हाल ऐनमा व्यवस्था भए अनुसार सुबिसु केबल नेट, नेपाल स्याटेलाइट टेलिकम, ब्रोडलिंक, स्काई केबल, सिम्पल मिडिया प्रालि अझै पब्लिक कम्पनीमा जान आनाकानी गरिरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको विवरण अनुसार नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो सुबिसु केबल नेट प्रालि । तर, २२ कारोड चुक्ता पूँजी भएको सुबिसु पब्लिक कम्पनीमा कहिले जाने हो टुङ्गो छैन् ।
त्यस्तै १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल स्याटेलाइट टेलिकमको हालतपनि उस्तै छ । न पब्लिक कम्पनीमा जान सकेको छ न त नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बाँकी बक्यौता नै भुक्तानी गर्न सकेको छ ।
अर्को पब्लिक कम्पनीमा गइसक्नुपर्ने कम्पनी ब्रोडलिंकपनि हो । अहिले ब्रोडलिंकको १० करोड चुक्ता पुँजी रहेको छ । त्यस्तै १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको स्काई केबल र ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिम्पल मिडिया प्रालि पनि पब्लिक कम्पनीमा गइसक्नुपर्ने थियो ।
तर, दूरसञ्चार प्राधिकरणका एक निर्देशकका अनुसार कम्पनीहरुले अटेर गरिरहेपनि कम्पनी राजिष्ट्रार कार्यालयसँग समन्वय भइरहेको बताए ।
‘पब्लिक कम्पनीमा जान बाँकी कम्पनीहरुलाई पब्लिकमा जान बाध्य पार्ने गरी छलफल अघि बढाइरहेको छ’ ती निर्देशकले भने । केहि महिना अगाडि पब्लिक कम्पनीमा नगएका कम्पनीहरुलाई पत्रचार गरेका थियौं’ । प्राधिकरणलाई पब्लिक कम्पनीमा गइसकेपछि मात्र थाहा हुने उनको भनाई छ ।
कम्पनी ऐनको दफा १२ मा ५ करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवाप्रदायक कम्पनी वा तोकिएको बमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीका रुपमा स्थापना हुनपर्ने व्यवस्था गरेको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयका उप–रजिष्ट्रार राम प्रसाद ढकालले पब्लिक कम्पनीमा जान बाँकी कम्पनीहरु सम्पर्कमा आउने क्रम बढेको र केहि दूरसञ्चार कम्पनी कम्पनी प्रक्रियागत रुपमा आईसकेकोको बताए ।
अहिले दूरसञ्चार सेवाप्रदायक मध्ये एनसेल,नेपाल टेलिकम, युनाइटेड टेलिकम, वल्ड्रलिङ्क कम्युनिकेसन, डिश मिडिया नेटवर्क, प्रभु डिजिटल पब्लिक कम्पननीका रुपमा सूचीकृत भइसकेका छन् । दूरसञ्चार कम्पनी मध्ये सर्वसाधारणलाई सेयर दिनेमा भने नेपाल टेलिकम मात्रै छ ।
टेलिकम बाहेक सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीमा भने एनसेल, डिसहोम, प्रभुडिजिटल रहेका छन् । त्यस्तै सिजि टेलिकम, भयानेट कम्युनिकेशन, क्लासिक टेक लगाएतको भने चुक्तापूँजी ५ करोड भन्दा मुनि रहेको कारण पब्लिकमा जान बाध्यकारी छैन् ।
सुबिसु केबल नेट प्रालिका अध्यक्ष सुधिर पराजुलीले पब्लिक कम्पनीमा जाने प्रक्रिया अघि बढिसकेको बताए । ‘हामीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पब्लिक कम्पनीको रुपमा जाने भनेर फाइल बुझाइसकेको र सो काम प्रक्रियामै रहेको छ’ पराजुलीले भने ‘लकडाउन अघि नै प्रक्रियामा गइसकेका थियौं’ ।