दुई पटक समय बढाउँदा पनि दुई वाणिज्य बैंकले जारी गरेनन् राष्ट्र बैंकले भने अनुसारको ऋणपत्र

May 27, 2022 12:43 PM Merolagani

नेपाल राष्ट्र बैंकले आगामी असार मशान्तसम्ममा चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेपनि दुई वाणिज्य बैंकले भने अहिलेसम्म ऋणपत्र जारी गर्नका लागि कुनै प्रकृया अघि बढाएका छैनन्।

केन्द्रीय बैंकले २०७७ साउन १२ गते परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा ऋणपत्र जारी गर्न निर्देशन दिएको थियो। तर सो अवधिमा सबै बैंकले ऋणपत्र जारी नगरेपछि २०७७ असारसम्म आफ्नो चुक्ता पुँजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नु पर्ने समयावधि २०७९ असार मसान्त पुर्याइएको थियो। तर सो अवधिमा पनि सबै बैंकले ऋणपत्र जारी गर्न नसक्ने देखिएको छ।

चालु आर्थिक वर्ष सकिन अब २ महिनाभन्दा कम अवधि बाँकी छ । तर मेगा बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा समेत अनुमति मागेका छैनन्। ऋणपत्र जारी गर्नका लागि बैंकहरुले बोर्डसँग अनुमति लिनुपर्ने हुन्छ। बोर्डले अनुमति दिएपछि मात्र ऋणपत्र बिक्री गर्न पाउछन्।

सिभिल बैंकले केहि समय अघि मात्रै ऋणपत्र बिक्रीमा ल्याएको थियो भने सेञ्चुरी कमर्शियल बैंकले पनि ऋणपत्र निश्काशन गरेर बिहीबार मात्रै बाँडफाड गरेको छ। । २ महिनाअघिसम्म ऋणपत्र जारी नगर्ने ४ वटा बैंक रहेकोमा अब २ वटा मात्रै बाँकी रहेका छन्।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दुई वर्ष अघि नै पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो भने चालु आर्थिक वर्षको मौद्रिक नीतिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त कम्पनीहरुलाइ पनि आफ्नो पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले ऋणपत्रलाई अनिवार्य गरेसँगै धेरै बैंकले धमाधम ऋणपत्र जारी गर्न थालेका हुन्। गत आर्थिक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले गरी कुल ६५ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेका छन्। गत वर्ष १७ वाणिज्य बैंक, ५ विकास बैंक र १ फाइनान्स कम्पनीले ऋणपत्र जारी गरेका थिए ।

राष्ट्र बैंकले २ वर्ष अघि नै अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको भए पनि यी दुई बैंकले भने अहिलेसम्म कुनै प्रकृया अघि बढाएका छैनन्।

  • गत वर्ष ऋणपत्र जारी गर्ने बैंकलाई फाइदा

गत आर्थिक वर्षमा ऋणपत्र जारी गर्ने बैंकहरुलाइ फाइदा भएको छ। बैंकिङ्ग प्रणालीमा उच्च तरलता रहेको अवस्थामा निक्षेपको ब्याजदर घटेर निकै तल्लो विन्दुमा झरेको थियो।

निक्षेपको ब्याजदर घटेपछि बैंकहरुले ऋणपत्रको ब्याजदर समेत घटाएर साढे ८ प्रतिशतको हाराहारीमा झारे। निक्षेपको ब्याजदर सस्तो भएकोले सर्वसाधारणको पनि ऋणपत्रमा आकर्षण राम्रो देखियो।

अघिल्लो वर्षसम्ममा १० प्रतिशतभन्दा धेरै ब्याज दिएर ऋणपत्र जारी गरिरहेका बैंकहरुले गत वर्ष सस्तो ब्याजदरमा नै लामो अवधिको धेरै ऋणपत्र जारी गरे।

अहिले बैंकहरुले १ वर्ष अवधिको मुद्दती निक्षेपमा नै ११ प्रतिशत भन्दा माथि ब्याजदर दिन थालिसकेका छन्। अहिले ऋणपत्र बिक्री गर्नको लागि बैंकहरुले ऋणपत्रको ब्याजदर समेत बढाउनु पर्ने बाध्यता छ। यसले गर्दा उनीहरुको लागत केहि बढ्न जान्छ। गत वर्ष भने बैंकहरूले सस्तो ब्याजदरमा नै ऋणपत्र जारी गर्ने मौका पाए।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।