समितिले जारी गरेको निर्देशिका अनुसार पुनर्बीमा ब्रोकरको अधिकृत पूँजी न्यूनतम १० कराेड रुपैयाँ हुनुपर्नेछ। पूँजी मध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम बीमा समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ।
त्यस्तै, अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोकिए बमोजिम हुने उल्लेख गरेको छ।
पुनर्बीमा ब्रोकर के हो? यसले के के काम गर्छ?
पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुबीचमा मध्यस्थताको कार्य गर्ने कम्पनी नै पुनर्बीमा ब्रोकर हो। पुनर्बीमा ब्रोकरले पुनर्बीमा दाबी भुक्तानीमा सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमा सम्झौता अनुरुपको लिने/दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने लगायतको काम गर्नेछ।
यस्तै, ब्रोकरले पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा/पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउनेछ। जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न पनि ब्रोकरले सहयोग गर्नेछ।
बीमितको लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्ने, विदेशी बीमकले विदेशी मुलुकमा जारी गरेको बीमालेख अन्तर्गत हुने जोखिम सम्बन्धमा नेपाली पुनर्बीमक वा पुनर्बीमकसंग मध्यस्थता गर्ने, पुनर्बीमितको आवश्यकता अनुरुप पुनर्बीमा व्यवस्था गराउने, बीमक तथा पुनर्बीमकबीच लिनु दिनुपर्ने रकमको समर्थन पत्र उपलब्ध गराउने, पुनर्बीमा व्यवस्था गरे/गराएको पुनर्बीमा सम्झौता अन्तर्गत बीमकमा पर्ने दाबीहरुको फर्छर्यौट गर्ने गराउने, पुनर्बीमितलाई पुनर्बीमकको ख्याति र रेटिङ्गबारे जानकारी तथा परामर्श दिने, पुनर्बीमा दलालले गर्ने अन्तराष्ट्रिय अभ्यासहरु गर्ने गराउने लगायतको कामहरु गर्नेछ।
पुनर्बीमा ब्रोकरको कर्तव्य
पुनर्बीमा गर्नु अघि त्यस्तो पुनर्बीमा सम्झौताबाट उत्पन्न हुने दायित्व स्वीकार गर्ने सम्बन्धमा पुनर्बीमकबाट अख्तियारी प्राप्त गर्नुपर्दछ। पुनर्बीमा दिने पुनर्बीमित र पुनर्बीमा स्वीकार गर्ने पुनर्बीमक दुबैसंग पुनर्बीमा दलालले पूर्ण विश्वास कायम गर्नुपर्दछ।
ब्रोकरले प्लेसमेन्ट गर्ने पुनर्बीमकको आर्थिक तथा सभेन्सी स्थितिको अद्यावधिक विश्लेषण तथा पुनर्बीमाको क्रेडिट रेटिङ्ग स्थितिको पनि रेकर्ड राख्नुपर्दछ। ब्रोकरले बीमक र पुनर्बीमितको निर्देशन अनुसार कार्य गर्ने र पुनर्बीमितले चाहेको जोखिमको मात्र पुनर्बीमा गर्नुपर्दछ।
ब्रोकरले पुनर्बीमा गर्न नसकेमा, पुनर्बीमा अस्वीकृत गर्न ढिला भएमा पुनर्बीमितलाई जानकारी गराउनु पर्दछ।
ब्रोकरले पुनर्बीमा सम्झौताद्धारा हस्तातरण हुने व्यवसाय सम्बन्धमा पुनर्बीमकसंग कुनै सम्बन्ध भएमा खुलास समेत गुर्नपर्दछ। ब्रोकर कम्पनीले पुनर्बीमकबाट प्लेसमेन्टसीप लिएर मात्रै पुनर्बीमकको तर्फबाट पुनर्बीमा कभरनोट जारी गर्नुपर्दछ।
यस्तै, उपयुक्त पुनर्बीमा सम्झौता तयारी गरी पुनर्बीमकको हस्ताक्षर गराई पुनर्बीमित समक्ष पेश गर्नुपर्दछ। पुनर्बीमक र पुनर्बीमितबीच पुनर्बीमा शुल्क वा दायित्व बापतको रकम वा अन्य रकम पठाउने कार्य समेत गर्नुपर्दछ। आफुले बुझेको तथा पठाएको रकमको लेखा पनि राख्नुपर्दछ। ब्रोकरले अवधि समाप्त भएको १० वर्षसम्म आफ्नो पुनर्बीमा सम्बन्धी कारोबारको अभिलेख समेत सुरक्षित राख्नु पर्ने निर्देशिकामा उल्लेख छ।