बजारले सकारात्मक दिशा लिन नसक्दा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन्। जसले गर्दा यस दिन बजारमा कारोबार रकममा उल्लेख्य कमी आएको छ। पछिल्लो केही सातामा बजारले स्पष्ट दिशा लिन सकेको छैन जसले गर्दा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थमा पुगेका हुन्। गत बिहीबारको उच्च वृद्धिमा लगानीकर्ताहरुले बजार पुनः फर्किएको विश्लेषण गरेका थिए। तर, यस दिनको गिरावटले लगानीकर्ताहरुको सो विश्लेषणलाई गलत सावित गरेको छ।
यद्यपि, यस दिनको गिरावटलाई लगानीकर्ताहरुले करेक्सन भनेका छन्। अघिल्लो दिनको उच्च वृद्धिको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बजारमा करेक्सन भएको उनीहरुको भनाइ छ।
आइतबार नेप्से परिसूचक २१.५८ अंक घटेर २४८४.०९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.७८ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।
यस दिन बजारमा २११ कम्पनीको ५३ हजार ९७० पटकको कारोबारमा ५ अर्ब ५४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। गत सातासम्म दैनिक औषतमा ६ अर्बको शेयर कारोबार भइरहेको बजारमा यस दिन कारोबा रकम १ अर्बको हाराहारीमा घटेको हो।
बजार ओरालो लागेपनि यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रगिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स र रैराङ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.१४ प्रतिशत बढेको छ।
यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.५२ प्रतिशत घटेको छ। त्यसैगरी, पछिल्लो समय दैनिकजसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनको शेयरमूल्य यस दिन ५ प्रतिशत घटेको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२९ प्रतशित बढेको छ भने जलविद्युत उपसमूहको ०.९२ प्रतिशत बढेको छ।
यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४२ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल बैंक लिमिटेडको ३९ करोड ६९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।