कुमारी बैंकको नाफा १ अर्ब नाघ्यो, ईपीएस कति?

Jan 25, 2021 07:59 AM Merolagani

कुमारी बैंक लिमिटेड (KBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले १ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ अर्थात ५१.४९ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ। बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद व्यापार आम्दानी १३ करोड ७३ लाख रुपैयाँबाट बढेर १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४ करोड ६ लाख रुपैयाँबाट बढेर १८ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको ४ करोड १६ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ। जसका कारण सञ्चालन मुनाफा बढ्न पुगेको हो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी बढेपनि खुद नाफा उल्लेख्य बढदा प्रतिशेयर आम्दानीमा सुधार देखिएको हो।

पुस मसान्तसम्ममा १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६८ करोड ५१ लाख रुपैयाँ र शेयर प्रिमियममा ८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड हुँदा जगेडा कोषमा २ अर्ब ८५ करोड, रिटेन्ड अर्निङ्गमा १ अर्ब ३१ करोड र शेयर प्रिमियममा ५७ करोड १६ लाख रुपैयाँ सञ्चित थियो।

सो अवधिसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेपबाट १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

पुस मसान्तसम्ममा ६३ करोड ७५ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.१९ गुणा रहेको छ।

बैंकको निष्क्रिय कर्जा १.०६ प्रतिशत रहेको छ भने बेस रेट ७.९२ प्रतिशत र स्प्रेड रेट ३.५८ प्रतिशत रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।