केन्द्रीय बैकका अनुसार बैकहरुले कर्जा-पूँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ हुनु पर्छ। तर बैंकहरुले उक्त अनुपात ८४.६२ प्रतिशतसम्म पुर्याइ सकेको अवस्था छ। यति बेला बैकहरुले उक्त अनुपात ७८.५४ देखि ८४.६२ सम्म कायम गरेका छन्। ८४.६२ प्रतिशत सिसिडि रेसियो पुर्याएका बैंकहरुलाइ लगानी गर्न मुस्किल हुने छ। तर यस्तो अवस्थामा समेत एक बैंकले बचतको ब्याजदर घटाएको छ।
गत साउनमा एक आपसमा सर सापट गर्दा लाग्ने अन्तर बैंक ब्याजदर शून्य प्रायमा झरेकोमा पछिल्लो समय चार प्रतिशतको हाराहारीमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यति बेला अन्तर बैंक ब्याजदर ३.०७ प्रतिशत पुगेको छ। यो दर दैनिक घट्नुको सट्टा बढ्दो क्रममा देखिएको छ। "यति बेला अन्तर बैंक ब्याजदर ३.०७ प्रतिशत छ। पछिल्ला केही दिन देखि यो लगातार बढ्दो क्रममा देखिएको छ। करिब चार प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गर्न सकिन्छ" केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले भने।
अन्तर बैंक ब्याजदर मात्रै बढेको छैन तरलता समेत दैनिक घट्दो क्रममा देखिएको छ। पछिल्लो समय बैंक वित्तीय संस्थामा लगानी योग्य तरलता ३४ अर्बमा सीमित हुन पुगेको केन्द्रीय बैंकले जनाएको छ। गत साउनमा लगानी योग्य तरलता दुई सय अर्ब रुपैयाँ भन्दा बढी थियो।
लगानी योग्य रकमको अभाव हुँदा हुँदै पनि बैंक वित्तीय संस्थाले भने अन्तर बैंक ब्याजदर मै काम गर्ने निर्णय गरेका छन्। उनीहरूले निक्षेपको ब्याजदर बढाएर रकम सङ्कलन गर्ने बाटो अख्तियार नगरीकन वैशाख महिनाकोलागि उल्टै बचतको ब्याजदर घटाएर भटाभट ब्याजदर प्रकाशित गरेका छन्।
मंगलबार प्रकाशित भएका केहि बैक वित्तीय संस्थाले चैतको बचतको ब्याजदरको तुलनामा बैशाखकालागि ब्याजदर घटाएका छन्। केहिले बढाएका छन् भने केहीले पुरानै व्याजदरलाई निरन्तरता दिएका छन्। जबकि उनीहरूले यस अघि तरलता ४० अर्ब भन्दा कम हुने बित्तिकै व्याज दर बढाउने गरेका थिए।
उनीहरूले ब्याजदर घटाउनुको कारणको रुपमा भने नजिकिँदै गएको चालु आर्थिक वर्ष समाप्तिलाई औँल्याइएको छ। आर्थिक वर्षको समाप्ति नजिकिँदै गर्दा सरकारको खर्च बढ्ने र त्यसैले बजारमा थप तरलता प्रवाह हुने भएकोले अहिलेलाई बैंक वित्तीय संस्थाले अन्तर बैक सापटीबाटै काम चलाउने निर्णय गरेको हुन सक्ने अनुमान केन्द्रीय बैकको छ। "तरलतामा चाप परेको, सिसिडि पनि टाइट भएको र अन्तर बैक ब्याजदर पनि बढेर माथि गएको अवस्थामा निक्षेपको ब्याजदर घटाएर प्रकाशित गर्नु पर्ने कुनै आधार छैनन्। यो प्रक्टिकलि पनि ठिक देखिँदैन। तर वैशाखदेखि नेपाल सरकारले खर्च गर्न थाल्ने छ, बजारमा लिक्विडिटि इन्जेक्ट होला भन्ने फ्युचर एक्सपेक्टेसन राखेर अहिले केही समयलाइ एसएएस लगायतका अरू इन्सटुमेन्टले मेन्टेन गर्ने अनि भविष्यमा आउने डिपोजिटबाट कभर अप गर्छु भन्ने हिसाबले प्रकाशित गरेको हुनु पर्छ" ढकालले भने।
उता नेपाल नबिल बैकका प्रमुख कार्यकारी अधिकृतले अनिल शाहले समेत यही कुरालाइ आधार मानेर घटाएको बताएका छन्। नबिल बैंकले समेत मुद्धति निक्षेपमा दिँदै आएको व्याज घटाएको छ। चैतमा ७.५१ प्रतिशत व्याज दिँदै आएको बैंकले वैशाखकालागि ६.५१मा झारेको छ। शाहका अनुसार आउने दिनमा सरकारको खर्च बढ्ने र त्यसले तरलता सहज हुने भएकोले बैकले निक्षेपको ब्याजदर घटाएको हो।
आउने दिनमा तरलता बढ्छ भन्ने अनुमान त छदै छ त्यसका अतिरिक्त बिस्तारै बढ्दै गएको आर्थिक गतिविधिलाई थप निरन्तरता दिन पनि बैकले ब्याजदर बढाएर बढ्दै गएको लगानीको वातावरणलाई बिथोल्न नचाहेको बताएको छ। कोभिडको असरले बिस्तारै तङ्ग्रिँदै गएको आर्थिक क्रियाकलापमा निक्षेपको ब्याजदर बढ्ने बित्तिकै ऋणको पनि ब्याजदर बढाउनु पर्ने हुन्छ। जुन यति बेलाको व्यवसायी दृष्टिकोणबाट सही नहुने तर्क बैंकको छ।