"हामीले इक्युटिमा परिणत हुने डिबेन्चर निष्कासनको लागि तयारी गरिरहेका छौ" एनआइसी एसिया बैंक उच्च स्रोतले मेरो लगानीसँग भन्यो।
वित्तीय क्षेत्रमा नयाँ प्रडक्ट र अभ्यासमा एग्रेसिभ हुँदै आएको बैंकले नेपालमा नौलो अभ्यास शुरु गर्न लागेको जनाएको छ। दैनिक रुपमा बैंकले पहुँच बिस्तार गर्दै लगेको छ। उसले पूँजीको हिसाबले पनि आफूलाई नेपालकै ठूलो वाणिज्य बैंकको रुपमा स्थापित गर्दै लगेको छ। बैंकले आउने दिनमा थप पूँजी बढाउने योजनामा काम गरिरहेको छ। जसको लागि उसले नाफामा सकेसम्म बोनस दिएर पूँजी बिस्तारलाई निरन्तरता दिँदै आएको छ।
भबिष्यमा थप ठूलो बैंक बन्नको लागि बैंकले कन्भरटेबल डिबेन्चर(परिवर्तित ऋणपत्र)को अवधारणा शुरु गरेको हो। जसले सर्बसाधारणलाई ऋणपत्र खरिदमा थप उत्साह ल्याउनेमा बैंक आशावादी देखिएको छ। बैंकले ऋणपत्रको रुपमा थप पूँजी पाउने छ भने सर्वसाधारणले ऋणपत्र खरिद गरेबापत निश्चित व्याज सहित तोकिएको अवधि समाप्त भए पछि बैंककै शेयर धनी बन्ने अवसर समेत प्राप्त गर्ने छन्।
बैंकले कम्पनी ऐन २०६३ मा टेकेर उक्त ऋण पत्रको तयारी गरेको जनाएको छ। कम्पनी ऐन २०६३ को दफा ३५ मा डिबेञ्चर उठाउने कार्यविधि सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाको उपदफा (३)मा "डिबेञ्चर शेयरमा परिणत हुन सक्ने व्यवस्था प्रबन्धपत्र वा नियमावलीमा गरिएको वा डिबेञ्चर निष्कासन गर्नुअघि नै सो शर्त उल्लेख गरिएको भए शेयर पूँजी सम्बन्धी यस ऐनका प्रावधानको अधीनमा रही कुनै डिबेञ्चर शेयरमा परिणत गर्न सकिनेछ" उल्लेख छ। सोही व्यवस्थालाई ऐनले पुन :"(४) उपदफा (३)मा बमोजिम डिबेञ्चर शेयरमा परिणत गरिने भए सो कुरा विवरण पत्रमा स्पष्ट रुपमा खुलाउनु पर्नेछ" भनी व्याख्या गरेको छ।
सोही व्यवस्थामा टेकेर बैकले परिवर्तित ऋणपत्र निष्कासन गर्न लागेको हो। उसले निश्चित अवधिको ऋणपत्र निष्कासन गर्ने छ। कति रकम बराबरको ऋणपत्र ल्याउने भन्ने विषयमा भने बैंकले अहिले नै कुनै तयारी गरेको छैन। "इनिसियल फेजको डिसकस हो। के कति अवधिको ल्याउने, कति इन्ट्रेस्ट तोक्ने र कति एमाउन्टको ल्याउने भन्ने फाइनल भइसकेको छैन" स्रोतले भन्यो।
यसअघि भने बैंक वित्तीय संस्थाले निश्चित अवधिका लागि निश्चित ब्याजदर दिनेगरी डिबेन्चर निष्कासन गर्ने गरेका थिए। निश्चित ब्याजदरमा सजिलै डिबेन्चर बिक्ने भएका कारण समेत बैंकहरूले परिवर्तित ऋणपत्रलाई व्यावहारमा ल्याएका थिएनन्। बैंक वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने गरेको भएपनि सर्वसाधारणको भने ऋणपत्रमा कमै आकर्षण हुने गरेको थियो। बैक वित्तीय संस्थाले निष्कासन गरेका ऋणपत्र एक आपसको समझदारीमा बिक्री हुँदै आएको छ। केन्द्रीय बैकले चुक्ता पूँजीको २५ प्रतिशत ऋण पत्र निष्कासन गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरेका कारण बैंकहरूले ऋणपत्र निष्कासन गर्दै आएका छन्। यही कारण सबै बैंकले ऋणपत्र निष्कासन गर्दा तीनै बैंकहरूले एक आपसमा सहमतिको आधारमा ऋण पत्र किन्दै आएका थिए।
निष्कासित ऋणपत्र संस्थागत लगानीकर्ताले बाध्यात्मक रुपमा किन्ने,सर्वसाधारणले भने अपनत्व ग्रहण नगरिदिँदा बैंकले निष्कासन गरेका ऋणपत्रले वास्तविक उद्देश्य अनुरूप काम गर्न सकेका थिएनन्। फेरि बिस्तारै घट्दै गएको ब्याजदरले धेरै व्याज दिनु पर्ने ऋणपत्रहरूले बैंकको लागत समेत बढाउँदै लगेका छन्। जसको लागत न्यूनीकरण गर्न पनि बैंकले यस्तो बाटो अख्तियार गर्न लागिएको बुझिएको छ। परिवर्तित ऋणपत्रको व्याज यसअघि दिँदै आएको ऋणपत्रको भन्दा कम हुने अनुमान गरिएको छ। निश्चित समय पछि ऋणपत्र शेयरमै परिणत हुने आसमा लगानीकर्ताले कम व्याजमै पनि उक्त ऋणपत्र खरिद गर्ने अनुमान गरिएको छ। जसले बैकलाई कम व्याजमा ठूलो रकम एकै पटक प्राप्त हुने छ भने सर्वसाधारणले निश्चित वर्ष पछि ऋणपत्रलाई शेयरमा रूपान्तरण गरेर लाभ पाउने छन्। यसले बैंक र सर्वसाधारण दुबैलाई निक्कै ठुलो फाइदा हुने बताइएको छ।