शनिबार रातिको अपहरणको घटना बाहिरिएको दुईदिनपछि सो राइडर आवद्ध कम्पनी पठाओले विज्ञप्ती जारी गर्दै अफलाइन राइडनै प्रमुख कारण भन्दै पन्छियो ।
र, भन्यो ‘ ‘रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ। कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन,’ पठाओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन। उनले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो।’
तर,पछिल्लो समय सेयर राइडिङको नाममा फैलिएको विकृतिका कारण राइडर र यात्रुको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पटक पटक यस्ता प्रकारका घटना भएपनि सम्बन्धित कम्पनी पन्छिएर राइडरलाई नै दोष थम्याउँदै आएको छ ।
अफलाइन यात्रु ओसार पसारकै कारण छुरा प्रहारदेखि यौन दुर्व्यवहारसम्मका घटना यात्रु तथा राइडरले भोग्दै आएका छन । यी घटना बारम्बार बाहिर आए पनि सरकार सेयर राइडिङ कम्पनीलाई नियमन गर्न अहिलेसम्म कानुन बनाउन सकेको छैन ।
अहिले बढी पैसा कमाउने लोभमा अफलाइन राइडको नाममा बार्गेनिङ गरेर यात्रु ओसारपसार गर्ने ,बढी पैसा असुल गर्ने प्रवृत्ति बढिरहेको सम्वन्धित कम्पनी नै स्वीकार गर्दै आएका छन ।
बिशेषगरी रातको समयमा बार्गेनिङ गरेर यात्रु ओसारपसार गर्ने ट्रेन बढेको छ । यो प्रवृतिलाई न त सम्वध्द कम्पनीले नियमन गर्छ न त सरकारलाई नै चासो छ ।
पठाओ नेपालका क्षेत्रिय निर्देशक आसीममान सिंह बस्न्यातले पछिल्लो समय बाहिर आएका जुनसुकै घटनामा अफलाइन राइड नै मुख्य कारण देखिएको कारण कम्पनी जिम्मेवार नहुने बताए ।
‘यो बिषयमा राइडरहरु नै दोषी देखिन्छन्’ बस्न्यातले मेरो लगानीलाई भने‘हामीले अरु प्लाटर्फम नचलाउ वा अफलाइन नचलाउ भनेर कारवाही गर्न मिल्दैन जसमा संधै पठाओकै नाम आइदिन्छ’ ।
राइड सेयरिङलाई सरकारले नै चलाउन दिएको कारण सरकारले नै अफलाइन चलाउने राइडरलाई नियामन गर्नुपर्ने उनको भनाई छ । उनले थप ‘हामीले यो बिषयमा जनचेतना फैलाउने बाहेको कुनै एक्सन लिन सक्देनौं ।
बाग्मती प्रदेश सरकारले राइड सेयरिङ कम्पनीलाई नियमन गर्ने भनेपनि नियम बाझिएको भन्दै बर्षौंदेखि पन्छिरहेको छ’ ।
उनका अनुसार ग्राहकले नै अफलाइन ट्रिप लिन बन्द गरिदिनु पर्छ जसले यस्ता घटना केही हदसम्म रोकिन्छ ।
नेपालमा यस्तै घटना बाहिर ल्याएर राइड सेयरिङ प्लाटर्फमलाई बिगार्न तथा विश्वास नगर्ने वातावरण बनाउने लागिएको बस्न्यात बताउँछन् ।
पछिल्लो समय मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा संवेदनशीलता झनै बढ्दै गएको कम्पनीहरुको दाबी छ ।