क्लोज आउटमा पर्दा लगानीकर्ताले तिरे ७ करोड जरिवाना, बिक्री गरेको शेयर भुक्तानी नगर्दा समस्या बढ्यो

Jan 18, 2022 11:39 AM Merolagani

सुधा देवकोटा

दोस्रो बजारमा शेयर बिक्री गरेर लगानीकर्ताहरूले शेयर भुक्तानी इडिआईएस नगर्दा क्लोज आउटको समस्या बढेको छ। 

शेयर बिक्री गरेर इडिआईएस नगर्दा क्लोज आउटमा पर्ने कारोबार सङ्ख्यामा वृद्धि भएको केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)का प्रवक्ता सुरेश न्यौपानेले बताए। सिडिएससिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ९५ लाख ७५ हजार ५६८ वटा कारोबार क्लोज आउटमा परेका छन्। जुन कारोबार मार्फत एक अर्ब ८५ करोड ३१ लाख ६७ हजार २६९ कित्ता शेयर ८ खर्ब ८० अर्ब १८ करोड ९४ लाख रुपैयाँमा किनबेच भए। जसबाट लगानीकर्ताले सात करोड ३९ लाख ३८ हजार रुपैयाँ क्लोज आउटमा परे बापत जरिवाना तिरे।

गत आर्थिक वर्ष भरिमा शेयर कारोबारीले १५ करोड ३५ लाख ३८ हजार रुपैयाँ क्लोज आउट मार्फत जरिवाना तिरेका थिए। गत आर्थिक वर्षको पछिल्लो ६ महिनामा भने कारोबारीले ५ करोड ७७ लाख २४ हजार रुपैयाँ क्लोज आउट जरिवाना तिरेका थिए। गत वर्षको पहिलो ६ महिनामा तिरेको रकम सँग चालु वर्ष उठेको क्लोज आउट रकमको तुलना गर्दा चालु वर्षको उठ्थी थप बढेको छ।

 चालु आर्थिक वर्षको भदौ महिनामा नेप्से सूचकले अहिलेसम्मकै उच्च विन्दु छोएको थियो। यस वर्षकै उच्च भ्योलुमका साथ कारोबार हुँदा क्लोज आउटमा पर्ने कारोबार सङ्ख्यामा पनि वृद्धि भएको लगानीकर्ताहरूको ठम्याइ छ। बजार बढ्न थालेपछि बजारमा नयाँ लगानीकर्ताहरू भित्रने क्रम बढ्छ। तिनै नयाँ लगानकर्ताले दोस्रो बजारमा कारोबार गर्दा शेयर बिक्री गरेको शेयर भुक्तानी नगर्दा क्लोज आउटको समस्या धेरै देखिने गरेको न्यौपानेको भनाई छ।

प्रविधिको प्रयोग सँगसँगै मेरो शेयर मार्फत नै अनलाइन इडिआईएस गर्न सकिने सुविधा भएपछि क्लोज आउटको समस्यामा केही कमी आएको छ। तर बजारमा देखिएको उक्त समस्या शतप्रतिशत समाधान हुन भने सकेको छैन। लगानीकर्ताले शेयर बिक्री गरेपछि कारोबार सकियो भनेर ढुक्क हुँदा पनि यस्तो समस्या देखिने गरेको छ। साधरणतया क्लोज आउटको समस्या लगानीकर्ताहरू नै गम्भीर भएमा मात्र समाधान हुन सक्छ। बजारमा शेयर बिक्री गरेपछि आफ्नो दायित्व सकियो भन्ने नसोची इडिआईएस गर्ने हो भने अहिलेको लागि केही कम गर्न सकिने न्यौपानेको बुझाई छ। “विगतमा बिक्री गरेको डिआईएस बुझाउन ब्रोकर नै धाउन पर्ने भएकाले समस्या थियो। तर अहिले अनलाइन मार्फत नै सम्पूर्ण काम गर्न सकिदा पनि क्लोज आउटको समस्या बढ्नु लगानीकर्ता आफू सजग नभएको बुझिन्छ” न्यौपानेले भने।

