ब्रोकरकाेमा डिस्प्ले बोर्ड हेर्दै कारोबार गरेको समय याद गर्दै उप्रेती भन्छन्, ‘आफूूले शेयर खरिदबिक्री गर्नको लागि हौसला र लगानी गर्नको लागि आवश्यक जानकारी प्राप्त गर्ने स्थान भएकाे थियाे।' डिस्प्ले लगानीकर्ताको लागि एउटा शिक्षण संस्था जस्तै भएको उप्रेती बताउँछन् ।
आजसम्म शेयर खरिदबिक्री गर्नकैलागि प्राविधिक तथा अन्य विश्लेषण बिना नै ब्रोकर कार्यालयमा जम्मा भई साथीभाइहरुसँगको सरसल्लाहमा लगानीको रणनीति बनाएर रमाउने उप्रेतीलाई ब्रोकर कार्यालयमा डिस्प्ले नहुँदा बजारमा सक्रिय रुपमा लगानी गर्न मन नलागेको बताउँछन्।
अनलाईन मार्फत घर बसेर शेयर कारोबार गर्नको लागि सजिलो भएको छ। तर वर्षैदेखि ब्रोकरमा आफ्ना साथीभाईहरुसँग लगानीको रणनीति बनाएर लगानी गर्न बानी परेका लगानीकर्ताहरुलाई घरबाट गरिने कारोबार चटनी बिनाको खाना जस्तै भएको छ। डिस्प्ले नहेरी लगानी गर्नु पेट भर्नको लागि खाना खाएता पनि स्वाद नभए जस्तो भएको अर्का लगानीकर्ता लक्ष्मण श्रेष्ठ बताउँछन्। उनका अनुसार ब्राेकर अफिस नजाँदा लगानीको योजना बनाउन समस्या हुने रहेछ ।
नेप्सेमा सूचीकृत सबै कम्पनीहरुको बारेमा अध्ययन गर्न सम्भव नहुने तर, ब्रोकर कार्यालयमा उपस्थित हुने अन्य लगानीकर्ताहरु मार्फत नयाँ कुराको जानकारी प्राप्त हुने भएकाले पनि ब्रोकरमा डिस्प्ले नखोलिँदा आफूलाई दुःख लाग्ने गरेको उनी बताउँछन्।
शेयर बजारले पछिल्लाे समय २६४० अंकसम्मकाे नयाँ उचाई कायम गरेको छ। नयाँ उचाय कायम गरेर नेप्से अहिले करेक्सन हुने क्रममा रहेको छ। विगतमा बजार बढ्दा ब्रोकर कार्यालयमा डिस्प्ले र्हेनकै लागि लाग्ने भीड हुन्थ्याे भने यस पटक शून्य प्रायः भएको छ। यस अवधिमा लगानीकर्ताहरुले पनि ब्रोकर कार्यालयको डिस्प्ले कक्षलाई सम्झिएका छन्।
विश्व नै आंतकित हुने गरी फैलिएको कोरोना भाईरस नियन्त्रणको लागि भन्दै बन्द गरिएको ब्रोकर कार्यालयमा राखिएको डिस्प्ले बोर्ड अब खोल्नुपर्ने लगानीकर्ताहरुले माग राखेका छन्। कोरोना संक्रमण फैलन नदिन ब्रोकर कार्यालयमा हुने भीडभाड कम गर्नको लागि बन्द गरिएको उक्त डिस्प्ले अब खोल्नुपर्ने लगानीकर्ताहरुको भनाई छ।
नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको न्यूनीकरण गर्न भन्दै ब्रोकर कार्यालयमा रहेकाे उक्त सुविधा बन्द गरेको थियो। तर पछिल्लो समय मुलुक कोरोना संक्रमणको त्रासलाई चिर्दै सामान्य बन्दै गएको छ। सार्वजनिक निकाय, सार्वजनिक यातायात, विश्व विद्यालय र विद्यालयहरु सबै सञ्चालनमा आईसकेको अवस्थामा ब्रोकर कार्यालयको डिस्प्ले कक्ष पनि सञ्चालन गर्नुपर्ने लगानीकर्ताको तर्क छ।
