हिन्दुहरुको महान चाड बडादशैं अगाडि नै लाभांश घोषणा शुरु गरेका छन्। लाभांश वितरण गर्न घोषणा गरेका कम्पनीहरु अधिकांशले बोनस शेयरलाई प्राथमिकतामा राखेको देखिन्छ। लगानीकर्ताहरुको रोजाईमा पनि बोनस शेयर नै पर्ने गरेको छ। विगतका वर्षहरूमा लाभांश वितरण गर्ने कम्पनीहरुमा बोनसभन्दा नगद लाभांश वितरण गर्ने घोषणा गरेका कम्पनीहरुको शेयरमूल्य घट्ने गरेको छ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ४१ कम्पनीहरुले लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन्। जसमा सबैभन्दा धेरै १८ लघुवित्त कम्पनीहरुको लाभांश वितरण गर्ने प्रस्ताव भएको छ। त्यसैगरी, ९ वाणिज्य बैंक, २ विकास बैंक, ८ हाईड्रोपावर कम्पनीहरुले आफ्ना शेयरधनीलाई लाभांशको रुपमा दक्षिणा दिने भएका छन्।
साथै, नेपाल ल्यूब आयल ३५ प्रतिशत लाभांश, असोज १८ गते भएको ३० औं वार्षिक साधारण सभाबाट अनुमोदन गराईसकेको छ भने युनिलिभर नेपालको ६५० प्रतिशत, शिवम् सिमेन्टसकाे २९ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८.५ प्रतिशत वितरण गर्ने प्रतिबद्धता जनाएका छन्।
हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरेका मध्येमा हिमालयन बैंकको सबैभन्दा धेरै २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ। विकास बैंकहरुमा कामना विकास बैंकको १९.५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको १०.५ प्रतिशत रहेको छ।
त्यसैगरी, यस अवधिसम्ममा लाभांश वितरण गर्ने प्रस्ताव गरेका लघुवित्त कम्पनीहरुमध्ये महिला लघुवित्तको सबैभन्दा धेरै ५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। जसमा लघुवित्तले ४५ प्रतिशत बोनस र ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। साथै, एनआइसी एशिया लघुवित्तका शेयरधनीले भने सबैभन्दा थोरै ५.४१ प्रतिशत नगद लाभांश मात्र प्राप्त गर्ने भएका हुन्।
नेप्सेमा सूचीकृत हाईड्रोपावरमध्ये ८ वटा हाईड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घाेषणा गरेका छन्। लाभांश वितरण गर्न घोषणा गर्ने हाईड्रोपावर कम्पनीहरुमध्ये ङादी ग्रुप कम्पनीको सबैभन्दा धेरै २१.१० प्रतिशत लाभांश वितरण गरेको छ। यस पटक हाईड्रोपावर कम्पनीहरुले पनि पूँजी वृद्धि गर्नको लागि बोनस शेयरलाई नै प्राथमिकता दिएको छ।
यद्यपि माथि उल्लेखित केही कम्पनीहरुको वितरण गर्न घोषणा गरेको लाभांश साधारण सभाबाट अनुमादन भएको छैन। दशैं लगतै उक्त कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभा बोलाएर प्रस्तावित लाभांश पारित गर्नेछन्। म्युचुअल फण्डमा लगानी गर्ने अंधिकाश इकाईधनीले दशैं पहिले नै नगद लाभांश प्राप्त गरिसकेका छन्।