नेप्सेको सिइओको दौडमा रहेका डा. श्रेष्ठ धितोपत्र ऐन विपरीत सार्वजनिक रुपमा अर्बौको शेयर बिक्री गर्दै, नियामक मौन

Jan 28, 2022 06:21 PM merolagani

सुवास निरौला

धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा २९ मा धितोपत्र सार्वजनिक निष्कासन गर्नु पर्ने व्यवस्था छ। उक्त व्यवस्थाको दफा (१)मा “सङ्गठित संस्थाले एक पटकमा ५० जना भन्दा बढी व्यक्तिहरूलाई धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नु पर्ने छ” उल्लेख छ।

उक्त ऐन अनुसार ५० भन्दा बढीलाई शेयर बिक्री गर्ने हो भने सार्वजनिक निष्कासन गर्नु पर्ने हुन्छ। अन्यथा धितोपत्र बिक्री गर्न पाइन्न। कसैले धितोपत्र बोर्डको अनुमति बेगर ५० भन्दा बढीलाई सार्वजनिक आह्वान गरेर शेयर बिक्री गर्छ भने उक्त कार्य गैर कानुनी ठहरिन्छ।

तर उक्त कानुनमा लेखिएको कुराको खिल्ली उडाउँदै सार्वजनिक आह्वान गरेर धमाधम सर्वसाधारणलाई शेयर बिक्री गरिरहेको पाइएको छ। नेप्सेको प्रमुख कार्यकारी अधिकृतको दौडमा रहेका डा.केशव श्रेष्ठ उक्त कार्यमा संलग्न रहेको पाइएको हो। उनले विभिन्न सामाजिक सञ्जालहरूको प्रयोग गर्दै सार्वजनिक रुपमा शेयर बिक्री गरिरहेका छन्। आउने दिनमा एक अर्ब रुपैयाँ भन्दा बढीको लगानीकाे कम्पनी खोल्ने भन्दै धमाधम रकम सङ्कलन गरिरहेका हुन्। बकाइदा शेयर होल्डर नै बन्न भन्दै उनले पैसा उठाइरहेका छन्। उनले रकम सङ्कलन गर्न भन्दै सामाजिक सञ्जालमा १० हजार लगानीकर्ता भन्ने अभियान नै छेडेका छन्।  जुन अभियानमा ९ हजार चार सय भन्दा बढी लगानीकर्ता आवद्ध भइसकेको उनको दाबी छ। 

उनले गत माघ १० गते आफ्नो फेस बुक पेजमा लेख्दै उक्त दाबी गरेका हुन्।

दश हजार लगानीकर्ताहरू जुट्दै छन्

करिब ३ महिनाअघि साना लगानीकर्ताहरूलाई समेटेर ठुला कम्पनीहरू प्रवर्द्धन गर्न सकिएला कि भन्ने उद्देश्यका साथ अभियान सुरु गरियो । एक वर्षमा त १०,००० लगानीकर्ताहरूको नामावली बन्ला भन्ने आशा गरिएको थियो तर तीन महिनामै ९,४०० भन्दा बढी लगानीकर्ता साथीहरूले नामावलीमा आबद्ध भइदिनुभयो ।

हार्दिक आभार यो सक्रिय सहभागिताको लागि ।

यिनै ९,४०० लगानीकर्ताहरूको सक्रियता र ७०० जनाभन्दा बढीको उपस्थितिमा लक्ष्य होल्डिंग्स् लि. स्थापना गर्ने र क्रमशः यसले सहायक कम्पनीहरू बनाउँदै लैजाने दृष्टिकोणका साथ तदर्थ  समिति गठन ग¥यो। करिब ११०० जना लगानीकर्ताहरू उक्त कम्पनीको शेयर होल्डर बन्न आवेदन पनि गरिसक्नुभयो ।

देख्दै नदेखेकाचिन्दै नचिनेका देश विदेशका साना लगानीकर्ताहरूले देखाउनुभएको अपार विश्वास हो यो भन्छु म । यो विश्वासलाई हामी सधैँ कायम राख्न सकौँ । यो कामना गरौँ ।

