात कस्तो थियो भनेर हेर्नु पर्थ्यो। विगतमा प्रशस्त नाफा कमाएको छ। तर यति बेला क्षणिक असर पर्‍यो भन्दैमा उसलाई त्यो छुट दिनु हुँदैन थियो। 

तर कुनै पनि व्यवसायी साँच्चै नोक्सानमा छ। हिजो अस्ति कमाएको पैसालाई पनि उसले लुज गरेको छ भने त्यसलाई प्रोटेक्सन गर्ने जिम्मा राज्यको  र हाम्रो पनि हो। यो फरक छुट्टाउन नसक्दा यो सब अप्ठ्यारो परेको हो।

नियमनको कुरामा हाम्रो राष्ट्र बैकसँग मतभेद छ। हामीले कुरा पनि राखेका छौ। कुरा सुनिएका पनि छन्। त्यसलाई निराकरण पनि बिस्तारै गरेर लैजानु पर्छ। फेरि समय पनि त्यस्तै छ। कोभिडको समयमा हामीले लिबरल भएर अलिकति सहनु पनि पर्छ। त्यसमा पनि दुई मत रहेन।

जहाँसम्म असुलीको कुरा छ। त्यसमा के याद गर्नुस् भने, नेपालका ९९ प्रतिशत ऋणहरू सुरक्षित छन्। उनीहरू सुरक्षित हुँदै गर्दा बचतकर्ता पनि त्यति नै मात्रामा सुरक्षित छन्। कोभिडको कारणले गर्दा व्याज असुलीमा फरक पर्दा चालु वर्षको नाफामा थोरै असर गर्न सक्छ। तर त्यसले पनि दीर्घ कालमा असर गरिरहन्छ भन्ने स्थिति छैन।

अर्को कुरा, कसैले पनि कसैको सम्पत्ति न्यूनतम मूल्यमा लिलाम गरेर नाफा कमाउने भन्ने हुँदैन। किनभने त्यसो गर्दा आफ्नै व्यवसाय बिग्रिन्छ र विश्वसनीयता गुम्छ। विश्वसनीयता गुमेपछि कारोबार गर्न कोही आउँदैन। निक्षेपकर्ता पनि आउँदैनन्। त्यसैले त्यो विषय अति संवेदनशील भएकाले बैकिङ्ग सेक्टरले सकेसम्म त्यो गर्दैनन्।   

तपाईले बैकले सम्पत्ति लिलाम गर्दैन भन्दै हुनुहुन्छ। उता, बैंकले भटाभट लिलामीको सूचना निकाले। दुई हजार भन्दा बढीको कर्जा सूचना केन्द्रलाई कालो सूचिमा राख्न अनुरोध गरिएको भनेर उद्योग वाणिज्य महासंघले भनिरहेको छ। त्यति मात्रै होइन यहाँ त लिलामीमा निकालिएको भन्दै बैंक विरुद्ध सङ्घर्ष समिति नै बनिसकेको अवस्था छ।

अपवाद बाहेक त्यस्तो भएकै छैन भन्छु म। फेरि अपवाद भन्ने कुरा जहाँ पनि हुन्छ। त्यसलाई पनि मैले अपवादको रूपमै लिएको छु। एक/दुई बैंकले एग्रेसिभ भएर त्यसो गरेको पनि हुन सक्छन्। यो मेरो अनुमान मात्रै हो, यकिन भने होइन। तर अपवादमा त्यस्तो देखियो भन्दैमा बैकिङ इन्डष्ट्रीलाई नै बदनाम गर्नु हुँदैन। मैले यहाँ एक दुई बैंकको कुरा गरिरहेको छैन। मैले समग्र बैकिङ इन्डष्ट्रीको कुरा गरिरहेको छु। यहाँ साना बैंक पनि छन्। ठूला बैंक पनि छन्। कसैले अपवादमा फरक पारे भने पनि त्यसलाई राष्ट्र बैंकले हेर्नु पर्छ। तर त्यो विषयमा भने राष्ट्र बैक बोल्दैन। त्यो राष्ट्र बैंकको कमजोरी हो।

तर यति भन्दा भन्दै पनि जो कोहीले यस्तो गरिरहेको छ भने म के भन्न चाहन्छु भने, हामीले ऋणीलाई अप्ठ्यारोमा पार्नु हुँदैन। यसले बैकिङ सेक्टरको बदनामी गराउँछ। त्यसैले ऋणीलाई यति बेला अप्ठ्यारोमा नपारौँ। किनभने यो समस्या मैले पनि भोगिरहेको छु। 

तपाईले अघि भन्नु  भयाे राज्य त्यहाँ चुक्यो। के कुरामा राज्य चुकेको हो ?

