आइतबार नेप्से सूचक २१ अंकले घटेर २५०० विन्दु भन्दा तल झर्याे। शेयर बजारमा देखिने तिव्र उतारचढावसंगै बजारलाई सन्तुलित राख्ने उद्देश्यले स्थापना भएको नागरिक स्टक डिलरले के गरिरहेको छ? भन्ने सबैको चासोको विषय बनेको छ। स्टक डिलरले बजार प्रवेशको लागि नेपाल धितोपत्र बोर्ड र नेप्सेबाट अनुमति समेत पाईसकेको छ। तर, यस्ताे तिव्र उतारचढावमा स्टक डिलरकाे उपस्थितिबारे लगानीकर्ताहरूले चासाे लिन थालेका छन्।
तर, बजारलाई सन्तुलित राख्नुपर्ने भुमिकामा तत्काल नरहेको नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठको भनाई छ। ‘अहिलेसम्म स्टक डिलरको रुपमा हामी बजार प्रवेश गरेका छैनौं। तर,हामीसंग भएको रिर्सोसलाई लगानीको माध्यमबाट पारिचालित गर्न केहि कम्पनीको शेयरमा मात्रै लगानी गरिरहेका छौं,’ उनले भने।
नेपाल धितापत्र बोर्ड र नेप्सेबाट अनुमति पाईसकेपनि कारोबारको लागि सिडिएसीबाट अनुमति पाउने तयारी अन्तिम चरणमा रहेको पनि उनले मेरोलगानीलाई जानकारी गराए। अब छिटै स्टक डिलरको रुपमा बजार प्रवेश गर्ने तयारी भइरहेको उनको भनाई छ।
स्टक डिलर औपचारिक रुपमा बजार प्रवेश गरेपछि शेयर बजारमा हुने अस्वभाविक उतारचढाव सन्तुलित हुने लगानीकर्ताहरुको विश्वास छ। केही लगानीकर्ताहरुले स्टक डिलरको औपचारिक प्रवेश भएपछि शेयर बजार अब बुलिश ट्रेण्डमा जाने दाबी समेत गर्दै आएका छन्।
धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी २०७६ फागुन १ गतेदेखि लागु हुने गरी धितोपत्र व्यवसायी नियमावली,२०६४ मा संशोधन गरेको थियो।
त्यस अनुसार नेपालको पूँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन नागरिक स्टक डिलरलाई धितोपत्र व्यापारीको काम गन बोर्डले माघ ९ गते अनुमति दिएको थियो।
नेपालको पूँजीबजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजीबजारमा गतिशीलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने समेत बोर्डको विश्वास छ।
नागरिक लगानी कोषको सहायक कम्पनीको रूपमा स्थापना भएको स्टक डिलरको चुक्ता पूँजी ३ अर्ब ५० करोड, जारी पूँजी ५ अर्ब र अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ। चुक्ता पूँजीको ७० प्रतिशत संस्थापक शेयर रहेको छ। त्यसमा कोषको ५१ प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत शेयर स्वामित्व छ।
बाँकी रहने ३० प्रतिशतको सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नेछ। एक अर्ब ५५ करोड बराबरको आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्नेछ।