मुख्यतया चार कारणले ग्लोबल आइएमई ‘नम्बर वान’ बैंक बन्न पुग्योः बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ढकाल

Jan 24, 2022 05:52 PM Merolagani

बैंकहरुले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । लगानीयोग्य रकम (तरलता)को अभावका बीचमा पनि केही बैंकहरुले उल्लेख्य नाफा कमाएका छन् । धेरैजसो बैंकहरुको नाफामा भने गत वर्षको सोही अवधिको तुलनामा कमी आएको छ ।

चालु आवको पहिलो ६ महिनामा सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । त्यसपछि दोस्रो नम्बरमा एनआइसी एशिया बैंकले नाफा कमाएको छ । तेस्रो धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । यी तीन बैंकबीच नाफामा कसले बढी कमाउने प्रतिस्पर्धा नै चलेको छ ।

सबैभन्दा बढी नाफा कमाउने ग्लोबल आइएमई बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालसँग मेरोलगानीका विष्णु बेल्वासेले बैंकहरुले दोस्रो त्रैमासिक अवधिसम्मकाे वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुको पुससम्मको वित्तीय विवरणमा धेरैजसो बैंकहरुको नाफा खासै बढेको देखिदैन, केही बैंकहरुले भने राम्रै नाफा गरेको देखिन्छ । किन यस्तो भएको हो ? भनि प्रश्न गरेका छन् । त्यसको उत्तर दिँदै उनले भने,

बैंकहरुको निष्कृय कर्जाको असुली, गैरकोषमा आधारित व्यापारमा भएको वृद्धिबाट शुल्क तथा कमिशन आम्दानीको वृद्धि लगायतका कारणबाट नाफा बढेको देखिन्छ । साथै, अघिल्लो त्रैमासमा जुन बैंकहरुले धेरै कर्जा प्रवाह गर्न सके ति बैंकहरुको व्याज आम्दानीले गर्दा यस त्रैमासमा राम्रै नाफा देखिएको छ । निक्षेपमा खासै वृद्धि नहुँदा पनि कर्जामा भएको वृद्धिले कर्जाको व्याज आम्दानीको तुलनामा निक्षेपमा व्याजदर बढेता पनि व्याजखर्च कम हुनगयो, यसले पनि नाफा बढ्नमा सहयोग पुग्यो । बैंकहरुको लगानीको प्राथमिकताको क्षेत्र फरक हुँदा पनि यस्तो उतारचढाव हुनजान्छ ।

धेरैजसो बैंकको नाफा घट्नुको पछाडिको कारण के होला ?

वित्तीय बजारमा देखिएको तरलता संकुचनको कारणबाट निक्षेपको वृद्धि कम हुनाले कर्जा प्रवाह कम भयो र नाफामा प्रत्यक्ष असर गरेको छ । नाफा नबढ्नुमा निष्कृय कर्जाको असुली प्रभावकारी नहुनु र पछिल्लो समय परिचालन भएको निक्षेपको ब्याजदरको बढोत्तरीले व्याज खर्च बढेको छ जसको प्रभाव नाफामा पर्न गयो ।

केही बैंकको नाफा उल्लेख्य रुपमा बढनुको कारण के होला ?

शुल्क तथा कमिशन आम्दानीमा वृद्धि, निष्कृय कर्जाको उचित व्यवस्थापन, परिपक्क नभएका मुद्धती निक्षेपको व्याजदरको प्रभाव पुरै नआइसकेकोे र खर्चहरुमा मितव्ययीता अपनाएका बैंकहरुले रामै्र गरेका छन् । साथै तरलता सहज भएको अवस्था अर्थात अघिल्लो त्रैमासमा कर्जाको राम्रो वृद्दि गरेका कारण यस त्रैमासमा राम्रै नाफा देखिएको हो ।

ग्लोबल आइएमइ बैंक नाफाका हिसाबले नम्बर वान बन्न पुगेको छ । के कारणले बैंकको नाफा सबैभन्दा बढी हुन पुग्यो ?

