जीवन बीमा कम्पनीको लाभांश प्रस्ताव गर्ने बाटो खुल्यो, १५ वटाको एक्चुअरी भ्यालुयसन स्वीकृत

Jan 16, 2022 10:37 AM Merolagani

बीमा समितिले १५ वटा जीवन बीमा कम्पनीहरुको बीमांकिय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) प्रतिवेदन स्वीकृत गरेको छ। समितिले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को एक्चुअरी भ्यालुएसन स्वीकृत गरेको हो।

बीमा समिति स्रोतका अनुसार एक्चुअरी भ्यालुएसन स्वीकृत हुनेमा एलआईसी नेपाल, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, मेट लाइफ, नेशनल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ र यूनियन लाइफ रहेका छन्।

यस्तै गुराँस लाइफ, रियायबल नेपाल लाइफ, सानिमा लाइफ र राष्ट्रिय बीमा संस्थानको एक्चुरी भ्यालुएसन भने स्वीकृत हुने क्रममा रहेको समितिले जनाएको छ।

एक्चुअरी भ्यालुएसन स्वीकृत भएका कम्पनीहरुमध्ये नेप्सेमा सूचीकृत एलआईसी नेपाल, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ गत आर्थिक वर्षको मुनाफाबाट लाभांश समेत प्रस्ताव गरिसकेका छन्।

लाभांश प्रस्ताव गरेका प्राइम लाइफ, सूर्या लाइफ र रिलायन्स लाइफले भने प्रस्तावित लाभांश साधारण सभाबाट पारित समेत गरिसकेका छन्। यस्तै एलआईसी नेपाल, एशियन लाइफ र ज्योति लाइफले भने लाभांश पारित गर्न साधारण सभा बोलाएका छन्।

यस्तै, महालक्ष्मी लाइफ, मेट लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र प्रभु लाइफले पनि बीमीतलाई वितरण गर्ने बोनस दर सार्वजनिक गरेका छन्।

नेपाल लाइफ, नेशनल लाइफ र यूनियन लाइफले भने अहिलेसम्म बीमितलाई वितरण गर्ने बोनसदर र शेयरधनीलाई वितरण गर्ने लाभांश सार्वजनिक गरेका छैनन्।

बीमा समितिबाट बीमांकिय मूल्यांकन प्रतिवेदन स्वीकृत पाइसकेकाले बाँकी जीवन बीमा कम्पनीहरुले पनि छिटै बीमितलाई प्रदान गर्ने बोनस दर र शेयरधनीलाई वितरण गर्ने लाभांश सार्वजनिक गर्न सकिने समिति स्रोतले जनाएको छ।

परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका कम्पनीहरुलाई बीमा समितिले आर्थिक वर्ष २०७४/७५ देखि अनिवार्य रुपमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणाली लागू गर्दै सोही अनुरुप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो।

बीमा समितिको निर्देशन अनुसार हालसम्म पनि बीमा कम्पनीहरुले समयमै एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न सकिरहेको छैन।

नेपालमा बीमांकिय मूल्यांकन गर्ने व्यक्ति (एक्चुअरी) को अभावमा एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न नसकेका हुन्।

नेपालमा एक्चुअरीको जनशक्ति नहुदाँ बीमा कम्पनीहरुले विदेशी जनशक्तिको मुख ताक्नु पर्ने बाध्यता अझै कायमै छ। जसले गर्दा बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण तयार पार्न नसकिएको बीमा समितिको भनाई छ।

तोकिएको प्रणालीमा वितीय विवरण तयार पार्न नसक्दा लाभांश प्रस्ताव गर्ने देखि साधारण सभा बोलाउन ढिलाई हुने गरेको छ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष शुरु भएको ६ महिना भित्रै साधारण सभा सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ। त्यस अनुसार जीवन बीमा कम्पनीहरुले पनि गत शुक्रबारसम्ममा गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नु पर्ने थियो।

तर, जीवन बीमा कम्पनीहरुले भने एक्चुअरी अभावको कारण देखाउदै अघिल्लो आर्थिक वर्षको समेत साधारण सभा बोलाउन सकेका छैनन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।