तामाकोशीबाट बैशाख १ गते १ मेगावाट बिजुली तुना बाँधेर भए पनि बाल्छौः शाक्य

Jan 22, 2021 05:24 PM Merolagani

नेपाल विद्युत प्राधिकारणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट गत भदौको अन्तिम साता बाहिरिएसँगै लोडसेडिङ हुने हल्ला व्यापक रुपमा चल्यो । धेरैले कुलमान पुनः नियुक्त हुनका लागि दबाब स्वरुप उनैले नै यो हल्ला चलाएको आरोप समेत लगाए ।

छिनछिनमा बत्ती जादा बाघ कराएको र बाख्रो हराएको एकैपटक भएजस्तै आमनागरिकले लोडसेडिङ हुनै लागेको हो कि भन्ने आंशका पनि व्यक्त गरे ।

तर नेपाल विद्युत प्राधिकरणले भने बाघ कराउनु र बाख्रो हराउनु संयोग मात्र हो भन्दै आएको छ । विद्युत प्राधिकरणले भारतबाट बिजुली ल्याएर भएपनि लोडसेडिङ हुन नदिने बाचा आम नागरिकलाई दिँदै आएको छ ।

पछिल्लो समय लोडसेडिङ हुने भन्ने हल्ला, बिजुली छिनछिनमा जानुको कारण, स्वदेशी लगानीमा निर्माणाधनी बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोशी, रसुवागढी, सान्जेनलगायतका आयोजनाबाट बिजुली कहिले उत्पादन हुन्छ भनेर नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक एवं तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडका अध्यक्ष समेत रहेका हितेन्द्रदेव शाक्यसँग मेरो लगानीका विष्णु बेल्वासेले गरेको कुराकानीः


छिनछिनमा बिजुली जाने (ट्रिपिङ) को समस्या बढ्दै गएको हो ?

गत वर्षबाट बिभिन्न ठाउँमा बिजुलीको लोड बढेको हुनाले प्रसारण लाइन र टान्सफर्मरको क्षमता बढाउने कामहरु भएका छन् । जाडो महिनामा बिजुलीको प्रयोग हुने भएकाले जहा कमजोर प्रसारण लाइन र टान्सफर्मर छन्, त्यहा समस्या आउदा छिनछिनमा बिजुली जाने (ट्रिपिङ)को समस्या आएको हो ।

गत वर्ष पनि मंसिरमा ट्रिपिङको समस्या बढेको थियो । गत वर्षको मंसिरमा पनि २÷३ वटा समाचार आएका थिए । फेरि पनि लाेडसेडिङ हुन लागेको हो भन्ने जस्ता समाचार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पालामा पनि आएका थिए । गत वर्षको समाचार हेर्ने हो भने पनि  त्यो कुरा थाहा पाउन सकिन्छ ।

मंसिर पुस महिनामा ट्रिपिङको समस्या प्रत्येक वर्ष बढने गर्छ । गत वर्ष छिनछिनमा बिजुली गएको कसैले पनि ‘नोटिस’ गरेन । तर यस वर्ष कुलमान गइसकेपछि बिजुली छिनछिनमा जाँदा अलि बढी मानिसहरु डराएका हुन् । वास्तवमा गत वर्ष भन्दा बढी छिनछिनमा बिजुली यस वर्ष बढी गएको छैन् ।

पछिल्लो समय ट्रिपिङको समस्या घटेको छ । साधारणतया ट्रिपिङ हुने प्रक्रिया नै हो । हामीले कतिपटक छिनछिनमा बिजुली गयो त भन्ने कुरा हेर्यो । ट्रिपिङको समस्या त्यति धेरै छैन् । १÷२ वटा ट्रिपिङ भएकोलाई सोसियल मिडियामा एकदमै फैलाउने काम गरे । आफूले अनुभव गर्नु भन्दा पनि अरुले धेरै हल्ला गरेकाले बिजुली धेरै गए जस्तो भान भएको हो ।

गत वर्ष हिउँमा पानी परेको थियो । त्यो पानीले गर्दा खोलानालामा पानीको वहाब पनि बढेको थियो र बिजुलीको उत्पादन पनि बढेको थियो । तर अहिलेको हिउँदा पानी पर्न सकेको छैन् । यसले पनि बिजुली उत्पादन कम हुँदै गएको छ । यस्तो अवस्थामा बिजुलीको व्यवस्थापन कसरी गर्नु भएको छ ?

