धितोपत्रको बिक्री गरिसकेपछि लगानीकर्ताहरुले आफुले बिक्री गरेको धितोपत्रको भारित औसत लागत गणना गर्ने र विक्री गरेको धितोपत्र कारोवार भएको दिन बाहेक थप एक कार्यदिनमा कार्यालय समय भित्र सम्बधित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्तरण गर्न आग्रह गरेको हो। एशोसिएसनले डिआइएस प्रयोग गर्नेले निक्षेप सदस्यलाई भौतिक डिआइएस हस्तान्तरण गरी सम्बन्धित दलाल व्यवसायीलाई भारित औसत लागत घोषणा फारम भरी बुझाउन र मेरो शेयरको प्रयोग गरी इडिआइएस मार्फत व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्तरण गर्न आग्रह गरेको छ।
धितोपत्र विक्री गरेको भाेलीपल्ट १२ बजे भित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्तरण नभएमा धितोपत्र संख्याको बिक्री रकमको २० प्रतिशत रकम कोलोज आउटमा जाने र सो बराबरको बिक्री रकमको २० प्रतिशत रकम जरिवाना स्वरुप सम्बन्धित बिक्री गर्ने लगानीकर्ताको खाताबाट कट्टी हुने कानूनी व्यवस्था रहेको एशोसिएसनले जनाएको छ। बाँकी कारोबार राफसाफ पश्चात यथाशीघ्र विक्री रकम लगानीकर्ताको खातामा जम्मा गर्ने दायित्व धितोपत्र व्यवसायीको हुनेछ।
त्यसैगरी धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफुले खरिद गर्ने कुल अनुमानित रकमको धितोपत्र व्यवसायीले तोकेको प्रतिशतले हुन आउने रकम खरिद आदेश राख्नु पूर्व विध्युतीय माध्यमबाट अग्रीम रुपमा भुक्तानी गर्नु पर्ने छ । कारोवार भए पश्चात बाँकी रहेको रकम टि प्लस वान भित्र अनिवार्य रुपमा विध्युतीय माध्यमबाट भुक्तानी गनुपर्ने छ । साथै समयमा खरिद रकम भुक्तानी नगरेमा खरीद गरेको धितोपत्र नेप्से तथा सिडियस एण्ड क्लियरिङ्गं लिमिटेडलाई जानकारी गराई विक्री गरी व्यवसायीले आफ्नो रकम असुल उपर गर्न सक्ने एशोसिशएसनले जनाएको छ। सो समय अवधि भित्र व्यवसायीले बहन गर्नु पर्ने थप लागत पनि सम्बन्धित लगानीकर्ताबाट असुल उपर गर्न सक्ने कानुनी व्यवस्था रहेको समेत विज्ञप्तिमा उल्लेख छ।
एशोशियसनले समयमा नै आफ्नो दायित्व पुरा गरी टि प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनमा सहयोग गर्न लगानीकर्तालाई आग्रह गरेको हो।
टि प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनले हाम्रो बजार अन्तराष्ट्रियस्तरको यात्रामा थप अघि बढ्ने धितोपत्र बजारमा थप तरलता वृद्धि हुने, बजारको उतार चढावबाट लगानीकर्ताले थप लाभ लिन सक्ने र सबैमा थप उत्साह र उर्जा मिल्ने एशोसिएसनकाे भनाइ छ।
हाल दोस्रो बजारमा उपलब्ध पूर्वाधारहरु पूर्ण र स्वचालित भई नसकेको अवस्थामा कारोबार गर्दा टि प्लस टु राफसाफ चक्रमा नै धितोपत्र दलाल व्यवसायीले ठूलो आर्थिक जोखिम मोलिरहेको एशोसिएसनले जनाएको छ। टि प्लस टु राफसाफ चक्रमा जाँदा यस्तो जोखिम गुणात्मक रुपमा वृद्धि हुने उसको भनाइ छ।
बजारको विकास र विस्तारको लागि जोखिमको व्यवस्थापनको लागि आवश्यक पर्ने ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना,अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ्ग एण्ड बरोइङ मार्केटको संचालन, पावर अफ एर्टनि,अटो इडिआइएसको व्यवस्था सम्बन्धित निकायले चाडै नै गर्नुपर्ने एशोशियसनको माग छ।