सर्वसाधारणलाई शेयर बिक्री गरेकाे लघुवित्त बजारबाट गायब,कता हरायो?

Apr 28, 2022 06:09 PM Merolagani

सुधा देवकोटा
सर्वसाधारणलाई शेयर निष्काशन गरेको झण्डै दुई वर्ष भईसक्दा समेत समाज लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार हुन सकेको छैन। आईपिओ बिक्री गरी दोस्रो बजारमा सूचीकृत भएको दिनबाट नै कारोबार बन्द भएको लघुवित्तको आजसम्म कारोबार हुन सकेको छैन।

दोस्रो बजारमा सूचीकृत भए लगत्तै स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता भएका कारण सूचीकृत भएको दिन नै लघुवित्तको दोस्रो बजारमा कारोबार रोक्का भएको थियो। सर्वसाधारणलाई शेयर बिक्री गर्नासाथै दोस्रो बजारमा कारोबार रोक्का भएको दुई वर्ष भइसक्दा समेत कारोबारमा आउने सुरसार गरेको देखिंदैन।

 

वर्षाैसम्म कम्पनीको शेयर कारोबार रोक्का हुँदा धितोपत्र बजारको नियमनकारी निकायले त्यसतर्फ विशेष ध्यान केन्द्रित गर्न नसकेको लगानीकर्ताहरुको आरोप छ। दुई संस्थाहरु बीच मर्जर तथा एक्विजिसन सम्झौता भंग हुँदैमा दोस्रो बजारमा कारोबार रोक्नुको कुनै औचित्य नभएको  नेपाल धितोपत्र बोर्डका कार्याकारी निर्देशक निरज गिरीको बुझाई छ। तर भंग भएको कम्पनीले अर्कोसँग गाभ्ने गाभिने र एकिकृत कारोबार भएपछि मात्रै कारोबार खुला हुने व्यवस्थाले समस्या गराएको जानकारहरु बताउँछन्।

मर्जर तथा एक्विजिसनसम्बन्धी कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन जरुरी भइसकेको गिरीले बताए। बजारमा सूचीकृत कम्पनीहरुका अरु नियमनकारी निकायहरुसँग छलफल गरी छिट्टै टुङ्गोमा लैजानेमा बोर्ड प्रतिवद्ध रहेको गिरीको दावी छ।

सूचीकृत कम्पनीहरुको मर्जर तथा एक्विजिसन सम्बन्धी कार्य शेयर संरचना सम्बन्धी भएकाले नेपाल धितोपत्र बोर्डको नियमन गर्नुपर्ने हुन्छ। यद्यपि अन्य निकायसँग पनि उचित छलफल नगरी नहुने भएकाले केही ढिला हुन पुगेको गिरीले स्पष्ट पारे। बोर्डले यस विषयको कार्यविधि सम्बन्धमा नेपाल राष्ट्र बैंकसँग छलफल गर्दा बैंकले केही सर्तहरु राखेपछि ढिला भएको उनको भनाई छ। नेपाल राष्ट्र बैंकसहित अन्य नियमनकारी निकायको पनि केही भुमिका भएतापनि प्रमुख जिम्मेवार बोर्डको नै हुने भएकाले छिटोभन्दा छिटो समस्याको समाधान गर्नेमा गिरीले प्रतिवद्धता जाहेर गरे। मर्जर तथा एक्विजिसन सम्बन्धी नियमावली बनाउन समय लाग्ने भए अहिलेको वर्तमान अवस्थामा देखिएको समस्या समाधान गर्ने गरि भएपनि काम गर्ने उनको भनाई छ।

