तर, हिजोदेखि आयोजनाको एउटा युनिटबाट बिजुली उत्पादन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नै (सोमबार) उक्त आयोजनाको उद्घाटन गरे । प्रधानमन्त्रीले उद्घाटन गरेपछिको पहिलो कारोबारको दिन आज (मंगलबार) तामाकोशीको शेयर मूल्य उच्च अंकले गिरावट आएको छ ।
तामाकोशी आयोजनाबाट बिजुली उत्पादन हुँदै छ भन्ने समय नजिकिदै जादा बढेको शेयर मूल्य आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि भने घट्न थालेको छ । किन यस्तो हुन पुग्यो ? अहिले आम लगानीकर्ताहरु यस्तै प्रश्न गर्न थालेका छन् ।
केही दिन अघिसम्म योजनाबाट बिजुली उत्पादन हुन थालेको एक दुई वर्ष भित्रमा नै लाभांश पाइने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर, पछिल्लाे तथ्यांकले लगानीकर्ताले तामाकोशीबाट प्रतिफल पाउन लामो समय कुर्नु पर्ने स्थिति देखिएपछि शेयर मूल्य घट्न पुगेको हो ।
तामाकोशी आयोजनाको निर्माण सुरु गर्दा ३५ अर्ब लाग्ने अनुमान गरिएको थियो । तर, अहिलेसम्म आयोजनाको कुल खर्च ८४ अर्ब पुगेको छ ।
३५ अर्बमा निर्माण सम्पन्न हुन्छ भनिएको तामाकोशी आयोजनाको लागत दोब्बर भन्दा बढीले बढेर ८४ अर्ब लाग्ने भएपछि सर्वसाधारणले पाउने लाभांश पनि पछि धकेलिने भयो । त्यसैकारणले तामाकोशीको शेयर मूल्य पनि घट्दै गएको शेयर बिश्लेषकहरुको भनाइ छ ।
तामाकोशी आयोजनाबाट वार्षिक ९ अर्ब बराबरको आम्दानी हुने प्रक्षेपण गरिएको छ । कम्पनीको सञ्चालन खर्च, मर्मर सम्भारलगायतमा जाने खर्च कटाउँदा पनि वार्षिक ८ अर्ब बचत भएपनि पुरै ऋण तिर्नका लागि कम्तिमा १० वर्ष लाग्ने देखिन्छ ।
लगानीकर्तालाई प्रतिफल दिन त आयाेजना नाफामा जानु पर्ने हुन्छ । नाफामा नगइ लाभांश पाउने सम्भावना नभएका कारणले पनि तामाकोशीको शेयर मूल्य निरन्तर ओरालो लागेको बताइन्छ ।
यसअघि ‘सुनको अन्डा पार्ने कुखुरा’ को उपमा दिएर शेयरको भाउ बृद्धि गरिएको थियो । तर, यथार्थमा अर्कै देखिन पुग्याे । पछिल्लो तथ्यांकले आयोजनाको लागत ८४ अर्ब पुगेपछि बास्तविक अवस्थाको यर्थाथ जानकारी भएका कारण तामाकोशीको शेयर मूल्यमा गिरावट आएको शेयर बिश्लेषकहरुको भनाइ छ ।