यति बेलाको स्थितिमा रि फाइनान्सको लागि राज्यले पैसा निकालेकै छ। उद्योगहरूले त्यो पाउने नै छन्। त्यसमा केही अप्ठ्यारो छदै छैन। तर यहाँ दुई प्रकृतिका मानिस छन्, एक प्रकृतिका मनिसलाई साँच्चै समस्या परेर राज्य वा बैंकसँग सहुलियत माग गरिरहेका छन्। तर अर्को चाहिँ कोभिडलाई बहाना बनाएर फाइदा लिने दाउमा देखिन्छन्। नाफा पनि खल्तीमा राख्ने,सहुलियत पनि लिने। यो दुई वटा छुट्टाउने कुरामा राज्य चुक्यो।

त्यसैले यसलाई छुट्टाउनै पर्छ। हिजो अस्तिका नाफालाई समेत एड्रेस गरेर ब्यालेन्स सिटको आधारमा कोही मान्छे अप्ठ्यारोमा परेको छ भने चाहे तरलताको आधारमा होस् वा नोक्सानको आधारमा होस्। हामीले त्यसलाई चाहिँ हेर्नै पर्छ। मलाइ लाग्छ ९० प्रतिशत बैंकहरुले त्यसलाई हेर्छन् पनि ।

तर नियामकले पाँच प्रतिशत प्रोभिजनिङ गराउने जुन काम गर्‍यो त्यो गल्ती गर्‍यो। एकातिर व्याज नउठाऊ भनेर प्रेसर गर्ने अर्को तर्फ पाँच प्रतिशत प्रोभिजनिङ गराउने। त्यो चाहिँ ठिक थिएन। या त त्यो सुविधै दिन नहुने। सुबिधा दिएपछि बैकलाई पनि त टेक्ने ठाउँ दिनु पर्‍यो नि । किनभने बैंकको नाफा घट्यो भने १० लाख लगानीकर्ताको आशामा ठेस पुग्छ। 

तर अहिले पनि एउटा कुरा के भन्न चाहन्छु भने व्याजको हकमा त्यो एक वर्षको समस्या भएपनि अन्ततगत्व यसमा अप्ठ्यारो चाहिँ दीर्घकालमा पर्दैन। ऋणी चाहिँ सुरक्षित नै छन्।

व्यवसायी साँच्चिकै समस्यामा छन् ?

एकखाले इन्डष्ट्रीहरु साँच्चिकै समस्यामा छन्। जस्तै कोभिड रिलेटेड औषधि बाहेकका औषधि बनाउने कम्पनीहरू, एक समय फलाम र सिमेन्ट उद्योगलाई अप्ठ्यारो परेको थियो। होटेल, एयरलाइन्स, पर्यटन क्षेत्र धरापमै परे। तर खाद्य पदार्थ जन्य उद्योगहरूले प्रगति गरे।

सरकारले प्रभावित भएकाकाे  वर्गीकरण त गरेको छ। तर व्यालेन्ससिट नहेरीकन छुट्टाएको छ। हो ती छुट्टाइएका क्षेत्रमा पनि व्यालेन्ससिटको आधारमा हिजोको नाफाले नओगटेको अवस्थामा मात्रै त्यसलाई चाहिँ सहुलियत दिने, व्याजमा राहत दिने, समय थप्ने गर्दिदा राम्रो हुन्थ्यो। त्यो नगरिदिँदा बैंक पनि अप्ठ्यारोमा परे। 

अब यो कसले गर्छ त ?

यो राष्ट्र बैक र बैंकर एशाेसिएसनले गर्नु पर्छ। नियमन गर्ने काम केन्द्रीय बैंककै हो। हामीले सुझाव दिएका छौ। एफएनसिसिआइले सुझाव दिएको छ। सबैलाई राखेर त्यो समस्या निराकरण तुरुन्तै गर्न सकिन्छ। एक दिनमै सकिन्छ।

 

ब्याजदर लगातार घटिरहेको छ। ब्याजदर घट्दा मुलुकलाई फाइदा हुन्छ कि बेफाइदा ?

ब्याजदर घट्दा समग्र रुपमा सबैलाई फाइदा हुन्छ। किनभने ब्याजदरकै आधारमा ल्यण्डिङ र डिपोजिटलाई ब्यालेन्स गर्ने हो। त्यसले गर्दा हिजो १० र ११ को फरक थियो भने आज ७ र ८ होला। मार्जिन त आखिर १/२ प्रतिशतकै हो। तर तल्लो स्तरको स्ल्याब गर्दा के फाइदा छ भने,मान्छेले रिस्क लिन चाहन्छ। रिस्क लिएपछि इकोनमि एक्टिभिटि बढ्छ। जस्तै स्टक मार्केट १६ सयबाट झण्डै झण्डै   २५ सयको ट्र्याकमा देखिएको छ। त्यसले करमा कति फाइदा भएको छ ? हरेक दिन ५ देखि सात हजार मानिस शेयर बजारमा प्रवेश गरिरहेका छन्। ती थपिनु भनेको मानिसहरू रिस्क लिन शुरु गरिसकेको सङ्केत हो। नेपालमा लगानीकर्ता बढिरहेका छन्। लगानीकर्ता बढ्नु भनेको फाइदा नै हो। त्यो के ले गरिरहेको छ भने घटेको ब्याजदरले। किनकि बैंकमा पैसा राख्नु भन्दा मानिसहरूले लगानी गर्नु फाइदा देखिरहेका छन्।

 

तपाईले यसो भनिरहदा निक्षेपकर्ता त मर्कामा परिरहेका छन् नि ?

