१० वर्षदेखि कोमामा रहेको फ्ल्याेर हिमालयन बौरिदै, दोस्रो बजारको कारोबार खुलाउने अन्तिम तयारी

Mar 04, 2021 07:51 AM Merolagani

सुवास निरौला

विगत १० वर्षदेखि कारोबार रोकिएर कोमामा गएको कम्पनी बौरिने भएको छ। बिरगंजस्थित मुख्य कार्यालय रहेको फ्ल्याेर हिमालयन लिमिटेड (FHL) सूचीकरण नविकरण गर्दै बौरिन लागेको हो।

कम्पनीले सूचीकरण मात्रै नविकरण गर्न लागेको होइन, उसले शेयर रजिष्ट्रार समेत नियुक्त गरिसकेको छ।  दोस्रो बजारमा कारोबार सुचारु गराउनुको साथै हकप्रद निष्काशनका लागि कम्पनीले शेयर रजिष्ट्रार समेत नियुक्त गरेको हो। उसले लक्ष्मी क्यापिटललाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ। "दोस्रो बजारमा कारोबार खुलाउने प्रक्रिया अघि बढाएका छौँ। त्यसको लागि लक्ष्मी क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको छ," सिनियर फाइनान्स म्यानेजर राजु खत्रीले मेरोलगानीसँग भने।

दोस्रो बजारमा कारोबार सुचारु गर्ने प्रक्रिया क्यापिटलले शुरु गरिसकेको छ। उसले कम्पनीले सूचीकरण गरे बापत नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई बुझाउनु पर्ने बक्यौता रकम सबै बुझाएको छ। कम्पनीले गत साता मात्रै नेप्सेलाइ बुझाउनु पर्ने सबै रकम बुझाएको नेप्सेका एक अधिकारीले भने। कम्पनीले आर्थिक वर्ष २०६७/६८ देखि नै सूचीकरण शुल्क बुझाउन बाँकि थियो। जुन सबै रकम चुक्ता हुने गरि बुझाएको ति अधिकारिले जानकारी दिए। कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको बुझाउनु पर्ने सबै रकम चुक्ता गरेको हो।

उसले सूचीकरण बापत बुझाउनु पर्ने सबै रकम बुझाएपनि कारोबार भने अझै खुलेको छैन। कम्पनीले बुझाउनु पर्ने सबै रकम बुझाएको भएपनि उसले नेप्सेलाई नियमित रुपमा बुझाउनु पर्ने कागजपत्र भने अझै बुझाएको छैन। जसले गर्दा पनि कम्पनीको दोस्रो बजारमा कारोबार सूचारु नभएको ति अधिकारीको भनाइ छ। कम्पनीलाइ उसको प्रबन्धपत्र नियमावलीदेखि पछिल्लो समयका सबै वित्तीय विवरण पेश गर्न नेप्सेले भनेको छ। ती सबै कागजपत्र बुझाएपछि कारोबार सुचारु हुने ति अधिकारीले बताए।

यता कम्पनी विगत दुई आर्थिक वर्षदेखि नाफामै गएको भएपनि कम्पनीले गत आर्थिक वर्षको लेखा परीक्षण हुने क्रममा रहेको छ। उसले लेखापरीक्षण गराए लगत्तै नेप्सेले भनेका सबै कागजपत्र बुझाएर कारोबार खोल्ने तयारी भइरहेको खत्रीको भनाइ छ। गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन कम्पनीसँग सुरक्षित रहेको खत्रीको दाबी छ। विगत १० वर्षदेखि दोस्रो बजारमा कम्पनीको कारोबार रोकिएको भएपनि कम्पनी भने कहिले पनि बन्द नभएको खत्रीको दाबी छ। उसले वार्षिक रुपमा गर्नु पर्ने सबै काम र हिसाब किताब भने दुरुस्तै राखेको बताइएको छ।

विगतका वर्षहरुमा भने कम्पनीको आर्थिक अवस्था त्यति राम्रो थिएन। कम्पनी घाटामा रहेको कारण पनि कम्पनी समस्यामा परेको थियो। तर कम्पनीले भने विगतका समस्यालाइ समाधान गरिसकेको बताएको छ। उसले समस्या निराकरण भएकै कारण विगत दुइ/तीन वर्षदेखि नाफामा समेत गएको खत्रीको दाबी छ।

कम्पनीले दोस्रो बजारको कारोबार खुलाउने प्रक्रिया अघि बढाउँदै गर्दा उसले आगामी चैतमा साधारण सभा समेत डाकेको छ। कम्पनीले २०७७ चैत्र ६ गते आफ्नो २५ औँ वार्षिक साधारणसभा गर्दैछ। उसले ललितपुरकाे एनपिएल हाउसमा अवस्थित आफ्नै कार्यालय भवनमा सधारण सभा गर्ने जनाएको छ। कम्पनीले जुम मार्फत उक्त साधारण सभा गर्ने सूचनामा भनेको छ। उक्त साधारण सभाका लागि कम्पनीले फागुन २० देखि चैत २५ सम्म बुक क्लोज गर्ने जनाएको छ।

