पिटर लिन्चको मान्यताको आधारमा वाणिज्य बैंकहरू लगानीका लागि उपयुक्त

Dec 09, 2021 08:08 AM Merolagani

रबिन पाैडेल

"आम्दानीको वृद्धिदरभन्दा मूल्य आम्दानी अनुपात आधा छ भने त्यो सकारात्मक हो, र दोब्बर छ भने त्यो नकारात्मक हो।" पिटर लिन्चको वान अप अन द वाल स्ट्रिट पुस्तकमा लेखिएको छ।

यसको अर्थ के हो भने कुनै पनि कम्पनीले गर्ने आम्दानीको बृद्धिदरभन्दा उसकाे मूल्य आम्दानी अनुपात कम छ भने त्यस्ता कम्पनीमा लगानी गर्न कम जोखिम छ, तर कम्पनीकाे आम्दानीकाे बृद्धिदर भन्दा  मूल्य आम्दानी अनुपात बढी छ भने त्यसमा जाेखिम छ भन्ने हो।

"उचित मूल्य भएको कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपात यसको आय वृद्धिदर बराबर हुनेछ। यदि कम्पनीको यस्तो अनुपात वृद्धिदरभन्दा कम छ भने, तपाईले आफ्नो एक उपयुक्त कम्पनी फेला पर्नु भएको हुनसक्छ।" उनको उक्त किताबमा थप लेखिएको छ।

यहि मान्यतालाई आधार मान्ने हो भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कतिपय कम्पनीहरुमा लगानी गर्ने उपयुक्त समय देखिन्छ। तर, कतिपय कम्पनीहरुमा लगानी गर्नु यस मान्यताले जोखिमयुक्त देखिन्छ।

पिटर लिन्चले अन्तराष्ट्रिय बजारको आधारमा उक्त कुरा आफ्नो किताबमा लेखेको भए पनि  त्याे नेपाली बजारमा समेत लागु हुने जानकारहरु बताउछन्। "विदेशमा उसको नाफाले जे इन्डिकेट गर्ने हो, नेपालमा पनि त्यहि इन्डिकेट गर्छ," शेयर विश्लेषक रविन्द्र भट्टराई भन्छन्, "कम्पनीहरुको सिद्धान्तहरु जे छन्, त्यो सबैको लागि एउटै हो। चाहे त्यो विदेशी मार्केटमा होस् या नेपाली मार्केट।"

उनका अनुसार पिटर लिन्चको किताबमा उल्लेख भएका ति कुराहरु नेपाली मार्केटमा समेत लागु हुन्छन्।

मेरोलगानीले पिटर लिन्चको मान्यताको आधारमा सूचीकृत वाणिज्य बैंकहरुको नाफाको बृद्धिदर र ती बैंकहरुको पछिल्लो पिइ रेशियो निकालेको छ। नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमा १४ वाणिज्य बेंकको मूल्य आम्दानी अनुपात बैंकको नाफाको वार्षिक बृद्धिदरभन्दा धेरै देखिएको छ।

तर, कतिपय बैंकमा भने नाफाको बृद्धिदरभन्दा पिई रेशियो निकै माथि देखिएको छ।

सिभिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नाफाको बृद्धिदर २०० प्रतिशत छ। उसको बुधबारसम्मको पिई रेशियो १७.५८ गुणा मात्रै रहेको छ। यसैगरी, सिद्धार्थ बैंकको पहिलो त्रैमासमा नाफाको वार्षिक बृद्धिदर ८५ प्रतिशतभन्दा धेरै छ जबकी उसको मूल्य आम्दानी अनुपात १२ गुणा मात्रै रहेको छ। नेपाल एसबिआइ बैंकको पनि नाफाको बृद्धिदर ७७ प्रतिशत छ भने पिई रेशियो १४ गुणा मात्रै छ।

सूचीकृत बैंकहरुमा १३ बैंकको पिई रेशियो उसको वार्षिक नाफाको बृद्धिदरभन्दा आधा मात्रै रहेको छ।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासकै विवरणलाई आधार मान्दा नेपाल बंगलादेश बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्शियल बैंकको नाफाको वार्षिक बृद्धिदर नकारात्मक छ। यस्तै ८ बैंकले नाफाको बृद्धिदर पछिल्लो पिई रेशियोभन्दा कम छ।

समग्रमा हेर्ने हो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासका बैंकिङ्ग सेक्टरको नाफाको बृद्धिदर २३ प्रतिशत रहेको छ। बुधबारसम्म बैंकहरुको औसत पिई रेशियो १९.९५ गुणा रहेको छ। पिटर लिन्चका अनुसार यसले बैंकिङ्ग सेक्टरमा लगानी गर्न सकारात्मक रहेकाे संकेत गर्दछ।

को हुन् पीटर लिन्च?

पीटर लिन्च अहिलेका सबैभन्दा सफल र प्रसिद्ध लगानीकर्तामध्ये एक हुन्। लिन्च प्रमुख लगानी ब्रोकरेज फिडेलिटीमा म्यागेलन फण्डका महान पूर्व प्रबन्धक हुन्। उनले सन् १९७७ मा ३३ वर्षको उमेरमा फण्ड सम्हाले र त्यसलाई १३ वर्षसम्म चलाए। उनको सफलताले उनलाई १९९० मा मात्र ४६ वर्षको उमेरमा रिटायर हुन योग्य बनायो। उनको लगानी शैलीलाई त्यो समयको प्रचलित आर्थिक परिवेश अनुकुल बताइएको छ, तर लिन्च सँधै आफुसँग के छ? भन्ने बुझ्न सक्षम हुनुपर्ने कुरामा जोड दिन्छन्।

लिन्चको लगानी करियर

लिन्चको पहिलो सफल लगानी फ्लाइङ्ग टाइगर नामक एक एयर फ्रेट कम्पनीमा थियो जसले उनलाई ग्रेजुएट स्कुलको पैसा भुक्तानी गर्न मद्दत गर्यो। उनले १९६८ मा पेन्सिल्वेनिया विश्वविद्यालयको व्हार्टन स्कुल अफ बिजनेसबाट एमबिए गरेका छन्। उनले १९६७ देखि १९६९ सम्म आर्मी भएर सेवा दिए।

२५ वर्षको उमेरमा, लिन्चले पहिलो पटक फिडेलिटीमा टेक्सटाइल एण्ड मेटल एनालाइस्टको रुपमा जागिर पाए। सन् १९७७ मा लिन्चले मेगेलन फण्ड सम्हाल्न पुगे। मेगेलन फण्ड सन् १९६३ मा स्थापना भएको सानो तर आक्रामक क्यापिटल एप्रिसिएशन फण्ड हो, जसमा अधिकांश घरेलु लगानी थियो। लिन्चले फण्ड सम्हालेको पहिलो दिन १ हजार डलर लगानी गरेका लगानीकर्ताले उनले छोडेका दिन २८ हजार डलर हुन्थ्यो। उनको व्यवस्थापनमा सो फण्डले वार्षिक २९ प्रतिशत औषत प्रतिफल दिएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।