२०७६ भदौंमा कार्यान्वयन गर्ने भन्दै आफैले बनाएको उक्त निर्देशिका अहिले प्राधिकरणलाई नै निल्नु न ओकल्नु भएको छ ।
निर्देशिका जारी भएको ६ महिना भित्रै लागू गरिसक्ने भनिएपनि नेपालका दूरसञ्चार सेवाप्रदायकहरुले नमान्दा सेवाग्राहीहरु सस्तो सेवाबाट बञ्चित हुन पुगेका छन् ।
यदि इन्टरकनेक्सन गाइडलाइन कार्यान्वयन भएको भए एउटा सेवाप्रदायक नेटवर्कबाट अर्को सेवाप्रदायक नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घट्ने थियो भने अन्तराष्ट्रिय कल शुल्क पनि कम पर्थ्यो ।
तर, अहिले यो बिषय कोरोना भाइरसको कारण बन्दै आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले यो निर्देशिका कार्यान्वयन नहुने अवस्था देखिए पछि तत्काललाई यो बिषय कार्यान्वयन गर्न बाटो टरेको बताए ।
उनका अनुसार कोरोना भाइरसले विगत दुई बर्षदेखि टेलिकम क्षेत्रको आम्दानीमा गिरावट आइरहेको र अझै केहि समय अन्तरआवद्धता शुल्क कार्यान्वयन नगर्न प्राधिकरणलाई आग्रह गर्दै आएका छन् ।
‘प्राधिकरणले इन्टरकनेक्सन शुल्क, अन्तराष्ट्रिय आगमन कल घटाउनकै लागि यो निर्देशिका ल्याएको हो तर, ठूला सेवाप्रदायकले नै शुल्क लागू भए टेलिकम क्षेत्रको आम्दानीमा भारी गिरावट आउने बताएपछि प्राधिकरण पछि हटेको भन्न सकिन्छ’ ती अधिकारीले भने ।
खासगरी यो निर्देशिका लागू भएको खण्डमा एउटा टेलिकम नेटवर्कबाट अर्को नेटवर्कमा लाग्ने शुल्क घट्ने छ ।
निर्देशिका लागू भए कति घट्छ शुल्क ?
बिशेषगरी यो इन्टरकनेक्सन गाइडलाइनले दुई अप्रेटरबीच हुने भ्वाइस सेवालाइ नै केन्द्रीत गरेको छ भने अन्तर्राष्ट्रिय कल शुल्कलाई बर्षेनी घट्ने योजना बनाएको छ ।
ल्यान्डलाइन शुल्क
जसअनुसार एक टेलिकम कम्पनीको ल्यान्डलाइन सेवाबाट अर्को सेवाप्रदायकको ल्यान्डलाइनमा कल गर्दा मिनेट २० पैसा मात्र लिन पाउने व्यवस्था गरेको छ ।
तर, उक्त गाइडलाइन कार्यान्वयन नहुँदा अहिले सेवाप्रदायकले ग्राहकबाट ४५ पैसा नै लिदै आएका छन ।
दुई फरक नेटवर्क शुल्क
त्यसै गरी एउटा टेलिकम सेवाप्रदायकको मोबाइल (सिमबाट) अर्को कम्पनीको मोबाइलमा अर्थात नेटवर्कमा कल गर्दा प्रति मिनेट शुल्क १० पैसा तोकिएको भएपनि लामो समयसम्म गाइडलाइन लागू हुन नसक्दा सो शुल्क ५४ पैसा नै लिदै आएको छन् ।
अन्तर्राष्ट्रिय कल शुल्क
त्यस्तै गाइडलाइन अनुसार प्राधिकरणले नेपालमा आउने अन्तर्राष्ट्रिय आगमन कल शुल्कलाई आगामी ८ वर्षमा प्रतिमिनेट १.८ रुपैयाँमा झारिने योजना बनाइएको छ ।
जसमा गाइडलाइन लागू भएको पहिलो बर्ष ४ रुपैयाँ ४० पैसा र त्यसपछिका बर्षहरुमा क्रमश १ रुपैयाँ ८० पैसाँका दरले अन्तराष्ट्रिय कल शुल्क घट्ने व्यवस्था छ ।
तर, हाल अन्तर्राष्ट्रिय आगमन कलमा टेलिकम सेवाप्रदायकले प्रतिमिनेट ८ रुपैयाँ लिँदै आएका छन् ।