कम्पनीले आगामी साधारण सभामा विशेष प्रस्तावका रुपमा लक्ष्मी बैंकबाट आठ करोड रुपैयाँ ऋण लिने प्रस्ताव लैजाने भएको छ। उक्त ऋण लिनको लागि कम्पनीले आफ्नै प्रबन्ध संचालक अजय बहादुर प्रधानाङगको नाममा रहेको काठमाण्डौ वडा नम्बर २५ मा रहेको ०-२-०-२ क्षेत्रफलको जग्गा धितोमा दिने प्रस्ताव गर्दैछ। कम्पनीले अर्को विशेष प्रस्तावमा ५०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गर्दैछ। यस अघिकै साधारण सभाले गरेको उक्त प्रस्ताव पुन: पारित गर्न लागेको हो।

कम्पनीले हकप्रदबाट चुक्ता पूँजी बढाउदैछ भने उता ऋण समेत लिएर कम्पनीलाई सशक्त रुपमा अघि बढाउन खोजेको छ। हकप्रद र ऋणका लागि पनि कम्पनीले दोस्रो बजारको कारोबार खुलाउनै पर्ने बाध्यता छ। सोही कारण पनि उसले दोस्रो बजारको कारोबार खुलाउने प्रक्रिया अघि बढाएको हो।

कम्पनीले २०६४ सालमा प्राथमिक शेयर निष्काशन गरेको थियो। कम्पनीको २०६४ साउन १३ गते नेप्सेमा शेयर सूचीकृत भएका थिए। २०६४ देखि शुरु भएको कारोबार भने चार वर्ष पनि नपुग्दै बन्द भएको थियो। २०६८ यता उसको दोस्रो बजारको कारोबार नेप्सेले रोकेको हो।

कारोबार बन्द हुनु अघि यसको अन्तिम कारोबार मूल्य ७५ रुपैयाँ थियो। कारोबार सुचारु भएपछि भने अहिलेको अवस्था हेरर कम्पनीको दोस्रो बजारको नयाँ कारोबार मूल्य तय हुनेछ। बन्द भए यताको नयाँ कारोबारको लागि नेप्सेले पुन: नयाँ रेञ्ज तोक्नेछ। तर, कम्पनीको वित्तीय विवरण नआइसकेकोले नयाँ मूल्य कति हुन्छ? अहिले नै भन्न नसकिने ती अधिकारिले बताए। कति मूल्यबाट शेयर कारोबार सुचारु गर्ने? भन्ने निर्णय भने उसको वासलात हेरेपछि मात्रै तय हुने नेप्सेको भनाइ छ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम १५ मा मूल्य परिवर्तन सीमा सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाको (१) (ग)मा "लगातार ६० दिनसम्म कारोबार नभएमा धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने शुरु मूल्य" उल्लेख छ। सोही नियमावलीले यसको स्पष्टीकरण दिँदै दफा १५ को (२) मा "उपनियम (१)मा जुनसुकै कारण लेखिएको भए तापनि सूचीकृत संगठित संस्थाले धितोपत्रको दाखिला खारेज बन्द गरेको अवस्थामा त्यस्तो दाखिला खारेज बन्द भएपछि हुने शुरु कारोबार र साठी दिनभन्दा बढी अवधिदेखि कुनै कारोबार नभएको सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको कारोबारको हकमा धितोपत्र बजारले मूल्य परिवर्तन सीमा सम्बन्धमा फरक व्यवस्था गर्न सकिने छ" भनिएको छ। सोही नियम बमोजिम उसले कारोबारको लागि नयाँ मूल्य पाउनेछ। 

नेप्सेमा कम्पनीका दुई लाख ६२ हजार एक सय दुई कित्ता शेयर सूचीकृत छन्। सूचीकृत शेयरमा संस्थापक तर्फको एक लाख ५७ हजार एक सय ६२ कित्ता शेयर छन् भने सर्वसाधारणको एक लाख चार हजार ८४० कित्ता शेयर छन्। कम्पनीमा ६० प्रतिशत हिस्सा संस्थापकको छ भने ४० प्रतिशत हिस्सा सर्वसाधारणकाे छ। तर, कम्पनीको दोस्रो बजारको कारोबार भने २०६८ यता बन्द छ। २०६८ यता उसलाइ 'सस्पेन्डेड कम्पनी' को रुपमा नेप्सेले सूचीकरणमा राखेको छ। उसको सूचीकरण भने खारेज गरिएको थिएन। सोही कारण कोमाबाट व्यूँतन सक्ने सम्भावना जिवितै रहेको हो।

कम्पनीले बिरगंजस्थित आफ्नो उद्योगबाट हर्बल प्रडक्टहरु उत्पादन गर्दै आएको छ। लामो समयदेखि कम्पनीले बजारमा उत्पादनहरु पठाउने गरेको भएपनि कम्पनीका उत्पादनले खासै बजार लिन सकेका थिएनन्। तर पछिल्लो समय आयुर्वेद र हर्बल प्रडक्टमा सर्वसाधारणको आकर्षण बढ्दै गएपछि कम्पनीका उत्पादनले समेत बजारमा स्थान पाउन थालेका छन्। बजारमा बिस्तारै अघि बढ्दै जान थालेपछि कम्पनी पनि नाफामा जान थालेको खत्रीले बताए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।