हैन यसो हो। जुन निक्षेपकर्ताले कम व्याज पाएको छ। उसले लगानीलाई डाइभरसीफाइ गर्नु पर्छ। निक्षेपकर्ताको रुपमा मात्रै बसेर भएन नि। नगद र सुन घरमा राखेर बस्ने ? अब त्यो दिन गयो। अब बचत गर्ने होइन। अब स्टक मार्केटमा जानु पर्‍यो। घर जग्गामा जानु पर्‍यो। केही नभए पनि घरमा पसल खोल्नु पर्‍यो। दिनको दुई हजार भएपनि सेल भयो भने कम्तीमा आठ सय नाफा हुन्छ। कफी पसल नै खोल्ने हो भने मेसिनको पनि पैसा तिर्नु पर्दैन। कफी सप्लाइ गर्नेले नै त्यो मसिन सित्तैमा दिन्छ। त्योसँगै बिस्कुट, चिप्स अरू चिज पनि बिक्री हुन्छ।

भन्नुको अर्थ इन्टरप्राइजिङ लेभल धेरै फरक हुँदै गएको छ। त्यो फराकिलो पनलाई हामीले स्वीकार गर्न सकिरहेका छैनौ। हामीले बुझाउन सकेनौ। यसमा बैंकको पनि गल्ती हो। हाम्रो पनि गल्ती छ।  यसलाइ राज्य, निजी क्षेत्र र बैंक सबै मिलेर बुझाउनु सक्नु पर्छ।

भनेपछि बैंकमा बचत गरेर व्याज खाने दिन बिस्तारै हराउँदै गयो भन्नु भएको हो ?

हो। अब मेटल र नगद दुवै घरमा राख्ने दिन गए। अब लगानी नै गर्नु पर्छ। अब रिस्क लिने बेला आयो। यो हुने बित्तिकै के हुन्छ भने अर्थतन्त्र फराकिलो हुन्छ। भारतको पपुलेशनको आधारमा जति शेयर कारोबारमा आबद्ध छन्। त्यसको तुलनामा नेपालको कुल जनसङ्ख्याको धेरै मानिस शेयर बजारमा आबद्ध भइसकेको तथ्याङ्कले देखाउँछ। नेपालमा शेयर लगानीकर्ता बढेका छन्। भारतको क्षमता र बैकिङ पहुँच भन्दा हाम्रो पहुँच कम छ। त्यति हुँदा हुँदै पनि यहाँ लगानीकर्ता बढी छन् भने त्यो हाम्रोलागि दोहोरो फाइदा हो। किनभने भारतको त्यत्रो ठूलो इकोनमीमा कम लगानीकर्ता छन्। तर हाम्रो भाइब्रेन्ट इकोनमी नभएता पनि लगानीकर्ता बढी छन् भनेदेखि त रिस्क लिने र व्यवसायिक मानसिकता भएको मानिस त नेपालमा धेरै रहेछन् भन्ने बुझिन्छ।  

तपाई  सबै अर्गनाइजेसनमा हुनुहुन्छ। तर फ्रन्ट लाइनमा देखिनु हुन्न। किन ?

यसका तीन वटा कारण छन्। सबैभन्दा पहिलो नियामकीय निकायको जहिले पनि चाप्लुसी गर्नु पर्ने, उ आइदिए हुन्थ्यो भन्ने प्रवृत्ति चाँहि हाबी छ।

दोस्रो कुरा राजनीतिक नियुक्तिबाट आएका नियामक निकायका अधिकारीहरू आफ्नो राजनीतिक मालिकलाई खुसी पार्न कहिले काँही हामीलाई भिक्टिम बनाउने गर्छन्।

तेस्रोमा हामीसँग भएको पूँजी,व्यवसायिकता,प्रविधि,क्षमता,बजारको सम्बन्ध,बौद्धिकता र कार्यशैलीलाई त्यो चाप्लुसी र पैसाको लेनदेन गर्ने पाटो भन्दा इन्डष्ट्रीको डेभलपमेन्टमा लगाउँदा त्यसले प्रगति गर्ने भएकोले फ्रन्ट लाइनमा बसेर काम नगरी व्याकमा बसेर काम गर्ने शैली अख्तियार गरेकै हो।

भनेपछि त्यस्ता समस्या तपाईले भोग्नु भयो है ?

समस्या सबैले भोगेका छन्। कोही बोल्छन्। कोही बोल्दैनन्। तर यो समस्या नभोगेको भने कोही पनि छैन।

विशेष कस्ता समस्या भोग्नु भयो ?

फाइल रोकेर बस्ने।साधारण सभा दुई वर्ष झुन्डाई दिने। विदेशी मुद्रा भोलि नै पठाउनु छ तर एक हप्ता लगाइदिने लगायत धेरै धेरै ।

एजिएम सकिए लगत्तै लगानीकर्ताको खातामा लाभांश आएन भन्छन्।तर त्यो हामीले गर्दा होइन। चार पाँच ठाउँमा काम गर्नु पर्छ।कम्पनी रजिष्ट्रारदेखि राष्ट्रबैंकसम्म। त्यो सबै ठाउँमा लम्मेतान प्रक्रिया हुन्छन्। यो राम्रो कुरा होइन।कम्पनीले स्वीकृत गरेर बोनस शेयर राइट शेयर दिएपछि अटोमेटिक १० दिन भित्रमा सिडिएससि मार्फत शेयर खातामा आइसक्ने वातावरण नबनुन्जेलसम्म यस्ता समस्या आइरहन्छन्।

फेरि कुनै काम गर्नु पर्‍यो। चेयर म्यान को छ ? डाइरेक्टर को छ ? ल उसलाई पठाइ दिनुस् भन्ने अनि फाइल रोकेर बसी राख्ने गरिन्छ। त्यो प्रकृतिबाट हामी भिन्न हुन खोजेका हौँ।

यस्तो किन गरिएको होला ?

