करिव साढे ५ महिनाअघि प्रतिकित्ता १३० देखि १५० रुपैयाँ नजिक रहेका हाइड्रोपावर कम्पनीको शेयर मूल्य अहिले ३ सयदेखि ४ सय रुपैयाँ नजिक पुगेको छ । यो बीचमा दोब्बर भन्दा बढीले बढेका हाइड्रोपावर कम्पनीको शेयर मूल्य अहिले थकाइ मार्दै उकालाे चढ्ने सुरसारमा देखिन्छन् ।
बहुचर्चित १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको कुरा गर्ने हो भने गत भदौ १ गते प्रतिकित्ता १४७ रुपैयाँमा कारोबार भएको थियो । अहिले उक्त हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४०० रुपैयाँ पुगेको छ ।
साढे ५ महिनाको बीचमा उक्त हाइड्रोपावर कम्पनीका लगानीकर्ताले एक कित्ता शेयरमा ३५३ रुपैयाँ नाफा गरिसकेका छन् ।
रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले मात्र होइन्, सान्जेन हाइड्रोपावर कम्पनीका शेयर लगानीकर्ताले पनि उच्च नाफा कमाएका छन् । रसुवागढी जस्तै सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले पनि साढे पाँच महिनामा करिव २०० रुपैयाँ नाफा गरिसकेका छन् ।
गत भदौं १ गते सान्जेन जलविद्युत कम्पनीको शेयर प्रतिकित्ता १३४ रुपैयाँमा कारोबार भएको थियो । अहिले उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३३७ रुपैयाँ पुगेको छ ।
गत भदौंपछि घोडाको रफ्तारमा दौडिरहेको हाइड्रोपावरको शेयर मूल्य अहिले भने थकाइ मार्न थालेको छ । केही दिनपछि फेरी दौडिन थाल्ने अनुमान लगानीकर्ताले गरेका छन् ।
नेप्सेमा सूचीकृत बैंकिङ, व्यापारिक, माइक्रोफाइनान्सलगायतका समूहमा सुधार आउदा नेप्से बढेर २४४० अंकमा पुगेको छ । तर पछिल्लो समय हाइड्रोपावर समूहको उपसूचकमा भने खासै सुधार आउन सकेको छैन् ।
बत्ती बाल्ने टुंगो नभएका आयोजनाको शेयर मूल्य उकालो मात्र लागेर पनि त भएन् । बत्ती बाल्ने समय नजिकिदै जादा शेयर मूल्य बढनुलाई स्वभाविकै रुपमा लिन सकिन्छ । तर आयोजनाबाट बत्ती बाल्ने कहिले हो कहिले शेयर मूल्य उचाइमा पुग्ने अहिले पनि त गर्न भएन् ?
शेयर मूल्य आकासिएका रसुवागढी र सान्जेनबाट बिजुली उत्पादन हुन अझै करिव एक वर्ष भन्दा बढी लाग्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरण मातहत निर्माण भएका ती आयोजनाको काम सक्न अझै एक वर्ष लाग्ने सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘यो वर्ष रसुवागढी र सान्जेन आयोजनाबाट बिजुली जोडिदैनन्,’ उनले भने, ‘अर्कोवर्ष फागुन चैतमा यी आयोजनाबाट बिजुली आउने सम्भावना छ ।’
चीनीयाँ ठेकेदार कम्पनीले बनाएका यी आयोजना द्रुर्त रुपमा अगाडि बढन सकेका छैनन् । कोरोना भाइरसका कारण चीनीयाँ ठेकेदारहरु चीन फर्किएकाले पनि आयोजनाको काम अगाडि बढन समय लागेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले बताए ।
‘चिनीयाँ कामदारहरु कोभिडको खोप लगाएर आउँदैछन् । भारतीयहरु कामदार भएको ठाउँमा कामहरु अलिकति अगाडि बढेको छ चीनीयाँ ठेकदार भएकोमा अलिकति पछाडि परेको छ,’ उनले भने, ‘सान्जेन र सुवागढीका सामानहरु कोभिडका कारणले खासा केरुङमा अडकिएका छन् । त्यहाबाट ठेकेदारले सान्जेनको सामानहरु ल्याउँदै छ । रसुवागढी हकमा चीनबाट काम गर्ने मानिसहरु आउँदै छन् ।’
कोरोना भाइरसका कारण रसुवागढी र सान्जेन आयोजनाको काम अगाडि बढेको छैन् । तर शेयर मूल्य आकासिएपछि थकाइ मार्न थालेको हो । आयोजनाको काम अगाडि बढेसँगै ती कम्पनीको शेयर मूल्यले पनि गति लिने लगानीकर्ताको भनाइ छ ।
गत भदौपछि अन्य समूहका कम्पनी जस्तै हाइड्रोपावर समूह कम्पनीको शेयर मूल्य बढ्नुका कारण बैंकको सस्तो ब्याजलाई लिने गरिन्छ । कोरोना भाइरसको संक्रमण अघि अर्थात गत फागुन भन्दा अघि १३ देखि १४ प्रतिशतसम्म ब्याजदरमा हाइड्रोपावरमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले अहिले घटाएर ९ देखि १० प्रतिशत ब्याजदरमा ऋण दिइरहेका छन । हाइड्रोपावरमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले पुरानो ऋणको ब्याजदर घटाएकाले शेयर मूल्य बढेको हो ।
बैंकको ब्याजदर घट्दा हाइड्रोपावरले लाभांश दिने क्षमता बढ्ने भएकाले पनि हाइड्रो पावरको शेयर मूल्य बढ्न पुगेको ब्रोकरहरुको भनाइ छ । ३ अर्बको ऋणमा ४ प्रतिशत बैंकको ब्याज घट्यो भने १२ करोड रुपैयाँ बच्ने भयो । त्यो भनेको १ अर्बमा १२ प्रतिशत लाभांश बढ्न पुग्यो ।
पहिला १० प्रतिशत लाभांश दिन सक्ने क्षमता हाइड्रोपावर कम्पनीको थियो भने बैंकको ब्याज घटेका कारण २२ प्रतिशत लाभांश दिन सक्ने क्षमता पुग्ने भयो । त्यो भएको हुनाले हाइड्रोपावर कम्पनीको शेयर अकर्षक बन्न पुगेको ब्रोकरको भनाइ छ ।
ब्याजदर घटाएका कारण अर्को वर्ष आकर्षक लाभांश दिने सम्भावना बढेका कारण हाइड्रोपावर कम्पनीको शेयर मूल्य बढ्न पुगेको हो । केही महिनाअघि १०० रुपैयाँ भन्दा तल शेयर मूल्य भएका हाइड्रोपावर कम्पनीहरुको मूल्य अहिले २०० रुपैयाँ भन्दा माथि पुगेकाे छ ।