कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएर कारोबार सञ्चालनको लागि अनुमति नपाएका ६ जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । जीवन बीमा कम्पनीहरुमा एलिएन्ज नेपाल लाइफ, इन्टरनेशनल लाइफ, स्ट्याण्डर्ड लाइफ, ग्लोवल लाइफ, जीवनधारा लाइफ र लक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।
यस्तै निर्जीवन बीमा कम्पनीहरुमा मनकामना इन्स्योरेन्स र एग्रीकल्चर इन्स्योरेन्स कम्पनी अफ नेपाल रहेको छ ।
कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएका केही बीमा कम्पनीहरु कारोबार सञ्चालनको लागि अनुमति माग्दै बीमा समितिमा समेत पुगेका छन् । नयाँ बीमा कम्पनीहरूलाइ पूँजी बढाएपछि लाइसेन्स दिने संकेत समितिकाे छ ।
‘तत्कालै बीमा कम्पनीहरुको लाइसेन्स दिन कुनै योजना छैन । तर अब आउने बीमा कम्पनीहरु पूँजीका आधारमा आउनु पर्छ ।’ समितिका अध्यक्ष सिलवालले भने, ‘पूँजी बढाएर नयाँ कम्पनी आउदाँ हाल सञ्चलनमा रहेका कम्पनीहरुलाई पनि पूँजी बढाउन दवाब पर्छ ।’
हाल सञ्चालनमा रहेका कम्पनीहरुले बाध्य भएर पूँजी बढाउनु पर्ने उनको भनाई छ । ‘सक्नेले पूँजी बढाउँछ, नभए मर्जरमा जानुपर्छ ।’ समितिका अध्यक्ष सिलवालले भने ।
तत्काल नयाँ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिने कुनै योजना भने नरहेको अध्यक्ष सिलवालको भनाई छ ।
पूँजी बढाउन बीमा समिति नै बाधक
नयाँ वीमा कम्पनीले पूँजा बढाएर लाइसेन्स पाए भने पनि अहिलेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउने बाटो बीमा समितिले खुला गरेकाे छैन । समितिले बीमा कम्पनीहरुलाई चालु आर्थिक वर्षसम्मको लागि पूँजी जुटाउन हकप्रद निष्काशन गर्ने बाटो भने रोकिदिएको हो ।
यसले हकप्रद निष्काशन गरेर पूँजी बढाउने बीमा कम्पनीहरुको तयारीमा ब्रेक लागेको छ । बीमा कम्पनीहरुले हकप्रद निष्काशन गरेर पूँजी बढाउने तयारी गरिरहँदा समितिले भने यस्तो निर्देशन दिएको थियो ।
त्यस अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष भित्र हकप्रद निष्काशन गरेर पूँजी बढाउने योजना अघि सर्ने छैनन् । समितिले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद निष्काशन गरेर पूँजी बढाउने योजना नभएकोले हकप्रद निष्काशन रोक लगाउनु परेको जनाएका थिए ।
तर, वीमा क्षेत्रका जानकारहरू भने पूँजी बृद्धि सहित नयाँ कम्पनीकाे लाइसेन्स र पुराना वीमा कम्पनीकाे पूँजी बृद्धिकाे प्रावधानसँगसँगै खुल्ने चर्चा भएकाे बताउँछन् ।
शिखर र आइएमई जनरललाई भने छुट
बीमा समितिले चालु आर्थिक वर्ष भित्र हकप्रद निष्काशन गर्न नदिने निर्देशन दिएपनि शिखर र आइएमई जनरल इन्स्योरेन्सले भने छुट पाएका छन् । समितिले निर्देशन जारी गर्नु अघिनै हकप्रद निष्काशनको प्रकृया अघि बढेका यि दुई कम्पनीहरुलाई भने हकप्रद निष्काशन गर्न समितिले अनुमति दिएको हो ।
समितिबाट अनुमति पाएपछि शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेका छन् । यद्यपी बोर्डमा अध्यक्ष पद रिक्त हुदाँ हकप्रद निष्काशन गर्न अनुमति भने पाएका छैनन् ।
शिखर इन्स्योरेन्सले चुक्ता पूँजी एक अर्ब ७५ करोड ८५ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
यस्तै आईएमई जनरल इन्स्योरेन्सले पनि चुक्ता पूँजी एक अर्ब १५ करोड ५६ लाख रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ४६ करोड ३० लाख ३६ हजार रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३६० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।