टी प्लस टुको साइकलमा सेटलमेन्ट नभएकै कारण लगानीकर्ताको खातामा शेयर ढिलो आउने गरेको हो।
कुनै एक कम्पनीको मात्रै शेयर खातामा ढिलो आउने गरेको होइन। बुक क्लोजको दिन कारोबार भएको सबै कम्पनीको शेयर नै खातामा ढिलो आउने गर्छ। खातामा ढिलो शेयर आउने समयलाई प्राविधिक भाषामा नो डेलिभरी टाइम भन्ने गरिन्छ। नो डेलिभरी टाइममा परेका सबै शेयर ढिलो आउने गर्छन्।
कुनै कम्पनीले निश्चित दिन बुक क्लोज मिति तोकेका हुन्छन्। बुक क्लोज कै दिन शेयर किन्ने लगानीकर्ताले उक्त कम्पनीले गर्ने गतिविधिमा भाग लिने अधिकार राख्ने गर्छन्। वर्षभरि कम्पनीले गरेको आम्दानीमा समेत उक्त दिन शेयर किन्ने लगानीकर्ताले लाभांश पाउँछन् भने हकप्रद वा साधारण सभामा भाग लिन पनि ती लगानीकर्ता योग्य हुन्छन्। जसले गर्दा पनि कम्पनीले निश्चित प्रयोजनको लागि निश्चित दिन बुक क्लोज मिति तोक्ने गर्छन्। कम्पनीको अन्य गतिविधिमा आधिकारिक लगानीकर्ता चयनको लागि कम्पनीको बुक क्लोज महत्त्वपूर्ण हुने गर्छ।
कम्पनीमा हजारौँ लगानीकर्ता हुने गर्छन्। तर कम्पनीको काम कारबाहीमा भने ती सबै लगानीकर्ताले भाग लिन योग्य हुँदैनन्। जसको लागि कम्पनीले निश्चित दिन भित्र शेयर किन्ने लगानीकर्तालाई मात्रै योग्य मान्ने गर्छ।
कुनै लगानीकर्ताले बुक क्लोजको दिन शेयर खरिद गरेको छ भने यसको शेयर नियमित टी प्लसको साइकल पछि मात्रै राफसाफ गर्ने गरिन्छ। बुक क्लोजको दिन शेयर किन्ने लगानीकर्ताको राफसाफ समय टी प्लस फाइभको हुने गर्छ। नियमित कारोबारको सबै राफसाफ भइसकेपछि मात्रै बुक क्लोजको दिन भएको कारोबार राफसाफ हुने भएकोले बुक क्लोजका दिन कारोबार भएको शेयर लाई नो डेलिभरी टाइममा राख्ने गरिएको केन्द्रीय निक्षेप प्रणाली सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। शेयर किन्नेले मात्रै शेयर ढिलो नपाउने होइन उक्त दिन शेयर बिक्री गर्नेले समेत ढिलो नै रकम पाउने गरेका छन्। शेयरको राफसाफ नै ढिलो हुने भएकोले नै बिक्री गर्नेले पनि रकम ढिलो पाउने गरेको न्यौपानेको भनाइ छ।
त्यसैले कसैको शेयर ढिलो आएमा वा बिक्री गर्नेको खातामा रकम नआएमा त्यसलाई अन्यथा लिन नहुने न्यौपानेले बताए। न्यौपानेका अनुसार कम्पनीलाई शेयर धनीको योग्यता जाँचको लागि समेत समय लाग्ने भएकोले उक्त दिन कारोबार भएको शेयर ढिलो राफसाफ हुने गरेको हो। जुन शेयर कारोबारको नियमित प्रक्रिया भएकोले यसलाई लगानीकर्ताले जान्न जरुरी रहेको न्यौपानेको भनाइ छ। यसमा ब्रोकर कम्पनी वा क्लियरिङ हाउस कसलै पनि ढिलो गर्न चाहेका होइनन्। यो नियमित प्रक्रिया नै भएकोले यसलाई लगानीकर्ताले सहज रुपमा लिनु पर्ने न्यौपानेको जिकिर छ।