यसमा उहाँहरुको मजबुरी छ। नियामक निकायका केही अधिकारीहरू राजनीतिक नियुक्तिबाट आउँछन्। उहाँहरुलाइ नियुक्त गर्ने मानिसलाई खुसी पार्नु पर्ने बाध्यता पनि हुन्छ। अर्को चाहिँ तलब नै कम छ। नेपालमा तलबले मात्रै बाच्ने मानिस एकदमै कम छ। तलवले मात्र अहिले काठमाण्डौमा एउटा सामान्य परिवारले दैनिक जीवन चलाउन पनि पुग्दैन। समस्या त्यहाँ छ। कम्पनीले नाफा गर्ने तर कर्मचारीले भने जीवन धान्ने तलब पनि नपाउने अनि त्यस्तो भएपछि त्यो मान्छेले स्वभाविक रूपमै आफ्नो स्वार्थ राख्न नचाहेर पनि बाध्य हुनु पर्छ। म उसको गल्ती ठान्दिन। कम्पनीले आफ्नो अवस्था हेरेर आफ्नो कर्मचारी बाच्न सक्ने स्केल दिनै पर्छ।

यतिखेर पोल्टिकल सिनारियो परिवर्तन भएको छ। यसले कस्तो असर गर्ला ?

गएको १० वर्षमा राजनीति गाउँ घरबाट सडक आन्दोलन हुँदै सिंहदरबार छिर्‍यो। अहिले राम्रो कुरा के भएको छ भने, लडाइ  सिंहदरबारमा छ। तपाई  हामी जस्तो सर्वसाधारणको दैनिक जीवनमा यसले फरक पारिहालेको अवस्था छैन। त्यो नपर्दा विद्यालय अनि व्यापारलाई बदलिएको राजनीतिक परिवेशले छोएको छैन। 

भोलि टायर नै बाल्न थालियो। भोलि आन्दोलन नै हुन थाल्यो। आम हडताल हुन थाल्यो भने भन्न सकिन्न। 

दोस्रो कुरा राजनीतिक व्यक्तित्वमा परिपक्वतामा कमी देखिन्छ। राजनीतिककर्मीमा कमी कमजोरी देखिएकोले त्यसप्रति सर्वसाधारणको आक्रोश बढ्दै गएको देखिन्छ। जुन मुलुकको लागि र लोकतन्त्रकोलागि राम्रो होइन।

म पनि त्यो ठाउँमा बसेको मान्छे हुँ। उनीहरूसँगै कोरा कागजमा संविधान लेखेको व्यक्ति भएको नाताले मलाई  केही अनुभव भएको हो। त्यही अनुभवको आधारमा म बोलिरहेको छु। । उहाँहरु त्यो लेभलबाट अलिकति माथि उठ्नै पर्ने आवश्यक ठानेको थिएँ। जुन चाहिँ हुन सकेन। 

निर्वाचन हुनै पर्छ। पाँच वर्ष पछि होस् वा अहिले होस्। तर यसले आफ्नो कोर्स पुरा गरिदिएको भए अर्को डेढ वर्षकोलागि अझै स्मुथ हुन्थ्यो। तर त्यो अब हाम्रो विषय भएन। 

यही बीचमा संसद् पुनर्स्थापन र निर्वाचन। तपाइको नजरमा कुन ठिक ?

न्यायालयप्रति अटुट विश्वास आम जनतालाई छ।  न्यायालयले गरेको फैसला जनताले मान्नु पनि पर्छ। त्यसैले अब न्यायालयल कै निर्णय कुर्नु पर्छ ।

तर यसमा पब्लिक ओपेनियन क्रिएट गर्दा न्यायालयलाई प्रेसर पर्ने भएकोले न्यायालयले नै यसलाई हेरोस् र स्वच्छ निर्णय गरोस् भन्ने हाम्रो चाहना हो।

तपाईले अहिलेको स्टक मार्केटलाई हेरिरहनु भएको छ ?

मलाइ धेरै जसो काम विशेषले १२ देखि तीनसम्म त हेर्न फुर्सद हुँदैन। तर दिनमा एक पटक त मैले कुनै पनि बेला त्यसको जानकारी लिएकै हुन्छु।

अहिलेको बजारको स्थिति कस्तो छ ?

केही महिनादेखि बजार बढिरहेको छ। हिजो अस्तिका हाम्रा एनालाइसिसहरु फेल भए। मैले शेयर बजारको बारेमा यति बेला के बुझे भने,यो बजार ब्याजदरमा निर्भर हुँदो रहेछ। व्याज घट्यो स्टक मार्केट बढ्यो। व्याज बढ्यो स्टक मार्केट घट्यो। स्टकको बिहेबियरमा ५० प्रतिशत यसैको भूमिका हुँदो रहेको छ।