पानी नपरेका कारण खोलानाला सुक्दै गएको छ । खोलामा पानी सुक्दै गएका कारण निजी क्षेत्रबाट उत्पादन हुने गरेको बिजुली पनि कम उत्पादन हुँदै गएको छ । त्यसैले गत वर्षभन्दा भारतबाट आयात गरिने बिजुली बढेको छ । भारतबाट दैनिक १२ हजार मेगावाट आवरजस्तो भइरहेको छ । तर बिजुलीको समस्या छैन् ।

दैनिक आयात बढेपछि अलिकति भारतमा पैसा बढी जाने मात्र हो । तर जाडोयाममा यता आन्तरिक रुपमा उत्पादन भएको बिजुली पनि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा पर्ने गरेको छ । भारतबाट बिजुली ल्याउदा प्रतियुनिट ६ रुपैयाँ ६८ पैसा पर्न आउछ ।

प्राधिकरणको हिसाबले त भारतबाट बिजुली ल्याउँदा त्यति फरक परेन् । तर देशको हिसाबले त स्वदेशमा नै उत्पादन भइदिएको भए राम्रो हुने थियो ।

हिउँमा बिजुलीको अभाव हुन नदिनका लागि जलाशययुक्त आयोजना कुलेखानीमा पनि पानीको जोहो गरेर राखिने गरिन्छ । अहिले कुलेखानी आयोजनामा पानीको मात्रा कति छ ?

अहिले कुलेखानी आयोजनाबाट दैनिक ३ सयदेखि ३ सय ५० मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ । ५ सयदेखि ६ सय मेगावाट कुलेखानी पहिलोको छ । त्यो भनेको जेठको असान्तसम्ममा १४९५ मिटरसम्म पुग्छ । १४९० मिटरसम्म लैजान सकिन्छ । हामीले १४९५ मिटरभन्दा तल जान पर्दैन भन्ने अनुमान गरेका छौं ।

बिजुलीको खपत बढ्यो भने आयात बढाउनु पर्ने हुन्छ । बिजुलीको अभाव हुन नदिन वा सुरक्षित रुपमा रहनका लागि बढी बिजुली खपत हुन थाल्यो भने आयात बढाउनु पर्ने हुन सक्छ ।

स्वदेशी बिजुली उत्पादनमा ज्यादै नै कमी आएको हो ?

निजी क्षेत्रबाट २ सय ९० मेगावाटको हाराहारीमा मात्र बिजुली उत्पादन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरण मातहतका आयोजनाबाट पनि बिजुली उत्पादन कम हुँदै गएको छ । प्राधिकरण मातहतका आयोजनाबाट ४ सय ५० मेगावाट जस्तो छ । कुलेखानीबाट बिजुली पूरै उत्पादन गर्ने हो भने त त्यो भन्दा बढी हुन्छ ।

कुलेखानी सहित करिव ५ सय मेगावाट प्राधिकरण मातहतका आयोजनाबाट बिजुली उत्पादन हुन्छ । बाँकी ५ सय ५० देखि ६ सय मेगावाट त भारतबाट आयात हुने गरेको छ । कम बिजुली खपत हुने समयमा करिव ५ सय मेगावाट र बढी बिजुली खपत हुने समयमा करिव ६ मेगावाट बिजुली भारतबाट ल्याउने गरेका छौ ।

भारतबाट थप बिजुली ल्याउनलाई पनि त समस्या होला ?

