५ महिनामा सवा ४ लाख नयाँ लगानीकर्ता दोस्रो बजार पसे,नयाँ लगानीकर्ताको प्रवेशले शेयर कारोबारमा उछाल

Jan 26, 2021 04:29 PM Merolagani

सुवास निरौला

दैनिक शेयर बजार बढेसँगै दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताको भीड बढ्न थालेको छ। गएको पाँच महिनामै दोस्रो बजारमा सवा चार लाख लगानीकर्ता प्रवेश गरेका छन्। उनीहरूको प्रवेशसँगै दोस्रो बजारमा लगानीकर्ताको भीड बढेको देखिएको हो।

दोस्रो बजारमा नयाँ लगानीकर्ताको भीड बढेसँगै शेयर किनबेचमा ठूलो उछाल देखिन थालेको छ। जसले दैनिक कारोबार बढाउन टेवा पुर्याउदै गएको छ। दैनिक बढेको कारोबारले कारोबार रकममा नयाँ रेकर्ड बन्दै गएको छ। नयाँ लगानीकर्ताको प्रवेशले दैनिक कारोबारी समेत भारी मात्रामा बढेका छन्।     

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सोमबारसम्म दोस्रो बजारमा सात लाख आठ हजार लगानीकर्ता शेयर कारोबारका लागि आबद्ध भएका छन्। गत भदौमा नेप्सेमा आबद्ध हुने लगानीकर्ताको सङ्ख्या दुई लाख ८७ हजार मात्रै थियो। यो भनेको गत भदौको तुलनामा २४६.७४ प्रतिशत वृद्धि हो।

दोस्रो बजारमा लगानीकर्ताको भीड बढ्दै गएको देखिए पनि धेरै लगानीकर्ता भने अझै अनलाइनमा आबद्ध भएका छैनन्। आधा भन्दा बढी लगानीकर्ताले अझै पनि ब्रोकरकै सहयोगमा काम गरिरहेको नेप्सेले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ। नेप्सेका अनुसार दोस्रो बजारमा आबद्ध भएका सात लाख आठ हजार लगानीकर्तामा चार लाख २८ हजार लगानीकर्ता अफलाइन कारोबार गर्छन् भने दुई लाख ७९ हजार लगानीकर्ता मात्रै अनलाइनबाट शेयर किनबेच गर्छन्। यो भनेको अझै ६०.१५ प्रतिशत लगानीकर्ताले शेयर खरिद बिक्री गर्न ब्रोकर कम्पनीकै सहयोग लिने गरेका छन्।

नयाँ लगानीकर्ताको प्रवेशले दैनिक कारोबारी समेत बढाएको छ। वर्ष दिन अघि सम्म दोस्रो बजारमा आबद्ध भएका पाँच प्रतिशत पनि लगानीकर्ता दैनिक कारोबारमा सहभागी हुँदैन थिए। तर यति बेला दैनिक कारोबारमा सहभागी हुने लगानीकर्तामा समेत ह्वात्तै बढेका छन्। यति बेला नेप्सेमा आबद्ध लगानीकर्ता मध्ये २०.४२ प्रतिशत लगानीकर्ता दैनिक कारोबारमा सहभागी हुन थालेका छन्।

गत वर्ष सम्म चलेका ब्रोकर कम्पनीमा समेत दैनिक कारोबार गर्ने लगानीकर्ता तीन हजार भन्दा बढी नाघ्दैन थिए। तर यति बेला चलेका ब्रोकर कम्पनीबाट दैनिक १० हजार लगानीकर्ताले औसतमा कारोबार गर्न थालेका छन्।

दैनिक कारोबार गर्ने सबैभन्दा बढी लगानीकर्ता नासा सेक्युरिटिजका छन्। दैनिक सात हजार तीन सय ९८ लगानीकर्ताले नासा मार्फत दोस्रो बजारमा कारोबार गर्छन्। नासा मार्फत दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता ३७ हजार ३३४ छन्। तर कारोबार गर्न आबद्ध लगानीकर्तामा दैनिक कारोबार गर्ने लगानीकर्ता भने जम्मा जम्मी १९.८१ प्रतिशत मात्रै हुन्।

लगानीकर्तालाई दैनिक कारोबारमा सहभागी गराउने दोस्रो नम्बरमा शनि सेक्युरिटिज छ। उक्त कम्पनी मार्फत दैनिक ६ हजार ६ सय ७४ लगानीकर्ताले कारोबार गर्छन्। उसका ३२ हजार १६५ लगानीकर्ता छन्।

सबैभन्दा कम कारोबार गर्ने लगानीकर्ता ब्रोकर नम्बर ५० का छन्। उसका आठ हजार ६१ लगानीकर्ता छन्। जसमा दैनिक ६९७ लगानीकर्ताले कारोबार गर्छन्।  

नयाँ लगानीकर्ता बढेसँगै दोस्रो बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ता बढेका हुन्। दैनिक कारोबार गर्ने लगानीकर्ता बढे सँगै दोस्रो बजारमा कारोबार समेत बढेको छ। नेप्सेमा एकै दिन ८३ हजार कारोबार भएको रेकर्ड बनिसकेको छ। पछिल्लो समय औसत दैनिक कारोबार ५० हजार भन्दा बढी हुन थालेको नेप्सेले जनाएको छ।

दैनिक कारोबार बढे सँगै कारोबार रकममा पनि नयाँ नयाँ रेकर्ड बन्न थालेका छन् । पछिल्लो समय मात्रै ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार गर्नै नेप्सेले कारोबार रकममा नयाँ रेकर्ड बनाएको हो। गएको एक महिनामा दैनिक औसत कारोबार रकम साढे ६ अर्ब रुपैयाँ नाघेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।