चार वर्ष पहिले १८८१ अंकमा बजार पुग्दा कम्पनीहरूको मूल्य जति पुगेको थियो त्यो मूल्य हामीले दुई हजार नेप्से भएपछि मात्रै पायौ। त्यो चार वर्षको नाफा गयो। अहिले नेप्से दुई हजार नाघ्दा यो दुई वर्षको केही आंशिक नाफा मात्रै पायौ। भन्नुको अर्थ हिजो १८८१ अंक हुँदा मेरो स्टकको भ्यालु पाँच सय करोडको थियो भने अहिले दुई हजार पुग्दा बल्ल त्यो भ्यालु भेटाएकाे छ। जब त्यो भन्दा अघि नेप्से बढेर २२ सयको हाराहारीमा पुगेको छ। यति बेला मात्रै मेरो भ्यालु बढेको देखिएको छ। अब त्यो बेलाको लगानीमा नाफा गर्ने हो भने नेप्सेले २५ सय अंक भेटाउनु पर्छ। त्यो अंक नभेटाए सम्म नाफा देखिँदैन।

अर्को रोचक पक्ष छ। सामान्य एक घरको श्रीमान् वा श्रीमती अफिस जान्छन् भने दुई वटा मध्ये एकले शेयर कारोबार गरिरहेको देख्न सकिन्छ। उनीहरूले दैनिक एक हजार रुपैयाँ भएपनि कमाएर आएको देख्न सकिन्छ। त्यसले के राम्रो गरिरहेको छ भने प्लेयरले शेयर कर्नरिङ् गरेर बजार बिगार्ने चान्सेसलाई कम गर्दै लगेको छ। जति ठूलो सर्कल भयो,जति ठुला लगानीकर्ताहरूको हराइजन बढ्यो।त्यसले स्टकको रियल भ्यालु क्रिएट गर्छ। अहिले बजारमा त्यो किसिमको पोजिटिभिटि देखिएको छ।

स्टक एक्सचेन्जको माध्यमबाट राज्यले धेरै कर सङ्कलन गर्न सफल भएको छ।यसलाई हामीले बढाउँदै लैजानु पर्छ।

डिभिडेन्ड ट्याक्स र क्यापिटल गेन ट्याक्सलाई जुन फाइनल ट्याक्स गरिएको छ। त्यसले एक किसिमको विश्वासको वातावरण तयार गरेको छ। राज्य र लगानीकर्ताबीचको सम्बन्ध सुधारिँदै गएको महशुस गरिएको छ। 

यो बढ्दो क्रम २५ सय पुग्यो भने मानिसमा एक किसिमको थप मनोबल बढ्छ।  किन भन्दा १८८१ को बिन्दुमा लगानी गर्ने मानिसले पनि त्यो बिन्दुमा नाफा कमाउँछ। त्यति बेला उसले महशुस गर्छ कि शेयरमा लगानी गर्दा नडुब्ने रहेछ। चाहे चार वर्ष नै किन नलागोस् तर शेयरमा घाटाचाहिँ नहुने रहेछ भन्ने विश्वास दिलाउँछ। त्यो आशा अहिलेको बजारले सबैमा जगाएको मैले महशुस गरेको छु।

२५ सयको बिन्दु भेटाउला ?

म चाहिँ आशावादी छु। किनभने माघबाट पुन: ब्याजदर घट्दै छ।

कर्नरिङको कुरा गर्नु भयो। बजारमा अहिले पनि हुन्छ ?

यो त एक व्यापार हो। व्यापारमा माग र आपूर्तिले बढी काम गर्छ। कसैले कर्नरिङ गर्छ या गर्दैन। कसैले शेयर आजै किनेर आजै बेच्छ। यी इन्भेष्टरका व्ययभारका कुराहरू हुन्। जब बजारमा सामान उपलब्ध छ। त्यसलाई कुनै पनि व्यापारीले जसरी पनि उठाओस् त्यसको मतलब हुनु भएन। उसले कर तिरेको छ। उसले प्रणालीबाटै उठाएको छ भने स्टक मार्केटमा हरेक कुरा जायज हुन्छ। तर आफूले चाहेको बेलामा घटाउने र शेयर जम्मा गर्ने र बढे पछि बेच्ने गर्दा चाहिँ धेरै लगानीकर्तालाई नोक्सान हुन्छ। जसले गर्दा भोलि मार्केट पाँच सय अंक ह्वात्तै झर्न सक्छ। त्यो दुर्घटनाबाट बचाउने गरी लगानीका हरेक किसिमका टुल्सहरू प्रयोगमा ल्याउँदा अप्ठ्यारो हुँदैन।

टुल्सहरू  कुरा गर्नु भयो। नेपालमा त इक्युटि बाहेक अरू बिक्री गर्ने औजार छैन। के अझै ती आवश्यक नदेखिएको हो ?

