नेपाल राष्ट्र बैंकका अनुसार आइतबार मात्रै बैंकिङ प्रणालीमा १५ अर्ब रुपैयाँ अधिक तरलता थियो। १५ अर्ब रुपैयाँ देखिएपछि नेपाल राष्ट्र बैंकले केही राहतको सास समेत फेरेको थियो। किनकि यस अघि पाँच अर्ब रुपैयाँसम्म खुम्चिएको थियो। जसले गर्दा १५ अर्ब रुपैयाँ पुग्दा समेत राहतको सास फेर्नु पर्ने अवस्थामा राष्ट्र बैंक पुगेको थियो।
तर आइतबार बढेर १५ अर्ब पुगेको अधिक तरलता रात नबित्दै आधा भन्दा बढी गायब भयो। सोमबार प्रणालीमा अधिक तरलता आठ अर्ब मात्रै देखियो। जसले गर्दा केन्द्रीय बैंकले एक रात भन्दा बढी राहतको सास फेर्न पाएन।
सरकारको पूँजीगत खर्चले समेत पछिल्लो समय रफ्तार लिएको छ। तर सरकारले गर्ने खर्च “हात्तीको मुखमा जिरा” साबित हुन थालेको छ। सरकारले दैनिक खर्च बढाएर एक अर्बको हाराहारीमा पुर्याएको छ। महालेखाका अनुसार गत चैत १० गतेसम्म सरकारले ८५ अर्ब मात्रै पूँजीगत खर्च गरेको थियो। पछिल्लो १० दिनमा उक्त खर्च बढेर ९४ अर्ब रुपैयाँमा उक्लिएको छ। गत १० दिनमा मात्रै सरकारले ९ अर्बको हाराहरीमा खर्च गर्यो। तर उसको खर्च भन्दा १० गुणा बढी बजारमा पैसाको माग छ। जसले गर्दा सरकारको खर्चले समेत यति बेलाको सङ्कट मोचन गर्न सकेको छैन। पैसाको माग घट्नुको सट्टा थप बढ्दै गइरहेको छ। बढ्दै गइरहेको सङ्कटलाई टार्न बैंकहरुले हर सम्भव प्रयास गरिरहेका छन्। हरेक दिन जसो बैंकहरुले स्थायी तरलता सुबिधा प्रयोग गर्दै आएका छन्। गत साउन १३ गते देखि उक्त सुबिधा प्रयोग गर्न थालेका बैंकले १८० पटक उक्त सुबिधा मार्फत ५३ खर्व रुपैयाँ चलाइसकेका छन्। ओभर नाइट रिपोको समेत रफ्तार तीव्र छ। उक्त सुबिधा मार्फत मात्रै बैंकहरुले एक खर्ब ३६ अर्ब चलाएका छन्।
अन्तर बैंक ब्याजदर समेत आकासिएको छ। अधिकतम सात प्रतिशतसम्म कारोबार गर्न सकिने उक्त सुबिधा अहिले सात प्रतिशतकै हाराहारीमा छ। ६.८० देखि सात प्रतिशतकै हाराहारीमा अन्तर बैंक ब्याजदर रहेको केन्द्रीय बैंकका प्रवक्ता नारायण पोखरेलले बताए। राष्ट्र बैंकले गर्ने मुद्रा व्यवस्थापनले अहिलेको तरलता समस्या पार लगाउन सकिरहेको छैन। ऋणको उच्च मागले बजारमा पैसाको अभाव दिनानुदिन बढाउँदै लगेको छ।
जति जति प्रणालीमा पैसा अभाव बढ्दै गइरहेको त्यति त्यति शेयर बजारमा त्यसको असर पर्दै गइरहेको छ। प्रणालीमा पैसा कम भएको असर सम्पूर्ण बजारले भोग्दै आएको भएपनि त्यसको प्रत्यक्ष असर भने शेयर बजारमा देखिन थालेको छ।
गएको एक महिनादेखि शेयर बजार निरन्तर ओरालो उन्मुख छ। सोमबार मात्रै बजारले १४.८८ अंक गुमाउँदा सूचक २४९८.५३ अंकमा ओर्लिएर बन्द भएको छ। चैतमा पर्ने ब्याजकाे असरले शेयर बजारलाई तल लैजान सहयोग गरेको भन्दै लगानीकर्ताहरूले चित्त बुझाउँदै आएका छन्। तर प्रणालीमा गहिरिँदै गएको तरलताको सबैभन्दा बढी असर शेयर बजारमा देखिन थालेको छ। सोमबार मात्रै १५ अर्ब रुपैयाँबाट अधिक तरलता आठ अर्बमा खुम्चिदा बजार १४ अंक भन्दा बढीले खस्कियो। जति जति बैंकिङ प्रणालीमा तरलता चाप बढ्दै गएको छ। त्यसको असर शेयर बजारमा बढ्दै गइरहेको छ। प्रणालीमा तरलता अलिकति बढ्ने सङ्केत गर्ने बित्तिकै बजारले सकारात्मक प्रतिक्रिया दिने गरेको छ। ठुला लगानीकर्ताले बजारको तरलताको अवस्थालाई हेर्दै शेयर खरिद बिक्रीको रणनीति बनाउने गर्छन्। जसले गर्दा पनि बैंकिङ प्रणालीमा हुने तरलताले बजारको लयलाई डोर्याउदै आएको हो।