भारतबाट बिजुली ल्याउन समस्या छैन् । टनकपुरबाट पनि १० मेगावाट थपिएको छ । ८५ मेगावाटसम्म ल्याउन सकिन्छ । पहिले ६० देखि ६५ मेगावाट बिजुली आएको थियो । १० मेगावाट थप ल्याएर अहिले उक्त क्षेत्रबाट कुल ७५ मेगावाट बिजुली आयात हुँदै आएको छ । टनकपुरबाट थप बिजुली ल्याउदाँ पश्चिमलाई चाहिने बिजुली त्यसरी मिलाउन सकियो ।

कालीगण्डीबाट उत्पादित बिजुली पश्चिमतिर लान नपरेपछि त्यो बिजुली पूर्वतिर ल्याउन पाइयो । कुसाहा कटैया र ढल्केबर मुजफपुर प्रसारण लाइनको अहिले क्षमता बृद्धि भएको छ । आवश्यक परेमा भारतबाट थप बिजुली ल्याउन सकिन्छ ।

अहिलेलाई बिजुलीको अभाव हुने समस्या छैन भन्न खोज्नु भएको हो ?

बिजुलीको अभाव हुने सम्भावना छैन् । हामीले योजना बनाएर नै राखेका छौं । नेपालकै बिजुलीले पुगेमा भारतबाट बिजुली ल्याउने कुरा भएन । अन्यथा भारतबाट बिजुली ल्याउनुको बिकल्प रहेन्

पछिल्लो समय लोडसेडिङ हुने भन्ने हल्ला फैलियो । त्यसले नकारात्मक भन्दा पनि सकारात्मक असर पार्यो । हामी बरु १०० मेगावाट ‘मार्जिन’ राखेर बसौं । मार्जिनमा राखेर बस्नका लागि यसले सकारात्मक भूमिका खेल्यो ।

कहिले काही नकारात्मक कुरा बाहिर आइदिँदा त्यसले सकारात्मक भूमिका खेल्दो रहेछ । बादलमा पनि चाँदीका घेरा हुन्छन् भन्छन् ।

जुम्लामा लोडसेडिङ हुन सुरु भयो भन्ने कुरा पनि आएको थियो । के जुम्लामा लोडसेडिङ हुन थालेको नै हो ?

त्यो ठाउँमा राष्ट्रिय प्रसारण लाइन गएको छैन् । ३० वर्षदेखि साना जलविद्युत आयोजना प्राधिकरणले सञ्चालन गर्दथ्यो । पछि उक्त साना जलविद्युतलाई प्राधिकरणले समुदायलाई हस्तान्तरण गरेको थियो । समुदायका उपभोक्ताहरुले मिलेर सञ्चालन गर्दथे । सायद २ वर्षअघि समुदायले प्राधिकरणलाई हस्तान्तरण (हेन्डओभर) गरेको थियो । सायद समुदायले सञ्चालन गर्न नसकेको भएर हुनुपर्छ प्राधिकरणलाई बुझाएका थिए ।

प्रसारण लाइनबाट छुट्टिएर सञ्चालन हुने गरेको छ । खोलाको पानीले नै त्यो सञ्चालन हुने हो । सायद यो वर्ष पानी नपरेका कारण बिजुली उत्पादन कमी भएको हुनुपर्छ । जाडो महिनामा खोलामा पानी सुक्ने नै हो नसुक्ने भन्ने नै हुँदैन् ।

गत वर्ष पनि सो क्षेत्रमा मिलाइ मिलाइ बिजुली छुट्टाएर बाँडेकै हो । यो वर्ष पनि त्यही नै भएको हो । अहिले हरेक दिन नै बिजुली दिऊ भनिएको हो । मोबाइल चार्ज लगायतका काम गर्न पनि सकिने भएकाले हरेक दिन बिजुली दिदा फाइदा हुने भएकाले त्यसरी मिलाइएको हो । हरेक दिन भाग लगाएर गर्दा खेरी माथि लोडसेडिङ भनेर बिजुली दिन थालेका हुन् । त्यो सोसिएल मिडियमा भाइरल भएको हो । त्यो भन्दा अगाडि पनि खोलामा पानी घट्दै जादा बिजुली पालै पालो बाँडेर चलाएका थिए । अहिले पनि त्यही भएको छ ।