अब त आवश्यक नै देखियाे। सबै कसिमका औजारको माग यति बेलाको बजारले गरिरहेको छ।

आज किनेको शेयर भोलि बिक्री गरे, खातामै नआई लगानीकर्ताले शेयर बिक्री गरे भन्ने कुरा हिजो आज धेरै सुनिन थालिएको छ। यसलाई मैले पोजेटिभ रुपमा लिएको छु।  किनभने बजारमा यस्ता लगानीकर्ता पनि छन् जो शेयर किनेर लामो समय कुर्न चाहँदैनन् । उनीहरूलाई आजको भोलि नाफा चाहिएको छ। त्यस्ता लगानीकर्ता पनि बजारलाई चाहिन्छ।  जसले छिटो छिटो कारोबार गर्न खोजिरहेका छन्। त्यसलाई हेरेर नियामक निकायले के अन्दाज लगाउन सक्नु पर्छ भने विदेशमा जस्तै इन्ट्रा डे कारोबार बजारमा लगानीकर्ताले खोजिरहेका छन्। लगानीकर्ताको त्यो बिहेबियरलाई  नियामकले खै बुझेको? त्यस्ता लगानीकर्तालाई इन्ट्रा डे कारोबार खोलिदिने। यसमा सबैलाई फाइदा छ। बजार सञ्चालकलाई कमिसन आउँछ। लगानीकर्ताले औजार पाउँछन्। सरकारले कर।

अर्को खातामै नभएको शेयर बिक्री गर्ने। यो भनेको लगानीकर्ता सर्टसेल गर्न खोजिरहेका छन्। विश्व बजारमा खुब चर्चित छ। त्यो नेपाली लगानीकर्ताले बिहेबियरले खोजिरहेको देखिन्छ।

मैले सुन्दै थिए यो सत्य हो या होइन। यसलाई एकछिन असत्य नै मानौँ। ब्रोकरले लगानीकर्ताको खाताको शेयर बिक्री गरिदियो। तर ब्रोकरले उसको शेयर नै खाने गरी बेचेको भने होइन। उसले खाताको शेयर मात्रै बेचिदिएको हो। यसलाई मैले असत्य मान्दै उदाहरणको लागि मात्रै बोलिरहेको छु है। उसले लगानीकर्ताको खाताको शेयर मात्रै चलाएको हो। उसको नियतमा खोट छैन। शेयर चलाए बापत लगानीकर्ताको खाताबाट शेयर हराएको पनि छैन। पछि उसले पाउने लाभांश वा बेनिफिट जस्ताको त्यस्तै पारिदिएको छ।

बजारले के माग गरिरहेको छ ? मार्जिन एन्ड बोरोइङ। कसैको खातामा एक लाख कित्ता शेयर छ। उसले त्यसलाई पाँच वर्षसम्म बेच्ने उद्देश्य राखेको छैन। तर त्यही शेयर उसले कसैलाई भाडामा दिन सक्छ।

हामी नै ठुलो ठुलो ब्लक शेयर किन्छौ। बर्षौ त्यसलाई खातामा त्यसै राख्छौ। वर्ष दिन नपुगी वा लाभांश नदिई त्यो शेयर कित्ता बढ्दैन। तर त्यही शेयर मैले भाडामा लाउन पाए भने लाभांश पनि आउने, खाली समयमा भाडा पनि पाइने। त्यो अहिले बजारले माग गरिरहेको बुझ्छु। तर त्यो मागलाई नियामकहरुले बुझेको देखिँदैन।

अर्को हेर्नुस् डेरिभेटिभ प्रडक्ट। कमोडिटि एक्सचेन्ज, फरेक्स मार्केट। यी सबको नेपालमा सम्भावना नभएको हो ?

जुन देश कृषि प्रधान देश हो। मुलुकको जिडिपिमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कृषि हो। अचम्म लाग्दो कुरा छ। त्यही देशमा कमोडिटि मार्केट छैन। हामी लगातार प्रयास गरिरहेका छौ। तर अझै दिइँदैन।

पछिल्लो पटक भन्सारको तथ्याङ्क हेरेर मलाइ रुन मन लाग्छ। हाम्रो देशको आयातित बस्तुमा धानले टप फाइभमा स्थान बनाइ सकेको छ।यदि कमोडिटि मार्केट भएको भए किसानले धान लगाउनु पूर्व नै बिक्री गर्ने अवसर प्राप्त गर्ने थिए। अहिले जस्तो किसानले बाली दिएर पैसा नपाउने स्थिति हुने थिएन। किनकि हर कोही वायर हुने थियो। पहिले नै उत्पादन बिक्री हुन्थ्यो। किसानलाई बाली लगाउनै पर्ने बाध्यता हुन्थ्यो। जमिन खाली हुने थिएन। व्यवसायिक खेती शुरु हुन्थ्यो। बिघौ बिघामा लगाइएको धानको कमोडिटी बजारमा किनबेच हुने थियो। कमोडिटि मार्केट हामीले हाम्रो लागि मात्रै मागेको हो ? त्यसले मुलुकलाई कति फाइदा दिन्छ ? खै राज्यले बुझेको?

अब डिबेन्चरको लार्जर स्केल, म्युचुअल फण्डको लार्जर स्केल। यी सबै आवश्यक छन्। डिबेन्चर थोरै छन्। म्युचुअल फण्ड २० वटा पनि पुगेको छैन। डिबेन्चर आम जनतामा पुगेकै छैन। म्युचुअल फण्ड पनि आम जनतामा पुगेकै छैन। मैले म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको तथ्याङ्क हेरेको छु। इकाईहरू मध्यम वर्ग र संस्थागत लगानीकर्ताले मात्रै किनेको अवस्था छ।

