खरिदकर्ता हाबी हुँदा बुधबार पनि नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पनि बढ्यो

Oct 06, 2021 03:32 PM Merolagani

पछिल्लाे एक महिनादेखि लगातार करेक्सनमा देखिएको नेप्से सूचक मंगलबारदेखि भने बढ्न थालेको छ। उच्च विन्दुबाट ६०० अंकभन्दा धेरै घटिसकेको नेप्से सूचक मंगलबार ४१ अंकले बढेको थियो भने बुधबार पनि सो वृद्धिलाई निरन्तरता दिएको छ।

बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६८१.११ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १२.७२ अंकले बढेको छ। बुधबार नेप्सेमा बिक्रीकर्ताभन्दा धेरै खरिदकर्ता हाबी देखिन्थे जसले गर्दा नेप्से सूचकमा ठूलो उतारचढाव देखिएन।

यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा बुधबार साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। यस दिन ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४१ रुपैयाँ बराबरको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर कारोबार भएको छ।

  • १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बुधबार कारोबारमा आएका १९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उच्च दरले बढ्ने कम्पनीमा अधिकाँश विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स रहेका छन्।

यस दिन बेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामिण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्तलगायतका कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

यता रिडि हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावरको १.४६ प्रतिशत, सिनर्जी पावरको ०.२४ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ०.१८ प्रतिशत र सिभिल बैंकको ०.०४ प्रतिशतले घटेको छ।

बुधबार सिटिजन्स बैंकको सबैभन्दा धेरै २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआइसी एशिया लघुवित्तको १६ करोड ८५ लाख, निर्धन उत्थानको १६ करोड ७८ लाख, हिमालयन डिस्टिलरीको १४ करोड ७५ लाख, छिमेक लघुवित्तको ११ करोड १८ लाख र नेपाल बैंकको १० करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ भने माइक्रोफाइनान्स र विकास बैंकमा पनि आकर्षण धेरै नै छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ६.५९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स उपसमूहको सूचक ५.८० प्रतिशत र विकास बेंक उपसमूहको सूचक ४.८२ प्रतिशतले बढेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।