दुई संस्थाहरु बिच उत्पन्न समस्याको मारमा सर्वसाधारण लगानीकर्ता परेका छन्। दुई लघुवित्तहरुबीचको आन्तरिक विषयमा कुरा नमिलेपछि मर्ज सम्झौता तोड्नु पर्ने अवस्था सिर्जना भएको समाज लघुवित्तका कार्यकारी अधिकृत किशोरी महतोले बताए। समाज लघुवित्तको विषेश साधारण सभाले स्वस्तिकसँगको मर्जर सम्झौता भंग गरेको थियो। अब चाँडै सोही संस्थासँग पुनः मर्जर गर्ने कुरामा छलफल हुँदै गरेको महतोले भने।

मर्जर खारेज भएपछि उक्त लघुवित्त अर्को संस्थासँग पुनः मर्जर नभएसम्म दोस्रो बजारमा शेयर कारोबार नहुने व्यवस्थाको कारण लगानीकर्ता मारमा परेका हुन्। बजारमा देखिएको यस्तो किसिमका व्यवस्थाले बजारप्रतिको विश्वसनियता विस्तारै खस्कँदो अवस्थामा रहेको छ।

यसरी सर्वसाधारणलाई शेयर बिक्री गरेर एकदिन पनि कारोबार नआई बजारबाट गाएब हुँदा समेत कम्पनीको खोजी नहुनुले बजारको हितमा काम गर्नुपर्ने बोर्ड माथि नै लगानीकर्ताले शंका गर्न थालेका छन्। आम्दानी होला भनेर गरेको लगानी वर्षौसम्म बन्धक हुँदा लगानीकर्ताहरु मारमा परेका छन्।

आफ्नो स्वामित्वमा रहेको शेयर अरु कसैको कारण भोगचलन गर्न नपाएर वर्षौसम्म रोक्का हुनुपर्दा बजारप्रति लगानीकर्ताको धारणा नकारात्मक रुपमा विकास भएको पाइन्छ। शेयर बजारलाई चल सम्पत्तिको रुपमा परिभाषित गरिएको पाइन्छ। तर आफ्नो स्वात्विमा रहेको सम्पत्तिलाई आवश्यकता अनुसार भोग चलन गर्न नपाउँदा आफ्नै सम्पति माथि अधिकारमा नै दखल पुगेको लगानीकर्ताहरुको ठम्याई छ। जसले शेयरलाई आवश्यक परेको अवस्थामा बिक्री गरेर नगदमा रुपान्तरण गर्न सकिने सिद्धान्तलाई पूर्णता दिन सकेको देखिदैन।

बोर्डले काम गर्दै गरेको बताउँदै आएको भएतापनि तत्काल उक्त समस्या समाधान हुनेमा लगानीकर्ताहरु विश्वस्त हुन सकेका छैनन्। सम्झौता खारेज गरेको लघुवित्त पुनः मर्ज तथा एक्विजिशनको लागि उपयुक्त संस्थाको खोजीमा लागेको छ। अब फेरि उक्त लघुवित मर्ज तथा एक्विजिसनमा गएपछि अझै कति अवधी लघुवित्तको शेयर बन्धक रहने हो यकिनका साथ भन्न सक्ने अवस्था छैन। मर्जको नाममा प्रक्रिया अगाडि बढाएर धितोपत्र बजारमा शेयर कारोबार रोक्का गरेको कम्पनीले अन्त्यमा शेयर समायोजन, सञ्चालक र कर्मचारीको विवाद नमिलेर मर्जर नै भाँडिने सम्भावना फेरि पनि नहोला भन्न सकिदैन।

लघुवित्तले २०७७ साल भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो। दुवै लघुवितहरु बिचमा असोज ५ गते एक आपसमा मर्जर हुने सम्झौता भएको थियो। जसलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले २०७७ फागुन २० गते गाभिन सक्ने सैद्धान्तिक सहमति दिएको थियो। मर्जर सम्बन्धी सबै प्रकृया पुरा गरेको सस्थाहरु बीचमा एकाएक कुरा नमिले पछि मर्जर प्रकृया नै भंग भएको थियो। अब फेरि सोही संस्थासँग मर्जरमा जाने तयारी हुँदै गरेको लघुवित्तले बताएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।