नेप्से ९० अंकभन्दा बढी बढ्दा कारोबार रकम ६ अर्बमा सीमित

Mar 04, 2021 03:23 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ। पछिल्ला केही दिन यता ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएपछि लगानीकर्ताहरुमा खुसी छाएको छ।

बिहीबार नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १४.६७ अंक, फ्लोट इण्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५४ अंक बढेको छ।

पछिल्ला कारोबार दिनहरुमा करेक्सन भइरहेको नेप्से, यस दिन उकालो लागेको विश्लेषकहरु बताउँछन्। अहिले नेप्से बुलिश ट्रेण्डमा रहेका कारण पछिल्ला केही दिनहरुको करेक्सनपछि अब बजार पुनः उकालो लागेको उनीहरुको भनाइ छ।

यसका साथै यस दिनको बजार बढाईलाई कतिपय लगानीकर्ताहरुले राजनीतिक कारण पनि दिएका छन्। लामो समयदेखि विपक्षमा रहेको बिप्लव समूहसँगकाे वार्ता सफल भएपछि, त्यसको सकारात्मक प्रभाव बजारमा परेको विश्लेषण पनि यस दिन बजारमा भएको छ।

नेप्से परिसूचक उच्च अंकले उकालो लागेपनि यस दिन कारोबार रकममा भने ६ अर्बमा नै सीमित भएको छ। यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४.७८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिखर इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बिहीबार ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन जम्मा १३ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। जसमध्ये अधिकांश म्युचुअल फण्ड र डिबेञ्चर रहेका छन्।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।