जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफको अग्रता कायमै, कुन कम्पनी कस्तो ?

May 17, 2021 10:34 AM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले आफ्नो अग्रता कायमै राख्न सफल भएकाे छ। जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये नेपाल लाइफ धेरै अगाडि छ भने अन्य कम्पनीहरुले पछ्याउँदै आइरहेका छन्।

आफ्नो व्यवसायको आकारलाई निरन्तर विस्तार गर्दै नेपाल लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको हो।

चुक्ता पूँजी सबैभन्दा धेरै ७ अर्ब १९ करोड रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत, खुद बीमाशुल्क आर्जन, नाफा, जीवन बीमा कोष, जगेडा कोष लगायतको सूचक अग्रस्थानमा छ।

अधिकांश सूचकमा नेपाल लाइफले 'लिड' गर्दा नेप्सेमा सूचीकृत नयाँ जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफ र प्रभु लाइफ कमजोर देखिएको छ। पुराना कम्पनीहरुको तुलनामा रिलायन्स र प्रभु लाइफ नयाँ भएकोले कमजोर देखिएको हो।

पुराना कम्पनीहरूमा भने गुराँस लाइफ इन्स्योरेन्स कमजोर देखिएको छ। यस कम्पनीको चुक्ता पूँजी पनि सबैभन्दा कम १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ। यस्तै, प्राइम, सुर्या, रिलायन्स लाइफ, एशियन लाइफ, एलआइसी नेपाल र ज्योति लाइफले न्यूनतम २ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी पुर्याएका छन्।

खुद बीमाशुल्क ६६ अर्ब माथि, नेपाल लाइफको मात्रै ३७ प्रतिशत योगदान

नेप्सेमा सूचीकृत १० जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल ६६ अर्ब ३१ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। त्यसमा नेपाल लाइफले मात्रै २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ अर्थात ३७.६३ प्रतिशत योगदान रहेको छ।

यस्तै, एलआइसी नेपालले १३ अर्ब ५९ करोड रुपैयाँ, नेशनल लाइफले ८ अर्ब ६९ करोड, एशियन लाइफले ४ अर्ब ५९ करोड, सूर्या लाइफले ३ अर्ब २३ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ११ करोड रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले ३ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

नेप्सेमा थप तीन नयाँ जीवन बीमा कम्पनीहरुमा सूचीकृत भएका छन्। रिलायन्स लाइफ, प्रभु लाइफ र ज्योति लाइफ नेप्सेमा पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीहरु हुन्। त्यसमध्ये ज्योति लाइफले २ अर्ब २१ करोड, रिलायन्स लाइफले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यस्तै, प्रभु लाइफले सबै भन्दा कम १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

खुद नाफा २ अर्ब माथि, नेपाल लाइफको मात्रै ५० करोड

नेप्सेमा सूचीकृत १० जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जसमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ। नेपाल लाइफले यस अवधिमा ५० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

त्यसपछि, नेशनल लाइफले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस्तै, सूर्या लाइफले २९ करोड १० लाख, प्राइम लाइफले २२ करोड ६३ लाख खुद नाफा कमाएका छन्।

नयाँ सूचीकृत बीमा कम्पनीमा प्रभु लाइफले १३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सबैभन्दा कम रिलायन्स लाइफले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जीवन बीमा कोष र जगेडा कोषमा पनि नेपाल लाइफ मजबुत

जीवन बीमा कोष र जगेडा कोषमा पनि नेपाल लाइफ मजबुत देखिएको छ। जीवन बीमा कोष र जगेडा कोषमा नेपाल लाइफले सबैभन्दा धेरै रकम सञ्चित गरेको छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ र जगेडा कोषमा १ खर्ब १२ करोड रुपैयाँ सञ्चित छ।

यस्तै, नेपाल लाइफपछि जीवन बीमा कोषमा एलआईसी नेपालको सबैभन्दा धेरै ७७ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। जगेडा कोषमा भने नेशनल लाइफको ८१ करोड १७ लाख रुपैयाँ सञ्चित छ।

जीवन बीमा कोषमा सबैभन्दा कम प्रभु लाइफको १ अर्ब ७५ करोड रुपैयाँ मात्रै रहेको छ भने जगेडा कोषमा रिलायन्स लाइफको २० करोड ५७ लाख रुपैयाँ मात्रै सञ्चित रहेको छ।

प्रतिशेयर आम्दानीमा सूर्या लाइफ र नेटवर्थमा एशियन लाइफ अगाडि

प्रतिशेयर आम्दानीमा सूर्या लाइफ इन्स्योरेन्स अघि देखिएको छ भने नेटवर्थका आधारमा एशियन लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ। सूर्या लाइफ इन्स्योन्स प्रतिशेयर आम्दानी १७ रुपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तै, नेशनल लाइफको प्रति शेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा, प्राइम लाइफको १२ रुपैयाँ ६० पैसा र एशियन लाइफको १२ रुपैयाँ ७ पैसा रहेको छ।

नेपाल लाइफ, एलआईसी नेपाल, प्रभु लाइफको प्रतिशेयर आम्दानी ९ रुपैयाँभन्दा बढी रहेको छ। सबैभन्दा कम भने रिलायन्स लाइफको ४ रुपैयाँ १७ पैसा कायम भएको छ।

नेटवर्थ आधारमा भने एशियन लाइफ इन्स्योरेन्स अघि देखिएको छ। एशियन लाइफको प्रतिशेयर नेटवर्थ सबै भन्दा धेरै १३६ रुपैयाँ ३३ पैसा रहेको छ। यसैगरी सूर्या लाइफको १३५ रुपैयाँ ७३ पैसा, एलआईसी नेपालको १२७ रुपैयाँ ६५ पैसा, ज्योति लाइफको १२७ रुपैयाँ २९ पैसा, गुराँस लाइफको १२६ रुपैयाँ ४८ पैसा, प्राइम लाइफको १२५ रुपैयाँ ८७ पैसा रहेको छ।

यस्तै, सबैभन्दा कम प्रतिशेयर नेटवर्थ रिलायन्स लाइफको रहेको छ। रिलायन्स लाइफको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८० पैसा रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।