ब्याजदर बढेपछि नेप्सेमा सेलिङ्ग प्रेसर, साढे २ प्रतिशतभन्दा बढी घट्यो नेप्से

Sep 16, 2021 03:19 PM Merolagani

भदौ महिनाको अन्तिम दिन, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएको सूचना प्रकाशित गरेपछि त्यसको नकारात्मक प्रभाव शेयर बजारमा परेको छ।

बजारसँग नकारात्मक सम्बन्ध रहेको ब्याजदर बढेपछि यस दिन नेप्से घट्न दबाब पुगेको हो। विगत केही दिनदेखि नै ब्याजदर बढ्ने हल्लाले बजार घट्दो क्रममा रहेको थियो। यस दिन पनि त्यसैको प्रभावले बजारमा सेलिङ्ग प्रेसर आएको जानकारहरु बताउँछन्।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६५ प्रतिशत अर्थात ७६.६५ अंक घटेर २८१२.३८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.७३ अंक, फ्लोट इण्डेक्स ५.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने केही बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ३५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२९ कम्पनीको १ लाख १३ हजार कारोबारमा ९ अर्ब ३ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको ४.०८ प्रतिशत घटेको छ। कारोबारमा आएको व्यापार, होटल तथा पर्यटन, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन साढे ३८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिडी हाइड्रोपावरको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्से घटेपनि यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ८१.८० रुपैयाँ बढेर ८९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। यस दिन शेयरमूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीको शीर्ष स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ। सो बैंकको शेयरमूल्य यस दिन ८.१७ प्रतिशत घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।