खासगरी पहिलो त्रैमासमा कर्जामा भएको वृद्दि, निष्कृय कर्जाको प्रभावकारी असुलीका कदम, शुल्क तथा कमिशन आम्दानीमा गरिएको वृद्दि तथा खर्चहरुमा गरिएको नियन्त्रणले नम्बर वान बन्न सफल बनायो । कर्जा असुलीमा बैंकका सबै शाखाहरु सक्रिय रहे । ३२०० कर्मचारीहरुको मेहनत र लगनशीलताको नतिजा यसमा देखिएको छ । साथै, बैंकको आकार ठूलो भएकाले पूँजी पनि बढी छ जसले गर्दा प्राकृतिक रुपमा नै ठूलो पूँजी तथा व्यवसाय भएको बैंक हुनाले नाफाको आकार पनि ठूलो हुन पुगेको हो ।

कुन कुन वित्तीय सूचकमा ग्लोबल आइएमइ बैंक उत्कृष्ट छ ?

खुद नाफा, शुल्क तथा कमिशन आम्दानी, वितरणयोग्य नाफा, शेयर पूँजी जस्ता सूचकमा उत्कृष्ट छ । साथै शाखा संजाल, दक्ष जनशक्ति, ब्राण्ड इमेजमा समेत बैंक अग्र स्थानमा छ ।

अहिलेसम्म पनि लगानीयोग्य रकमको अभाव बैंकहरुले खेपिरहेका छन् । यस्तो अभाव कहिलेसम्म खेप्नु पर्ला जस्तो तपाईलाई लागेको छ ?

तरलताको अवस्थामा सुधार आउन केही समय लाग्ने जस्तो देखिएता पनि बिस्तारै यो अभाव कम भइरहेको छ । यसका लागि सरकारबाट हुने पूँजीगत खर्चमा वृद्दि हुनु पर्ने पनि देखिन्छ ।


सरकारले पूँजीगत खर्च गर्न नसकेका कारण लगानीयोग्य रकमको अभाव हुन पुगेको हो भन्ने गरिन्छ । के सरकारले पूँजीगत खर्च गर्न नै नसकेका कारण तरताको अभाव भएको हो ?

सरकारले गर्ने खर्चले पनि तरलतामा अहम् भमिका खेलेको हुन्छ । पूँजीगत खर्च मुख्य कारणको रुपमा रहेता पनि यसले मात्र तरलता अभाव निम्त्याएको भने पक्कै हैन । विपे्रषणमा आएको कमी, उच्च आयात जस्ता कारणहरुले पनि भूमिका खेलेका छन् ।

तपाईले तत्काल लगानीयोग्य रकमको अभाव कम हुने सम्भावना कत्तिको देख्नु भएको छ ?

अर्थतन्त्र बिस्तारै चलायमान भइरहेको बेला कोभिड १९को तेस्रो लहरले फेरि केहि समस्या ल्याएको छ । जसको कारणले गर्दा विकास निर्माण तथा अन्य पूँजीगत खर्चहरु हुने क्षेत्रमा ठूलो समस्या हुने जस्तो नदेखिएता पनि केही सिथिलता आउन सक्ने देखिन्छ र यसले गर्दा सरकारले गर्ने खर्च तथा भुक्तानीमा पनि ढिलाई हुन सक्छ । यसले बैंकिङ च्यानलमा आउने लगानीयोग्य रकम बढ्नमा केही समय पर धकेलिदिने जस्तो देखिएता पनि वर्तमान तरलताको समस्या लामो समय रहँदैन भन्ने लाग्छ ।

अहिले पनि बैंकहरु ऋण दिन नसक्ने अवस्थामा नै छन् हो ?

ऋण दिनै नसकिने अवस्थामा चाँहि छैनन् । तरलता तथा श्रोतको अभावले गर्दा अपेक्षित रुपमा कर्जा प्रवाह हुन नसकेको हो । ठूलो मात्राको कर्पोरेट कर्जामा केहि बैंकले केही मात्रामा नियन्त्रण गरेको जस्तो देखिएता पनि कन्जुमर कर्जा भने सबै बैंकहरुले प्रदान गरिरहेका छन् भन्ने मलाई लाग्छ ।

अहिले निक्षेप बढ्नु पर्ने हो । तर, के कारणले बढ्न सकेको छैन् । निक्षेप कहाँ गयो भन्ने कुरा पनि छ नि ?

