नेप्सेको गणना विधि अनुसार यति बेला दोस्रो बजारमा सूचिकृत कम्पनीहरूको कुल बजार पूँजीकरण मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा माथि उक्लिएको छ। गत बिहीबारको कारोबार अनुसार दोस्रो बजारमा सूचिकृत शेयरको कुल बजार पूँजीकरण पूँजीकरण ४० खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ। यस अघि पूँजीकरणले अहिले सम्मकै सबैभन्दा बढी ४१ खर्ब ९ अर्ब ५७ करोड रुपैयाँ सम्मको रेकर्ड बनाएर झरेको हो। गत जेठ २५ मा उक्त रेकर्ड बनेको थियो। गत बिहीबारकै कुल बजार पूँजीकरणलाइ नै आधार मान्ने हो भने पनि यो मुलुकको कुल जिडिपीको आकार भन्दा बढी हो। केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको कुल जिडिपीको आकार ३९ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ छ। जुन जिडिपी भन्दा बजार सूचिकृत शेयरको कुल बजार पूँजीकरण एक खर्ब ४८ अर्ब रुपैयाँ बढी हो। यस हिसाबले हेर्दा नेप्सेको बजार पूँजीकरणले जडिपिलाई उछिनेको जस्तो देखिन्छ। तर जानकारहरू भने नेप्सेको कुल बजार पूँजीकरण गणना विधि नै गलत रहेको बत्ताउँछन्। नेप्सेले अहिले बजार पूँजीकरण कसरी गणना गरिरहेको छ भन्ने कसैलाई प्रस्ट नभएको उनीहरूको भनाई छ।
के हो बजार पूँजीकरण?
कम्पनीको कुल शेयर सङ्ख्यालाई अन्तिम बजार मूल्यले गुणन गरी सो कम्पनीको बजार पूँजीकरण गणना गरिन्छ। त्यसरी नै, नेप्सेमा सूचीकृत प्रत्येक कम्पनीको बजार पूँजीकरणको योगफललाई नेप्सेको कुल बजार पूँजीकरण भनिन्छ।
गल्ती कहाँ?
उदाहरणको लागि माछापुच्छ्रे बैंकलाई हेरौँ।
तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार हाल माछापुच्छ्रे बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड ३० लाख ९४ हजार ५८१ रुपैयाँ छ। यस अनुसार हाल बैंकको ९ करोड ५ लाख ३० हजार ९४५ दशमलव ८१ कित्ता शेयर छ। तर, नेप्सेको नयाँ तथा पुराना दुवै वेबसाइटमा बैंकको कुल ९ करोड ५ लाख ३१ हजार ८८ कित्ता शेयर सूचीकृत देखिएको छ। यसले बैंकको कुल बजार पूँजीकरणमा फरक पर्दछ।
लगानीकर्ताले अब बैंकले प्रकाशित गरेको शेयर क्यापिटल अनुसारको शेयर सूचीकृत भएको मान्ने कि नेप्सेको वेबसाइटमा भएको तथ्याङ्कलाई सही मान्ने?तर,उल्लेखित सूचीकृत शेयर सङ्ख्यामा संस्थापकहरूको शेयर पनि समावेश छ।