हो लगानीका लागि चाहिने सबै औजार आम सर्वसाधारण सम्म पुग्नु पर्छ। पहिले सरकारले बचत पत्र ल्याउँथ्यो। त्यस्तै खालको स्किमको आवश्यक्ता अहिले मुलुकलाई छ।  जस्तै पोखरा एयरपोर्टकाे २० बर्षे बचत पत्र,९ प्रतिशत व्याज। त्यसको ट्रेडिङ्ग होस्। व्याज खानेले किन्न सक्छ। उता एयरपोर्ट पनि बन्दै गर्छ। सरकारले कसैको मुख ताक्नु परेन। यस्ता प्रडक्ट चाहिँ हामीले ल्याउन सक्नु पर्छ।

हामी साह्रै रुढीबादी छौ,त्यसैले पछि परेका छाैं। बीमा क्षेत्रमा पनि नयाँ प्रडक्ट आउँदै आउँदैन। बीमा समितिको पनि समस्या छ। कम्पनीको पनि समस्या छ। हामीले नयाँ प्रडक्ट बनाएर लैजान्छौ सरकारको चित्त बुझाउन सक्दैनौ। सरकारले प्रडक्ट ल्याऊ भन्छ,त्यसको मोडालिटि र रि इन्स्योरेन्स प्राप्त हुँदैन। यस्ता समस्याले अड्काएको अवस्था छ।

क्रेडिट कार्ड घर दैलोमा पुग्न सकेको छैन। बैकले आफ्नै काउन्टरबाट अरू प्रडक्ट बेच्छु भन्ने स्थिति अझै सिर्जना भएको छैन।

मुलुकलाई समृद्धि उन्मुख बनाउने हो भने फेरि यी बजारका लागि नयाँ कुरा पनि होइनन्। किनकि विश्व बजारमा अभ्यास भइरहेका प्रडक्ट हुन्। ती प्रडक्ट औपचारिक रुपमा नपाउँदा लगानीकर्ता बाध्य भएर गैरकानुनी बाटो अख्तियार गरेर कारोबार गर्न बाध्य छन्।

म उनीहरूलाई गलत भन्दिन जो माथि मैले भनेका कुरामा काम गरिरहेका छन्। बरु म तिनीहरूलाई गलत भन्छु जसले तिनीहरूलाई नियमन गर्न सकिरहेका छैनन्। 

अर्को उदाहरण भेन्चर क्यापिटल नियमावली आएको दुई वर्ष भई सक्यो। अहिलेसम्म लाइसेन्स दिएको छैन। तर चार वटा कम्पनीले काम गरिरहेका छन्। विदेशी मुद्रा आएको छ। विदेशी मुद्रा गएको पनि छ। तर त्यो नियम अनुसार दर्ता भएको छैन। यही आपसमै बाझिएको छ। उनीहरूका कारण आवेदन दिनेले समेत काम गर्न पाएका छैनन्। यसको उत्तर कसले दिन्छ ? 

हेज फण्डको विषय क्याबिनेटबाट पास भइसक्यो। त्यो किन फ्लोरमा आउँदैन ?

जति पनि मैले भनेका कुरा छन्। तिनको सुन्दरताको अनुभूति गर्नबाट सर्बसाधारणलाई वञ्चित गरिँदै आएको छ। ती बन्धन न तोडे सम्म मुलुक समृद्धि उन्मुख हुनै सक्दैन। अर्थतन्त्रमा दक्खल राख्ने मानिसहरूले यी विषयमा जान्दैन भने उसलाई इकोनमी चलाउने, राज्य चलाउने अधिकार नै दिन हुँदैन भन्छु म।

त्यसैले यसलाई रोक्नु हुँदैन।  नियम कडा ल्याउनुस्। नियमन गर्नुस्। अडिट गराउनुस्। हरेक वर्ष पास गर्नुस्। तर रोकेर राख्नु चाहिँ हुँदैन। रोक्ने काम चाहिँ राम्रो होइन।

खास कसले रोकेको हो। कसले नगरेको जस्तो लाग्छ ?

नियम ल्याउने काम अर्थ मन्त्रालयकाे हाे ।अर्थले नीति ल्याएपछि सेवोन र नेप्सेले गर्नु पर्ने काम गरेऊ कि गरेनौ भनेर अर्थ मन्त्रालयले पनि कहिले सोध्दैन। फेरि अर्थ मन्त्रालयमा मानिसहरू परिवर्तन भइरहन्छन्। अघिल्लो मानिसले के गरेर गएको थियो। उसलाई थाहा हुँदैन। यता गर्नु पर्नेले गरिदिँदैनन्। 

हामीले ल्याएका जति पनि नियम कानुन छन्। त्यसलाई अर्थले तत्काल इम्पिलिमेन्ट गर भनेर भन्न सक्नु पर्छ। सेवोन र नेप्सेले पनि आएका कुराहरू जति पनि छन् त्यसलाई म इम्पिलिमेन्ट गर्छु भन्ने कुराको विल राख्नु पर्छ।

तपाइ शेयर खरिद बिक्रि गर्नु हुन्छ ?

म बिक्री गर्दिन। शेयर खरिद मात्रै गर्छु।

खरिद बिक्री नगरी कसरी नाफा हुन्छ ?

म इन्ट्रा डे कारोबार गर्दिन। म छोटो समयको लागि शेयर किन्दिन। भन्नुको अर्थ इन्ट्रा डे नराम्रो भनेको होइन। म त्यसरी कारोबार गर्न भ्याउँदा पनि भ्याउँदिन। त्यसैले मैले शेयर किन्छु मात्रै। कम्तीमा पनि मैले १० वर्षको लागि लगानी गर्छु। ३० वर्ष सम्मको लागि मैले शेयर किनेर राखेको छु। त्यसको भ्यालु नै तीस वर्षपछि आउँछ भनेर किनेको शेयर म तत्कालै किन बेचौ ?

