चैत अघिसम्म एकल अंकको ब्याजदरमा कर्जा लगानी गर्ने बैंक कमै मात्र थिए। सो अवधिमा बैंकहरुले १४/१५ प्रतिशत सम्म ब्याज लिदै आएका थिए। अहिले प्रायः सबै बैंकहरुले एकल अंकमा नै कर्जा लगानी गर्न थालिसकेका छन्। गत चैतदेखि नै बैंकहरुको आधार दर घट्दो क्रममा देखिएको छ। जसले गर्दा ब्याजदर पनि घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा बैंकहरुकाे चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पौने एक प्रतिशत विन्दुले घटेको थियो। अहिले दोस्रो त्रैमासमा पनि बैंकहरुले आधार दर त्यसैगरी घटाएका छन्।
हालसम्म दोस्रो त्रैमासको आधार दर सार्वजनिक गरेका सबै बैंकहरुको आधार दर अघिल्लो त्रैमासको तुलनामा घटेको देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको नेपाल इन्भेष्टमेन्ट बैंकले पहिलो त्रैमासको तुलनामा आधार दर ०.७८ प्रतिशत विन्दुले घटाएर नयाँ आधार दर सार्वजनिक गरेको छ। त्यसैगरी, सिटिजन्स बैंकले पनि दोस्रो त्रैमासमा ०.५६ प्रतिशत विन्दुले आधार दर घटाएको विवरण प्रकाशनमा ल्याएको छ। वित्तीय विवरण सार्वजनिक नगरे पनि अन्य केहि बैंकहरुले आफ्नो वेबसाइटमार्फत आधार दर सार्वजनिक गरिसकेका छन्। बैंकहरुले सार्वजनिक गरेको आधार दरमा कुनै पनि बैंकको बढेको छैन। सिभिल बैंकको ०.४३ प्रतिशत, सेञ्चुरी बैंकको ०.७७ प्रतिशत, माच्छापुछै बैंकको ०.७५ प्रतिशत र सनराइज बैंकले ०.५१ प्रतिशत विन्दुले आधार दर घटाएका छन्। यसले दोस्रो त्रैमासमा पनि अधिकाँश बैंकहरुले आधार दर घटाउने देखिन्छ।
पहिलो त्रैमासमा पनि बैंकहरुले ०.१७ प्रतिशतदेखि १.६८ प्रतिशतसम्म आधार दर घटाएका थिए।
बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जा लगानी गर्ने भएकाले आधार दर कम हुँदा बैकको कर्जाको ब्याजदर घट्न टेवा पुग्दछ। बैंकहरुको ब्याजदर अझै घट्दो क्रममा रहेको बैंकरहरु नै बताउछन्।
बैंकहरुले निर्धारण गर्ने ब्याजदरले शेयर बजारलाई पनि प्रत्यक्ष प्रभाव पार्छ। ब्याजदर उच्च हुँदा शेयर बजार घट्ने गर्छ भने ब्याजदर कम हुँदा बजारले बढ्दो गति लिने गर्छ। बैंकहरुको घट्दो ब्याजदरकै कारण पछिल्लो समय शेयर बजारमा सुधार देखिएको छ।
गत बर्षहरुमा मंसिर/पुसमा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव बताउँदै बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर ह्वात्तै बढाउने गरेका थिए। महंगाे लिएको निक्षेपका कारण बैंकहरुको आधार दर बढ्दै जाँदा कर्जाको ब्याज पनि महँगिने गरेको थियो। यस वर्ष भने बैंकिङ्ग प्रणलीमा अझै अधिक तरलता छ। शेयर बजारले यस वर्ष तरलताको असर भोग्नु परेन। यसले गर्दा पनि शेयर बजारमा नकारात्मक प्रभाव परेन।
तर आधार दर घट्दैमा ढुक्क हुने अवस्था भने नरहेको विश्लेषकहरु बताउछन्। पूर्व बैंकर तथा शेयर बजार विश्लेषक अनलराज भट्टराई भन्छन्, "आधार दर घटेपनि बैंकहरुको कर्जा लगानी बढ्न थालेकोले आगामी दिनमा तरलताको अवस्था के हुन्छ त्यसले बजारमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।"
ब्याजदर घटेको अवस्थामा कर्जा लिने पनि उत्तिकै बढेका छन्। गत वर्षको तुलनामा यस वर्ष कर्जाको बृद्धिदर २० प्रतिशतभन्दा बढी रहेको बैंकरहरु बताउदै आएका छन्। पछिल्लो केहि महिनायता बैंकहरुको कर्जाको बृद्धिदर ह्वातै बढेको छ। अहिले कर्जाको भन्दा निक्षेपको बृद्धिदर कम रहेका कारण तरलता फेरी संकट आउन सक्ने डर रहेकोले सावधान हुनुपर्ने भट्टराइ बताउछन्।
"अहिलेको हिसाबले हेर्दा आधार दर र ब्याजदर घट्दै गएको छ तर सँगसँगै बैंकहरुको कर्जा लगानी पनि बढ्दै गइरहेको छ। यसले गर्दा तरलताको अवस्था कस्तो भन्ने कुरा चाँही शंकास्पद छ" उनले भने।
केन्द्रिय बैंकको अनुसार अहिले बैंकिङ्ग प्रणलीमा ७९ अर्ब रुपैयाँ मात्रै तरलता रहेको छ। यसमा केन्द्रिय बैंकले विभिन्न उपकरणमार्फत १ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेर राखेको छ। पछिल्लाे समय कर्जा लगानी बढ्न थालेपनि बैंकिङ्ग प्रणलीमा रहेको अधिक तरलता केहि कम हुँदै गएको केन्द्रिय बैंकका प्रबक्ता गुणाकर भट्ट बताउछन्।