हो अहिले निक्षेप बढ्नु पर्ने हो तर पूँजीगत खर्चहरु हुने क्षेत्रमा समयमा काम नहुनु, विपे्रषणमा आएको कमी तथा आयातको वृद्धिले निक्षेप सङ्कलनमा कमी आएको हो । कोभिड दोस्रो लहर पछि व्यापार व्यवसायमा राम्रै वृद्धिभएको हो । अझ आयत त चुलिएकै स्थानमा पुगेको हो, कोभिड समायावधिभर हुन नसकेको आयत एकै समयमा हुँदा निश्चय नै स्रोत त ठूलै रुपमा बाहिर जाने नै भयो । यी सवै तत्वहरुको असरहरुबाट निक्षेप र तरलता कमीमा देखिएको हो ।

विदेशबाट बैंकहरुले ऋण ल्याउने अनि त्यसरी ल्याइएको रकम नेपालमा लगानी गर्ने पनि गरेको पाइन्छ । यसभन्दा अघि पनि केही बैंक तथा वित्तीय संस्थाले ऋण लिएर पनि लगानी गरेका छन् । लगानीयोग्य रकमको अभाव भएको अवस्थामा त्यसरी ऋण लिएर पनि लगानी गर्न सकिने सम्भावना कत्तिको देख्नु भएको छ ?

हो, विदेशबाट ऋण ल्याएर यहाँ लगानी गर्न सकिने अवस्था छ । हाम्रो बैंकले पनि विदेशबाट श्रोत परिचालन गरेकोे छ । यद्यपी, विदेशबाट ऋण लिन निकै लामो प्रकृया अपनाउनु पर्ने, ऋण प्रदायक संस्थाले बैंकलाई विश्वास गर्नु पर्ने, स्वीकृत ऋण विदेशी मुद्रामा प्राप्त हुने हुनाले नेपाली मुद्रामा रुपान्तरण गर्दा ‘हेजिङ’को लागत पर्ने र सो लागत समेत गणना गर्दा व्याजदर यहांको बजारको जस्तै पर्न जाने जस्ता कारणले त्यति प्रभावकारी हुन सकेको छैन ।

वाणिज्य बैंक बढी भए भन्ने कुरा पनि आएको छ । मर्जरका कुरा पनि आएका छन् । बैंकहरु एक अर्कामा मजर्र हुने सम्भावना कत्तिको देख्नु भएको छ ? ग्लोबल आइएमइ बैंक मर्जरमा जाने वा कुनै बैंक तथा वित्तीय संस्थालाई एक्वायर गर्ने कुरा केही भएको छ कि ?

हो बढी भएरनै बिगतमा मर्जर तथा प्राप्तिभएका हुन् । बैंकको आफ्नो आवश्यकता तथा योजना अनुसार मर्जर÷प्राप्तिका कुराहरु आउँछन् । विगतमा मर्जर तथा प्राप्तिको नीतिलाई प्राथमिकताका साथ अगिंकार गरी यस बैंकले १८ वटा विभिन्न बैंक वित्तीय संस्थाहरु आफुमा समाहित गरिसकेको छ । थप मर्जर÷प्राप्तिको लागि यस बैंकलाई अत्यावश्यक छैन यद्यपी उपयुक्त संस्थाबाट आउने मर्जरको प्रस्तावलाई बैंकले सधैं नै जस्तै छलफलको लागि ढोका खुला राखेको छ ।

तपाईहरुको टिमबाट ग्लोबल आइएमइ बैंक राम्रो हुने छ भन्ने अपेक्षा धेरैले गरेका छन् । ग्लोबल आइएमइ बैंकलाई नयाँ उचाइमा पुर्याउन के कस्ता योजना बनाएर अगाडि बढ्दै हुनुहुन्छ ?

