यसै सातादेखि खरिद आदेश तर्फको एओएन अर्डर सुविधा हट्दै, बिक्री तर्फको यथावत्, हटाउनु सही कि गलत के भन्छन् सरोकारवाला ?

Jun 12, 2021 08:19 PM Merolagani

सुधा देवकोटा

नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा भएको एओएन 'अल अर नन्' अर्थात् कि सबै देउ\लेउ या एउटै नदेउ\नलेउ फिचर यहि साता देखि बन्द गर्ने भएको छ ।&

'हामीले एओएन सुबिधा बन्द गर्ने स्वीकृति दिन भन्दै केही दिन अघि लेखेको पत्र बोर्डले स्वीकृत गरी पठाएको छ। बन्द गर्ने स्वीकृत आएकोले उक्त फिचर यहि साताबाट  आंशिक बन्द गर्दै छौ' नेप्सेका उप महाप्रबन्धक निरञ्जन फुयाँलले मेरोलगानीसँग भने।

फुयाँलका अनुसार नेप्सेले खरिद आदेश तर्फको मात्रै एओएन बन्द गर्ने छ । किनकि बोर्डले खरिद आदेश तर्फको मात्रै बन्द गर्ने स्वीकृति दिएकोले खरिद आदेश तर्फको मात्रै बन्द गर्न लागिएको हो।खरिद तर्फको मात्रै बन्द गर्न लागिएकोले एक साता लाग्न सक्ने अनुमान फुयाँलको छ।

पुरै फिचर बन्द गर्न भनिएको भए आइतबारबाटै उक्त सुबिधा बन्द गर्न सक्ने स्थिति हुने थियो। तर एकतर्फी मात्रै बन्द गर्नलाई केहि प्राबिधिक परिवर्तन नै गर्नुपर्ने भएकोले करिब एक साता लाग्ने बताइएको छ। नेप्सेले उक्त फिचरको सुविधालाई एकतर्फी बन्द गर्न भन्दै टिएमएस निर्माता कम्पनीलाई पत्राचार गरिसकेको छ। उसले के कति दिनमा उक्त सुबिधा एकतर्फी बन्द गर्न सकिने हो। त्यस बारेमा भने वाइकोले जबाफ दिई नसकेको नेप्सेको भनाइ छ।

तर त्यसलाई कुनै पनि हालतमा एक साता भित्रै बन्द गर्ने तयारीमा नेप्से रहेको छ। यस अघि पनि उक्त सुविधाको दुरुपयोग गरेको भन्दै नेप्सेले केही ब्रोकर कम्पनीलाई स्पष्टीकरण समेत सोधेको थियो। पटक पटक स्पष्टीकरण सोध्दा समेत ब्रोकर कम्पनी र केही लगानीकर्ताले उक्त फिचरको दुरुपयोग नछाडेपछि नेप्सेले आजित भएर उक्त फिचर बन्दै गर्नु पर्ने भन्दै बोर्डलाई स्वीकृति दिन भन्दै पत्र लेखेको थियो। नेप्सेले पूर्ण रुपमा बन्द गर्न अनुरोध गरेको भएपनि बोर्डले भने  खरिद आदेश तर्फको मात्रै बन्द गर्न भनेको छ।

छिमेकी राष्ट्र भारतमा भने उक्त फिचर केही वर्ष अघि नै बन्द गरिसकिएको छ। भारतमा दुवै तर्फको बन्द गरिएको छ। त्यही नजिर सहित दुवै तर्फको बन्द गर्ने स्वीकृति मागेको थियो।

उता बोर्डले खरीद तर्फ मात्रै बन्द गर्नुको कारणको रुपमा लगानीकर्ताको खरिद गर्न चाहेको शेयरको मूल्यसँग मात्र सम्बन्ध हुने भएकाले बिक्रीकर्ताले मात्रै एओएन अर्डर राख्न सक्ने व्यवस्था गरेको बोर्डको भनाई छ। एकतर्फी मात्रै बन्द गर्दा बिक्रीकर्तालाई पनि कुनै समस्या नहुने बोर्डको तर्क छ। 