अब २०२२ जनवरी ३१ हाम्रो अर्को समय सीमा हो । जनवरी ३१ सम्म कम्पनीमा आफूले आवेदन गरी प्रतिबद्धता जनाएको रकम शतप्रतिशत भुक्तानी गरी आबद्ध हुनुहुने लगानीकर्ताहरूको मात्र पहिलो चरणको शेयर होल्डर लगत बन्नेछ । त्यो शेयर लगत नेपाल सरकारकम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रमाणित भएपछि सबैलाई शेयर प्रमाणपत्र दिइनेछ ।

त्यसैले कोही पहिलो चरणमा नै आबद्ध हुन चाहनुभएको तर छुट्नुभएको छ भने ३१ जनवरी भित्रै आबद्ध भैहालौं । त्यसपछि आबद्ध हुनुहुनेहरुलाई दोस्रो चरणमा मात्र शेयर होल्डर लगत कायम गर्न सकिने भएकोले कहिलेसम्म दोस्रो चरण पूरा हुन्छ अहिले भन्न सकिन्न ।

१०,००० लगानीकर्ताहरूको नामावली थप्दै जाने क्रम निरन्तर छ । त्यसको लागि निम्न लिङ्कमा दर्ता गर्नुहोला । यसको लागि कुनै शुल्क लाग्दैन ।

https://forms.gle/C83Jc9xUNTzMajNY6

१ अर्ब पूँजी नपुगेसम्म लक्ष्य होल्डिंग्स् लि. को दोस्रो चरणको शेयर होल्डर बनाउने र लगत तयार पार्ने काम पनि निरन्तर चल्नेछ । त्यसको लागि निम्न लिङ्कमा भिजिट गर्नुहोला .

www.lakshyaholdings.com/form” श्रेष्ठले फेसबुकमा लेखेका छन्। 

स्वदेश तथा विदेशमा रहेका सर्वसाधारणलाले एक लगानी कम्पनी खोल्ने,उक्त कम्पनीको नाम लक्ष होल्डिङ राख्ने बताएका छन् भने स्थापित कम्पनी मूल कम्पनी हुने उनको भनाइ छ। जसले अन्य सहायक कम्पनी खोल्दै जाने छ। खोलिएको कम्पनीले केमा लगानी गर्छ भन्ने अझै स्पष्ट छैन। तर मूल कम्पनीले थप सहायक कम्पनी खोल्दै जाने र उक्त कम्पनीमा पनि यसैगरी लगानीकर्तालाई शेयर बेच्दै जाने उनले पोस्ट गरेको अर्को भिडियोमा भनेका छन्। उनको सर्वसाधारणसँग पैसा उठाउँदै गर्दा त्यसको व्याज समेत दिँदै जाने प्रलोभन दिएका छन्। उनले उक्त कम्पनीको शेयर होल्डर हुन कम्तीमा एक लाख रुपैयाँ लगानी गर्ने पर्ने शर्त राखेका छन्। कम्तीमा एक लाखदेखि बढीमा एक करोड रुपैयाँसम्म माग गरिरहेका श्रेष्ठलाई सर्वसाधारणले भने चासोपूर्वक लिइरहेका छन्।

त्यति ठूलो रकम सर्वसाधारणसँग सार्वजनिक रुपमा सङ्कलन गर्दा समेत सरकार र नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन देखिएको छ। सार्वजनिक रुपमा त्यति रकम सङ्कलन गरेको बारेमा सोध खोज गर्नुको सट्टा सरकारले उल्टै उनलाई पुरस्कृत गर्ने तयारी गरेकाे छ। नेप्सेको प्रमुख कार्यकारी अधिकृत जस्तो पद नै जिम्मा लगाउने तयारीमा सरकार छ। किनकि नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट समितिले उनलाई अन्तिम तीनमा पारेको छ। श्रेष्ठले आफ्नो नाम पार्न अर्थ मन्त्रीसँग सम्वन्ध बढाएकाे बुझिएको छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।