हो, ग्लोबल आइएमई बैंकको टिम धेरै राम्रो र कुशल छ । कर्मचारीहरु मेहनती छन् । संचालक समितिको मार्गनिर्देशन र कर्मचारीहरुको मेहनतले गर्दा नै बैंक पहिलो स्थानमा पुगेको छ । यसलाई अझ नयाँ उचाइमा पुर्याउन आफ्नो रणनीतिक योजना अनुरुप, सन्तुलित व्यवसाय विस्तार, डिजिटल प्रविधिलाई थप प्रभावकारी बनाई सेवा पु¥याउने, गैरकोषमा आधारित आयका स्रोतको वृद्दि, बैंककै महत्वपूर्ण सम्पत्ति मानव स्रोत तथा नेपाल अधिराज्य भर रहेका बैकका सबै श्रोत तथा संजालको अझ प्रभावकारी रुपमा परिचालन गर्ने योजना रहेका छन् ।

बैंकका भावी योजना के के छन् ?

बैंकले गत वर्षदेखि ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम कार्यान्वयन गरेको छ । यसको मूलभुत लक्ष्य भनेको सबै वित्तीय अंक तथा सुचकहरुमा दोब्बर वृद्दि हासिल गर्नु हो । यसका लागि आन्तरिक काम कारबाहीलाई ‘अटोमेशन’ गर्दै लैजाने र ग्राहकहरु माझ पनि डिजिटल बैंकिङ अभ्यासलाई बढाउँदै लैजाने, सेवा सुविधाहरुलाई परिष्कृत तथा विस्तार गरी सरल बैंकिङमा अभ्यस्त बनाउँंदै जाने कार्यनीति छन् । यसका अतिरिक्त ‘प्रोसेस रिइन्जियरिङ’ गर्दै उत्पादकत्व बढाउने र ग्राहकहरुलाई बैंकमा नआइकनै बैंकिङ कारोवार गर्न सक्ने अवस्थामा पु¥याउने जस्ता योजना रहेका छन् ।

अरु बैंक भन्दा ग्लोबल आइएमइ बैंक नै सेवाग्राहीले किन रोज्ने ? सेवाग्राहीलाई आकर्षित गर्न के कस्ता योजना ल्याउँदै हुनु हुन्छ ?

बैंकको ७६ वटै जिल्लामा उपस्थिति रहेको र छिट्टै ७७ वटामै पु¥याउने तयारी रहेको छ । छिटै नै बैंक सबै जिल्लाहरुमा पुग्ने पहिलो बैंक बन्दैछ । विदेशमा समेत प्रतिनिधी कार्यालयहरुरहेकाले ग्राहक पहुँच धेरै नै छ । यसले गर्दा ग्राहकहरुलाई रेमिट्यान्सको सहज सेवा उपलब्ध भएको छ ।

निक्षेप तथा कर्जा सेवाका साथसाथै प्रविधिमा आधारित आधुनिक सुविधाहरु जस्तै डेबिट तथा क्रेडिट कार्ड, विदेश भ्रमणको लागि ट्राभल कार्ड, घरबाटै कारोवार गर्नको लागि मोवाइल बैंकिङ, विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि ‘एजुकेशन’ कर्जा तथा कलेजहरुमा पैसा पठाउने सुविधा, बालकदेखि जेष्ठ नागरिकहरु लगायत सबै ग्राहकहरुलाई समेट्ने खालको सेवा तथा सुविधाको उपलब्धता, ग्राहकहरुको गुनासो तथा जिज्ञासाको लागि ‘सेल सेन्टर लगायतको व्यवस्था, धेरै पूँजी भएकोले सबल र सुरक्षित, दक्ष, अनुभवी तथा ठूलो संख्याको मानव श्रोत आधार, बैंकको स्थापित ‘बान्ड इमेज’, दुरदर्शी संचालक समिति, जस्ता विशेषताले गर्दा यो बैंकको ‘सबैको लागि बैंक’ भन्ने मुल नारालाई सार्थक बनाएको छ र सबै सेवाग्राहीको रोजाइमा परेको छ ।

सेवाग्राहीलाई आकर्षित गर्न बैंकले समयसापेक्ष नयाँ योजना सार्वजनिक गर्दै आइरहेको छ । हाइब्रिड बचत योजना, मेरी उनीलाई मुद्दती खाता जस्ता योजनाहरुले सबै ग्राहकहरुको मन जित्न सफल भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।