एओएन सुविधा बन्द हुने सूचना बाहिर आएसँगै लगानीकर्ताहरूले यो सुविधा बन्द गर्न हुने वा नहुने भन्ने विषयमा बहस हुन थालेका छ। बोर्डको यो कदमले नक्कली कारोबार आदेशलाई निरुत्साहित गर्ने भन्दै केही लगानीकर्ताहरू सकारात्मक देखिएका छन् भने कोहीले ब्रोकर कमिसन धरै लाग्ने कुरा उठाइरहेका छन्।

एओएन मार्फत ब्रोकर कमिसन केही कम पर्ने भएकाले त्यसको प्रयोग गर्ने गरेको लगानीकर्ताहरूको तर्क छ। तर, एओएनबाट नभई अरू अप्सन मार्फत खरिद गर्दा थौरै अंकको मात्र कमिसन फरक पर्ने बोर्डको भनाई छ।

एओएन हटाउने निर्णयमा स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सन्तोष मैनाली पनि सहमत देखिएका छन्। एओएन हटाउनु साना साना लगानीकर्ताको हितमा रहेको उनको भनाई छ। एओएन मार्फत बजारमा पर्न गएको प्रभावको कारण साना लगानीकर्ताले जुन क्षति व्यर्होनुपर्ने हुन्छ त्यसको तुलनामा थोरै ब्रोकर कमिसन नगण्य हुने मैनालीको बुझाई छ।

उनले भने, 'बिक्री गर्न पनि रोकिएको भए अन्यथा मान्नुपर्ने थियो तर खरिदमा मात्र रोकिनु सरोकारवालाहरूले पुरानो व्यवस्थालाई निरन्तरता मात्र दिएको हो। त्यसैले लगानीकर्ताले ब्रोकर कमिसन मात्र नहेरेर समग्र बजारको शुद्धताको लागि यो व्यवस्था मान्नुपर्ने हुन्छ'।

खरिद गर्दा एओएन सुविधा प्रयोग गर्न नपाए पनि एउटै मूल्यमा भएका साना साना शेयर कारोबारहरूको एकमुष्ट ब्रोकर कमिसनको व्यवस्था गरिनुपर्ने लगानीकर्ताहरूको जोड छ। तर, सिस्टमले नै प्रति कारोबार कमिसन गणना गर्ने भएकाले तत्काल त्यस्तो व्यवस्था सम्भव नभएको मैनालीको भनाई छ। तर कालान्तरमा त्यस्तो व्यवस्थाको लागि छलफल भने अघि बढाउने मैनालीले बताए।

एक जनाको एउटा कम्पनीको एउटै मूल्यको शेयर टुक्रिएर खरिद भएको कारोबारलाई एउटा मानेर ब्रोकरले कमिसन गणना गर्नुपर्ने, तर त्यसलाई अहिलेको व्यवस्थाले मान्यता नदिने नेप्सेको भनाई छ। त्यसको लागि सफ्टवेयरमै परिवर्तन गर्नु पर्ने भएकोले तत्कालै लगानीकर्ताको उक्त माग सम्बोधन गर्न नसकिएको नेप्सेको स्पष्टीकरण छ।

यता, टिएमएसमा भएको एओएन सुविधा बन्द गर्न नहुने नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। बजारमा अरू फिचरहरू थप गर्दै जानुपर्ने अवस्थामा झन् भएका सुविधा पनि हटाउने कुरा गर्नु दुःखद रहेको पोखरेलको बुझाई छ। एओएन सेवा कति सही छ? भन्ने बोर्डलाई भन्दा दैनिक कारोबार गर्ने लगानीकर्तालाई बढी थाहा हुने हुँदा सबन्धित निकायले यो सेवा बन्द गर्नु पूर्व लगानीकर्ताहरूसँग छलफल गर्नुपर्ने पोखरेलले बताइन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।