आधार दर र प्रिमियम दुबै बढ्दा दोहोरो मारमा ऋणी, तरलता कम हुने वित्तिकै बैंकहरुले बढाउन थाले प्रिमियम दर

Oct 21, 2021 10:57 AM Merolagani

रबिन पाैडेल

बैंकिङ्ग प्रणालीमा तरलता अभाव भएपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजदर बढाउन थालेका छन्। कर्जा लगानी उच्च हुँदा बैंकहरुसँग लगानीयोग्य रकम कम हुँदै गएको छ। यसले गर्दा बैंकहरुले विगत दुई महिनादेखि नै निक्षेपको ब्याजदर बढाउन थालेका छन्।

बैंकहरुले निक्षेपको ब्याजदर बढाउदा उनीहरुको लागत बढ्न जान्छ भने यसले गर्दा बैंकहरुको आधार दर समेत बढ्छ। आधार दर बढ्दा कर्जाको ब्याजदर समेत बढ्ने गर्छ।

आधार दर मात्रै होइन अहिले बैंकहरुले कर्जामा प्रिमियम दर समेत बढाइरहेको गुनासो ऋणीहरुले गर्न थालेका छन्। केन्द्रीय बैंकले कर्जाको प्रिमियम दर बीचमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ। तर, बैंकहरुले अहिले ऋणीलाई आधार दरमा थपिने प्रिमियम दर समेत बढाएका ऋणीहरु बताउछन्।

बैंकहरुले राष्ट्र बैंकको नियम अनुसार प्रिमियमा तलमाथि गर्न पाउदैनन्। चेन्ज हुने भनेको बेस रेटमा मात्रै हो। तर, बैंकहरुले प्रिमियममा पनि घट्बढ गर्न शुरु गरेकाे नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका बताउछन्। "ब्याज घट्दा बेस रेट पनि घट्यो। अनि प्रिमियम पनि घट्यो। अलिकति लिक्विडिटि टाइट हुनासाथ बैंकहरुले प्रिमियम बढउन शुरु गरिदिए," उनले भने "पहिले लिएको प्रिमियमा एकदेखि डेढ प्रतिशत प्रिमियम थप्ने काम भएको छ।"

गत वर्ष बैंकहरुसँग लगानीयोग्य अधिक हुँदा धेरै बैंकहरुले आधार दरमा नै कर्जा दिएका थिए। प्रिमियम थप्दा पनि आधार दरमा थोरै मात्र प्रिमियम थप गरी कर्जा दिएका थिए। तर, अहिले भने पुराना ऋणीहरुको समेत कर्जाको ब्याजदर बढेको छ। आधार दर र प्रिमियम एकैपटक बढ्दा कर्जाको ब्याजदर समेत निकै बढ्ने देखिन्छ।

बैंकिङ्ग प्रणालीमा तरलता अभाव हुँदा ऋणीहरुलाई दाहोरो मार परेको छ। एकातिर लागत बढ्दा कात्तिकदेखि आधार दर बढ्ने भएको छ भने अर्कोतिर प्रिमियमदर समेत बढ्दा ऋणीहरु दोहोरो मारमा परेका हुन्। गत वर्ष एकल अंकको ब्याजदरमा कर्जा लिएका धेरै ऋणीहरुको अहिले ब्याजदर बढेर दोहोरो अंकमा पुगिसकेको छ। नेपाल राष्ट्र बैंकको गत साउनको तथ्याँक अनुसार कर्जाको औसत ब्याजदर ८.४८ प्रतिशत रहेको छ। तर, पछिल्लो २ महिनाको अवस्थामा भने यो औसत ब्याजदर समेत निकै बढिसकेको छ।

राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई एकल अंकमा नै राख्ने लक्ष्य राखेको छ। तर बैंकहरुबीच शुरु भएको अस्वस्थ प्रतिस्पर्धाले त्यो लक्ष्यमा नै धक्का पुग्ने देखिन्छ। व्यवसायीहरुले समेत कर्जाको ब्याजदर एकल अंकमा नै राख्नुपर्ने माग गर्दै आएका छन्। उनीहरुले लामो समयदेखि उठाएको उक्त माग गत वर्षदेखि मात्रै पुरा भएको थियो।

गत वर्षको असार मसान्तसम्ममा पनि बैंकहरुको कर्जाको औसत ब्याजदर दोहोरो अंकमा नै थियो। गत वर्षका साउन मसान्तसम्ममा बैंकहरुको कर्जाको औसत आधार दर १०.४७ प्रतिशत थियो। सो पश्चात बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताको कारण यस्तो ब्याजदर घटेर एकल विन्दुमा झरेको थियो। तर एकल विन्दुमा झरेको एक वर्ष पनि नपुग्दै बैंकहरुको कर्जाको औसत ब्याजदर दोहोरो अंकमा पुग्ने देखिएको छ।

बैंकहरुले प्रकाशित गरेको निक्षेपको ब्याजदर हेर्ने हो भने पनि छोटो समयमा नै ब्याजदरमा ठूलो परिवर्तन भएको देखिन्छ। केहि महिना अघि मात्रै साधारण बचतमा ३ प्रतिशतभन्दा कम ब्याज दिँदै आएको एनआइसी एशिया बैंकले गत सोमबार ८ प्रतिशतभन्दा धेरै ब्याज दिने गरी नयाँ सूचना निकालेको थियो। उसको मुद्दतिको ब्याजदर पनि केहि महिनाको अन्तरालमा नै करिब शतप्रतिशतले बढिसकेको छ। यसरी निक्षेपको ब्याजदर उच्च रुपले बढ्दा त्यसको सिधा असर कर्जाको ब्याजदरमा पर्ने गर्छ।

निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको आधार दर पनि विस्तारै बढ्न थालेको छ। गत साउनसम्ममा ५.५२ प्रतिशत रहेको नबिल बैंकको आधार दर भदौसम्ममा ६ प्रतिशत पुगिसकेको छ। असोज महिनाको भने आधार दर सार्वजानिक भएको छैन। यस्तै, एनआइसी एशिया बैंकको आधार दर भदौ महिनामा ६.८४ प्रतिशतबाट ६.८९ प्रतिशत पुगेको छ। गत असारमा ६.७० प्रतिशत रहेको सनराइज बैंकको आधार दर साउनमा ७.०१ प्रतिशत पुगेको थियो भने भदौ महिनामा बढेर ७.२२ प्रतिशत पुगेको छ। यसबाहेक पनि सबै बैंकले निक्षेपको ब्याजदर बढाएकोले आधार दर बढ्दो क्रममा देखिएको छ।

यसरी बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरमा छोटो समयमा नै ठूलो उतारचढाव आउदा ऋणी तथा व्यवसायीहरु भने समस्यामा परेका छन्। यसले व्यवसायीहरुलाई अझै धेरै समस्या पारेको मुरारका बताउछन्। यसले लङ टर्म इन्भेष्टमेन्ट गर्ने व्यवसायीलाई धेरै गाह्रो पार्ने भएकोले ब्याजदरको यस्तो उतारचढाव राम्रो नहुने उनले बताए।

छोटो समयमा नै ब्याजदरमा ठूलो उतारचढाव आएपछि केन्द्रीय बैंकले बुधबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै ब्याजदरको उक्त उतारचढावलाई केहि हदसम्म रोक्ने प्रयास गरेको छ। केन्द्रीय बैंकले बैंकहरुले ब्याजदर निर्धारण गर्दा एक महिनामा १० प्रतिशतले मात्रै घटबढ गर्न पाउने व्यवस्था गरेको छ। यसले छोटो समयमा नै देखिने ब्याजदरको ठूलो उतारचढावलाई केहि कम गर्ने आँकलन गरिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।