नेप्सेकै वेबसाइटमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर (स्क्रिप्ट) को तथ्याङ्क हेर्दा, सो शेयर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। नेप्सेको वेबसाइट अनुसार बैंकको संस्थापक शेयर ५७ लाख ५१ हजार ५५९ कित्ता छ।नेप्सेका अनुसार माछापुछ्रे बैकको कुल नौ करोड पाँच लाख ३१ हजार ८८ कित्ता सूचिकृत छन्। जसमा संस्थापक शेयरको सङ्ख्या ५७ लाख ५१ हजार पाँच सय ५९ कित्ता छ। जस आधारमा गणना गर्दा उसको सर्वसाधारण तर्फको कुल शेयर सङ्ख्या आठ करोड ४७ लाख ७९ लाख पाँच सय २९ कित्ता हुन्छ। त्यो भनेको कुल सूचिकृत शेयरमा संस्थापक शेयरको सङ्ख्या ६.३५ प्रतिशत मात्रै हो। जुन आँफैमा गलत छ। किन कि बैकको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन अनुसार संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत छ भने सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर छ। जुन गलत छ।
सूचिकृत शेयरमै गल्ती छ भने अर्को तर्फ उसले वेभ साइटकै तथ्याङ्क अनुसार बैकको संस्थापक शेयरको अन्तिम कारोबार मूल्य २५० रुपैयाँ छ। जुन रुपैयाँले संस्थापक शेयर गुणन गर्दा संस्थापक शेयरको बजार पूँजीकरण १ अर्ब ४३ करोड ७८ लाख ८९ हजार ७५० रुपैयाँ हुन आउँछ।उता सर्बसधारण तर्फको वाँकी शेयरलाई नियमित कारोबार मूल्य तीन सय ८५ रुपैयाँको दरले कुल बजार पूँजीकरण ३२ अर्ब ६४ करोड एक लाख १८ हजार ६ सय ६५ रुपैयाँ हुन्छ। संस्थापक र सर्वसाधारण तर्फको मूल्य अनुसार कुल बजार पूँजीकरण ३४ अर्ब सात करोड ८० लाख आठ हजार चार सय ५१ रुपैयाँ हुन्छ।
तर नेप्सेले भने कुल बजार पूँजीकरणमा संस्थापक शेयरको मूल्य गणना नगरी सोझै सबै सूचिकृत शेयरलाई सर्वसाधारणकै मूल्यमा गणना गरी उक्त बैकको कुल पूँजीकरण सार्वजनिक गर्ने गर्छ। अहिलेको आधारमा माछापुछ्रेकाे कुल बजार पूँजीकरण ३४ अर्ब ८५ करोड ४४ लाख ६८ हजार आठ सय ८० रुपैयाँ रहेको छ। जुन वास्तविक पूँजीकरण भन्दा ७७ करोड ६४ लाख रुपैयाँ बढी हो। जुन गलत तथ्याङ्क हो।
नेप्सेमा २२० कम्पनीका शेयर सूचिकृत छन्। नेप्सेले प्रकाशित गरेको वैशाख महिनाको मासिक रिपोर्ट अनुसार पाँच अर्ब ८० करोड ८५ लाख ९० हजार पाँच सय ५१ कित्ता शेयर सूचिकृत छन्। जसमा संस्थापक समूह तर्फका जम्मा ३२ कम्पनीको मात्रै शेयर सूचिकृत रहेको नेप्सेको रिपोर्टमा उल्लेख छ। संस्थापक तर्फका कुल १२ करोड २० लाख २६ हजार एक सय ५१ कित्ता शेयर मात्रै नेप्सेको तथ्याङ्कमा देखिन्छ। तर उसले बजार पूँजीकरण गर्दा संस्थापक शेयरको मूल्यलाई भने लिने गरेको छैन। सबै शेयरलाइ सोलो डोलो सर्बसधारणकै मूल्यमा कुल बजार पूँजीकरण गणना गर्ने गर्छ।जुन अर्को गल्ति हो।
उसले कुल बजार पूँजीकरण गणना गर्दा संस्थापक, प्रिफ्रेन्स शेयर, म्युचुअल फण्डका इकाई र डिबेन्चरलाइ भने समावेश गर्ने गरेको छैन।
यो त केबल एक उदाहरण मात्र भयो। नेप्सेको तथ्याङ्क केलाउने हो भने यस्ता धेरै त्रुटिहरू भेटिन्छन्। धितोपत्र बजारको यति लामो इतिहासमा बजार सञ्चालकले यस्ता तथ्याङ्कहरू चुस्त राख्न नसक्नु लज्जास्पद होइन र?