बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा ९ करोड ९४ लाख ६ हजार ७४० कित्ता अर्थात ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.३१ गुण बढी हुन आउछ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।
बैंकको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । त्यस अनुसार माघ ६ गतेसम्म मात्रै शेयरमा आवेदन दिन सकिनेछ । माग भन्दा बढी आवेदन परेपनि बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर भने पाउनेछन् ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।
पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ । अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ । त्यस अनुसार बैंकको आईपीओमा आवेदन गर्नेको १५ लाख पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।
त्यस अनुसार सबै आवेदनलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । तर सबै आवेदनले ५० कित्ताको लागि आबेदन नगर्नपनि सक्छ । त्यसैले न्युनतम ५० देखि ७० कित्ता सम्मको लागि आवेदन गर्दा उपयुक्त हुने देखिन्छ ।
इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।