गत वर्ष त्यो जलविद्युत आयोजना बिग्रेको थियो । गत वर्ष पनि जुम्लाका सांसदहरुले धेरै हल्ला खल्ला काठमाडौंमा गर्न थालेपछि कुलमानजीले डिजेल जेनेरेटर पठाउनु भएको थियो । अहिले हाइड्रोले एक ‘सेक्सन’ र डिजेल जेनेरेटरले अर्को ‘सेक्सन’ बिजुली दिने व्यवस्था गरेको गरेका छौ । त्यसरी प्रसारण लाइन छुट्टाउने काम पनि भइरसकेको छ । अस्तिसम्म सकियो भन्ने कुरा मैले बुझेको छु । अहिले छुट्टाएर एकातिर बिजुली अर्कोतिर डिजेल जेनेरेटर चलाउनु भनेका छौं । त्यो भयो भने गत वर्ष भन्दा राम्रो हुन्छ ।

माथिल्लो तामाकोशी आयोजनाको निर्माण काम कति सम्पन्न भयो र कहिले बिजुली उत्पादन हुन थाल्छ ?

माथिल्लो तामाकोशी आयोजनाको पछाडि हामी एकदमै लागिरहेका छौं । चैत मसान्तभित्र बिजुली उत्पादन गर्ने भनेका छौं । हाइड्रोमेकानिकल ठेक्दार एकदमै लिच्चड नै पर्यो भन्नु पर्यो । उसँगको सम्बन्ध चुडाल्न मात्र सकिएको छैन्,जति पेल्दा पनि भएको छैन् । काम जति सकिन्छ हामी आफै पनि गरौ भनेर लागेका छौं । त्यसका लागि डिजाइन परिवर्तन पनि गयौं ।

हाइड्रोमेकानिकलले हामीलाई डुबाउँछ भनेर सिइओ, पोजेक्ट म्यानेजर,कन्सल्टेन्ट, इन्जिनियर सबै एकै ठाउँमा बसेर डिजाइन ‘चेन्ज’ गर्ने यसको भर नपर्ने भनेर निर्णय गरेका हौं । त्यो अनुसार अगाडि बढिएको छ । तै पनि ठूलो आयोजनामा छुटेका तुनाहरु समेटनु पर्ने र अन्तिममा एउटा कारणले पनि बत्ती नआउने हुन सक्छ । एउटा सानो रिल चलेन भनेपनि बत्ती आउदैन् ।

त्यसैले हामी अझै सबै तुनाहरु बाँधेर भएपनि चैतमसान्तमा एउटा मेसिन चाँहि घुमाउँछौ भनेका छौं । अहिले पनि प्रत्येक दिन त नभनौ दुई दिनमा एक पटक सम्पर्कमा रहन्छु । अहिलेसम्म बैशाख १ गते १ मेगावाट भएपनि बिजुली निकाल्ने पक्षमा छौं ।

अनि रसुवागढी र सान्जेन आयोजनाबाट कहिले बिजुली उत्पादन होला ?

सान्जेन रसुवागढीहरु कोभिडका कारणले सामानहरु खासा केरुङमा अडकिएर बसेका छन् । त्यहाबाट ठेक्दारले सान्जेनको सामानहरु ल्याउँदै छ । रसुवागढी हकमा चीनबाट काम गर्ने मानिसहरु आउँदै छन् । चिनीयाँहरु कोभिडको खोप लगाएर आउँदैछन् । भारतीयहरु कामदार भएको ठाउँमा कामहरु अलिकति अगाडि बढेको छ चीनीयाँ ठेकदार भएकोमा अलिकति पछाडि परिएको छ ।

यो वर्ष रसुवागढी र सान्जेन आयोजनाबाट बिजुली आउने सम्भावना कति छ ?

यो वर्ष रसुवागढी र सान्जेन आयोजनाबाट बिजुली जोडिदैनन् । अर्कोवर्ष फागुन चैतमा यी आयोजनाबाट बिजुली आउने सम्भावना छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।