"राष्ट्र बैंकले १ खर्ब तरलता प्रशाेचन गरेर पनि राखेकाे छ। कर्जा लगानी बढ्न थालेसँगै बैंकिङ्ग प्रणलीमा रहेको अधिक तरलता पनि केहि कम हुँदै गएको छ," उनले भने "कर्जा लागानी बढ्दै जाँदा आगामी दिनमा तरलता अझै केहि घट्ने सक्छ।"
- हेरौ विगत साढे ४ वर्षमा बेस रेट र नेप्से इन्डेक्सको सम्बन्ध
विगत साढे ४ वर्षको नेप्से सूचक र आधार दरको तथ्याँकलाई हेर्दा आधार दर कम हुँदा नेप्से सूचक माथि गएको देखिन्छ। साढे ४ वर्ष अघि नेप्सेले त्यो बेलासम्मकै उच्च विन्दु १८८१ चुमेको थियो त्यतिबेला बैंकहरुको आधार दर निकै तल्लो विन्दुमा रहेको थियो। जब आधार दर बढ्न थाल्यो नेप्से सूचक विस्तारै ओरोलो लाग्न थालेको तथ्याँकले देखाउछ।
२०७३/७४ को पहिलो त्रैमासमा ६.४० प्रतिशत रहेको बैंकहरुको आधार दर विस्तारै बढेर औसतमा १०.४५ विन्दुसम्म पुगेको थियो। आधार दर बढ्न थालेसँगै नेप्से सूचक पनि १७४५.७४ को विन्दुबाट विस्तारै ओरोलो लागेको देखिन्छ। तर आर्थिक वर्ष ७५।७६ मा बैंकहरुको आधार दर केही कम भए पनि नेप्से सूचक भने बढ्न सकेको छैन। सो आर्थिक वर्षको अन्तिम तिरबाटै सूचक सामान्य बढ्न थालेको छ।
गत आर्थिक वर्षको अन्यबाट कोरोना भाइरसको कारण जब लगानीका अन्य क्षेत्रहरु साँघुरिए शेयर बजारमा लगानी बढ्न थाल्यो। बैंकहरुले पनि कर्जाको माग कम भएपछि ब्याजदर घटाउदै लगे जसको प्रभाव शेयर बजारमा देखियो र नेप्सेले नयाँ रेकर्ड कायम गर्दै अघि बढ्न थाल्यो।
बैंकहरुको आधार दर कम भएको अवस्थामा नेप्से सूचक उच्च विन्दुमा पुगेको देखिन्छ। अहिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंकहरुको आधार दर घट्दो क्रममा नै देखिएको छ। अहिले बैंकहरुको आधार औसतमा ७ प्रतिशतको हाराहारीमा झरेको छ। अहिले आधार दर र ब्याजदर कम भए पनि आगामी दिनमा यसको अवस्था कस्तो रहन्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने विश्लेषक भट्टराइ बताउछन्।
अहिले त आधार दर पनि तल छ ब्याजदर पनि तल छ तर यो निरन्तरता कति रहन्छ भन्नेमा चाँही चनाखो हुनुपर्छ। भट्टराइले भने आधार दर भनेको त गत महिनासम्मको तथ्याँक हो। पुस यताको तथ्याँक त्यसमा छैन्। दुई महिनापछि तरलताको कारण ब्याजदर के हुन्छ त्यसले असर गर्छ त्यसमा पनि ध्यान दिनुपर्छ।
अहिले बैंकहरुको कर्जाको बृद्धिदर बढेकोले आगामी दिनमा तरलता र बैंकहरुको ब्याजदर यहि अवस्थामा नरहन सक्ने उनको भनाइ छ। आगामी दिनमा तरलता केही कम हुनसक्ने देखिएको भट्टराइले बताए।
आधार दर कर्जाको ब्याजदर निर्धारणको लागि प्रयोग हुने प्रमुख सूचक हो । आधार दरमा केहि प्रतिशत प्रिमियम थप गरी बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन।
बैंकहरुले कोषको लागत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत, सञ्चालन लागत प्रतिशत र सम्पत्तिमा प्रतिफल प्रतिशत जोडेर आधार दर गणना गर्नुपर्ने केन्द्रीय बैकको नियम छ। यो जोड्दा बैकहरुले पछिल्लो समय प्रकाशित गरेको वित्तीय विवरण तथा तथ्याँकलाई आधार लिई गणना गर्नुपर्छ। माथि उल्लेखित दरहरूको समेत गणना विधि केन्द्रीय बैकले तोकिदिए अनुसार नै गर्नुपर्छ।
आधार दर बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ । आधार दर कर्जाको वास्तविक ब्याजदर भने होइन । केन्द्रीय बैकले तोकेको बाहेक बैंकहरुले आधार दर भन्दा तल गएर कर्जा दिन पाउदैनन्। यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । आधार दर गणना गर्दा ब्याजदरलाई प्रभाव पार्ने तत्वहरुलाई समावेश गरिन्छ ।
बैंकहरुले आधार दरमा थप्ने प्रिमियम दर कर्जाको प्रकृति अनुसार फरक हुन सक्छ भने बैंकपिच्छे प्रिमियम दर छुट्टा छुट्टै हुन सक्छ। उनीहरूले कर्जाको प्रकृति अनुसार प्रिमियम दर तय गर्ने गरेका छन्।