मुलुकको बागडोर सम्हालिरहेको प्रमुख राजनीतिक पार्टीका कार्यकर्ता नै सडक आन्दोलनमा उत्रिएको अवस्थामा ब्रोकर कार्यालयमा भीडभाड हुन्छ भनेर डिस्प्ले कक्ष बन्द गरिनुको कुनै तुक नभएको लगानीकर्ताहरुको तर्क छ।
यो बढ्दो बजारमा आफ्ना साथीहरुसँग जम्मा भएर शेयर बजार र समग्र आर्थिक क्रियाकलापको बारेमा छलफल गर्न नपाउँदा लगानीकर्तालाई मनमा हर्ष आउन सकिरहेको छैन। नियमित कामबाट अवकाश पाएका र नयाँ अनलाईन प्रणालीमा अभ्यस्त नभइसकेका लगानीकर्ताहरुको लागि ब्रोकर कार्यालयको डिस्प्ले कक्ष सुख दुःखको कुरा गर्ने चौतारा जस्तै बनेको थियो। तर,अहिले त्यस्ता लगानीकर्ताहरुको चौतारा बन्द भएको छ, खोसिएको छ।
आफूसँग भएको केहि रकम बजारमा लगानी गर्न इच्छा देखाउने जेष्ठ लगानीकर्ताहरुले ब्रोकर कार्यालयको डिस्प्ले कक्ष खोल्नको लागि पटक पटक अनुरोध गर्ने गरेको ब्रोकर नम्बर ५२ सुन्धारा सेक्यूरिटिजका कार्याकारी अधिकृत फणिन्द्र दाहालले बताए। कार्यालयमा आउने लगानीकर्ताहरुले ब्रोकर मार्फत पाउने सुविधा समेत नपाएको दुखेसो गर्ने गरेको दाहालको भनाई छ।
दाहालले भने,‘लगानीकर्ताहरु ब्रोकर कार्यालयमा बाेलाएर भीड गराउने पक्षमा आफूहरु नभएतापनि अनलाईन कारोबार गर्नको लागि अभ्यस्त नभएका तर बजारमा लगानी गर्न इच्छा भएका लगानीकर्ताहरुको लागि मात्रै पनि डिस्प्ले खोल्नु पर्ने देखिएको छ।’
ब्रोकरको उक्त डिस्प्ले कक्ष बन्द भइ त्यहाँ अहिले अन्य कामहरु हुँदै आएको छ। ब्रोकर कार्यालयमा हुने त्यस्ता कक्षमा बसेर समग्र आर्थिक राजनैतिक छलफल गर्ने समाजको अन्त्य भएको लगानीकर्ताहरुको भनाई छ। कारोबार समयमा ब्रोकरको डिस्प्ले बोर्ड हेर्दै आफ्नो लगानी गर्ने योजना बुन्ने लगानीकर्ताहरुको चौतारा खोसिएको छ।
मुलुकमा आम जीवन विस्तारै सामान्य बन्दै जाँदा ब्रोकर कार्यालयमा डिस्प्ले खोल्नको लागि लगानीकर्ताले अनुरोध गर्ने थालेको ब्रोकरहरुको भनाई छ। ब्रोकरले ग्राहकहरुलाई दिने डिस्प्ले सुविधा पनि खोसिएको लगानीकर्ताहरुले आरोप लाग्ने गरेको ब्रोकर कार्यालयहरुले बताउदै आएका छन्।
अन्य कामकाजमा आवद्धहरुको लागि अनलाईन मार्फत हुने कारोबारले दोस्रो बजारमा लगानी गर्नको लागि अवश्य पनि सहज बनाएको छ। तर, अवकास प्राप्त र उत्पादनमुलक समय बिताउनकै लागि ब्रोकर कार्यालय धाउने लगानीकर्ताको चौतारा अहिले साँच्चिकै खोसिएको छ।
सम्बन्धित सरोकारवाला निकायले ब्रोकरमा गएर कारोबार गर्न इच्छुक लगानीकर्ताको भावनालाई बुझेर डिस्प्ले खोल्नुपर्ने लगानीकर्ताहरुको भनाइ छ।