फेरि मेरो दैनिकी चलाउन शेयर बेच्नु पर्ने आवश्यकता पनि हुँदैन। जब दैनिकी चलाउन शेयर बेच्नु पर्ने आवश्यकता छैन भने शेयर किन बेच्ने ?  भोलि भन्दा पर्सि बढ्दै जान्छ भन्ने मलाई थाहा छ भने आजै किन बेच्ने ?

अर्को रोचक कुरा सुनाउँछु। कहीँबाट एक लाख रुपैयाँ आयो। त्यो भन्दा सानो रकमको कुरा गर्दिन है। त्यो एक लाख मैले केमा खर्च गर्दा बढी नाफा हुन्छ भनेर हिसाब गर्छु। जुनमा खर्च गर्दा नाफा देख्दिन त्यसमा म खर्चै गर्दिन। खर्च गरेपछि नाफा हुनै पर्छ। त्यस्तो मानसिकता मेरो छ। त्यसैले शेयर किन्दै गयो। डिम्याट खातामा राख्दै गयो। त्यसबाट बोनस पनि आउँछ। नगद पनि आउँछ।

कतिको पोर्टफोलियो होला ?

लगभग १५ सय करोड जतिको होला।

कस्ता कम्पनीको शेयर किन्नु हुन्छ ?

बजारबाट किन्दा एक दर्जन जति कम्पनीको मात्रै शेयर किन्छु।

पछिल्लो समय कति जतिको शेयर किन्नु भयो ?

अहिले नै यति किनेर त भन्न सकिँदैन। तर यति मान्नुस्, मसँग जति शेयर छन्। ती शेयरले दिएको नगद लाभांश जति सबैको म शेयर नै किनेर राख्छु। बरु अरू थपेर भएपनि भोल्युम बढाउँदै लैजान्छु।

भनेपछि अहिले पनि बजार सेफ जोनमै छ ?

मेरो बिचारमा सोध्नु हुन्छ भने सेफ जोनमै छ। किनकि म डराएको छैन। किनभने १८ सयको बिन्दुमा रहेको बेलाको प्राइसकै सेरोफेरोमा बजार रहेकोले म नडराएको हो। अर्को कुरा ब्याजदर नबढेसम्म शेयर बजारमा रिस्क छैन। ब्याजदर बढ्ने बित्तिकै सतर्क हुन आवश्यक छ।

ब्याजदर बढ्ने सम्भावना छ ?

आउने तीन महिना देखि चार महिना अझै ब्याजदर बढ्ने सम्भावना छैन।

अहिलेको तरलता किन व्यवस्थापन हुन नसकेको हो ?

कोभिडले गर्दा भविष्य अनिश्चित छ। लगानीकर्ताहरू ठोकुवा गरेर यो माल हामी उठाउँछौ भन्न सकिरहेका छैनन्। उनीहरू मीड टर्म र लङ टर्म कमिटमेन्ट गर्न सक्ने अवस्थामा नभएकोले तरलता व्यवस्थापन नभएको हो।

सस्तो ब्याजदरमा त व्यवसायीले झन् धेरै पैसा लिएर बढी माल उठाउनु पर्ने होइन र ?

सर्ट टर्ममा मात्रै हो। लङ टर्ममा रिस्क लिने क्यापेसिटि अझै बिल्डअप भइसकेको छैन। त्यसको लागि नेपालमा एडभाइजरी सर्भिस छैन। जस्तै टाटा कन्सलटेन्सि जस्तो इन्भेष्टरहरूलाई हेल्प गर्ने संस्था छैनन्। सानो कमिसन लिएर, सानो फी लिएर एडभाइजरी सर्भिस लिएर यिनको भविष्य राम्रो छ है भन्न सक्ने संस्था छैनन्।

शेयरको हकमा यस्तो सर्भिस ब्रोकरहरुले दिन सक्छन्। तर उनीहरूलाई फुर्सत छैन। किनभने दिनभरि किनबेचमा व्यस्त हुन्छन्। बिहान बेलुका पेमेन्ट उठाउँदै उनीहरूको बितिरहेको छ। तर पनि यो सर्भिस ब्रोकरलाई नै दिनु पर्छ। उनीहरूले गर्नै पर्छ भनेर नियामकले बाध्य पार्नु पर्छ।

अन्तिममा इन्भेष्टरहरूलाई के भन्नु हुन्छ ?

बजारको र न्युजको ह्वीम हिँड्नु हुँदैन। अन्डर भ्यालु कुन स्क्रिप्ट छ भन्ने क्षमता आफूमा वृद्धि गर्दै लैजानु पर्छ। नाफाको आधारमा, राइट शेयर, बोनस, नगद लाभांश र त्यसको मूल्यको आधारमा भोलि त्यो कम्पनी कहाँ पुग्छ भनेर मूल्याङ्कन आजै गर्न सक्नु पर्छ। यसको लागि ब्रोकरले राम्रो सल्लाह दिन सक्छन्। यो सबै कुरा मिलाएर शेयर किन्यो भने धोका चाहिँ हुँदैन।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।