दोस्रो बजारमा अनलाइन मार्फत कारोबार हुन थालेदेखि डिपि चेक गरेर मात्र शेयर बिक्री गर्न सक्ने व्यवस्था छ। उक्त सुविधाले बजारमा क्लोज आउटमा पर्ने समस्या साम्य हुने आम सरोकारवालाहरूको बुझाई थियो। तर प्रविधिले राम्रोसँग काम नगर्दा पनि क्लोज आउटको समस्या नघटेको हो।

हाल सञ्चालनमा रहेको कारोबार प्रणाली टिएमएसले पूर्ण रुपमा डिपि होल्डिङको काम नगरेकाले क्लोज आउटको समस्या नरोकिएको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए। पछिल्लो समय दुई तीन कारणले गर्दा क्लोज आउट हुने गरेको उनको भनाई छ। पहिलो कारणको रुपमा लागनीकर्ताहरुले डिम्याट खातामा शेयर भए नभएको नहेरी टिएमएसमा देखाएको भरमा आफ्नो खातामा नहेरी बिक्री गर्दा क्लोज आउटको समस्या बढेको मैनालीको जिकिर छ।

निरन्तर रुपमा बजार बढ्यो भने लगानीकर्ताले बिक्री गरेको शेयर दिन मान्दैनन्। जुन दोस्रो कारणको रुपमा मैनालीले औँल्याए। तेस्रो कारणको रुपमा लगानीकर्ताहरूले शेयर बिक्री गरेर इडिआइएस गर्न बिर्सँदा समस्या हुने गरेको हो।

लगानीकर्ताले बिक्री गरेको शेयर दिन नसके कारोबार गरिएको मूल्यको आधारमा २० प्रतिशत जरिवाना तिर्नुपर्छ। शेयर बिक्री गरिसकेपछि खरिद कर्तालाई शेयर नदिँदा नै बिक्री कर्ता क्लोज आउटमा पर्छन्। क्लोज आउटमा परेका बिक्री कर्ताले नियम अनुसार क्ल्लोज आउट जरिवाना स्वरूप २० प्रतिशत तिर्नु पर्छ। बिक्री गरेका लगानीकर्ताबाट प्राप्त २० प्रतिशत रकम खरिदकर्ताले पाउँछन्। तर खरिदकर्ताले पाउने २० प्रतिशत रकमबाट सरकारलाई २५ प्रतिशत आकस्मिक लाभकर तिर्नु पर्छ। जस्तै कुनै बिक्री कर्ताले एक सय रुपैयाँको कुनै कम्पनीको शेयर बिक्री गर्‍यो। तर उसले उक्त शेयर खरिदकर्तालाई दिन मानेनन् भने उसले २० प्रतिशतले हुन आउने २० रुपैयाँ जरिवाना तिर्नु पर्छ। उक्त २० रुपैयाँ पाउने खरिदकर्ताले उक्त २० रुपैयाँको २५ प्रतिशत हुन आउने पाँच रुपैयाँ सरकारलाई बुझाउनु पर्छ।  

बढ्दो बजारमा लगानीकर्ताले बिक्री गरेको शेयर भुक्तानी नगर्ने समस्या नयाँ भने होइन। लामो समयदेखि दोहोरिँदै आएको सरोकारवालाहरूको आरोप छ। यसरी लगानीकर्ता नियत बस क्लोज आउटमा पर्ने गरेको भएपनि धेरैजसो लगानीकर्ता भने अनजानमा कल्लोज आउटमा पर्ने गर्छन्। दोस्रो बजारमा कारोबार गर्न अभ्यस्त नभएको कारण उनीहरू क्लोज आउटमा पर्ने गरेका हुन्। तर नियत बस हुने क्लोज आउटलाई व्यवस्था गर्न तर्फ भने सम्बन्धित निकायले तत्काल कदम चाल्नु पर्ने जानकारहरूको सुझाव छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।