स्थानीय चुनावमा खर्च भएको पैसा बैकिङ प्रणालीमा आउन थालेपछि नेप्सेमा सुधार आएको छ । निरन्तर ओरालो यात्रा तय गरेको नेप्से मंगलबार १६.३२ विन्दु र बुधबार १४.३७ विन्दुले बढ्न पुगेको छ । २२ सय विन्दु भन्दा तल आइपुगेको नेप्से अहिले २२३१.५७ विन्दुमा पुगेको छ ।
चुनावमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आउन थालेपछि निक्षेप बढ्न पुगेको छ । एक साताको अवधिमा वाणिज्य बैंकमा ७ अर्ब निक्षेप थपिएको छ ।
बैंकर्स संघका अनुसार जेठ ६ गतेसम्म बैंकहरुले निक्षेप संकलन ७ अर्बले बढाएका ४२ खर्ब ६७ अर्ब रुपैयाँ पुर्याएका छन् । वैशाख ३० गतेसम्म ४२ खर्ब ६० अर्ब रुपैयाँ मात्र बैंकहरुले निक्षेप संकलन गरेका थिए ।
आर्थिक वर्षको अन्त्यतिर आएकाले कर्जा प्रवाहलाई भने बैंकहरुले खुम्चाएका छन् । एक साताको अवधिमा वाणिज्य बैंकले २ अर्ब कर्जा लगानी गरेका छन् ।
यस्तै कर्जा प्रवाह भने जेठ ६ गतेसम्म आइपुग्दा २ अर्बले बढेर ४१ खर्ब ९३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । वैशाख ३१ गते ४१ खर्ब ९१ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
मुलुकभर एकैपटक गत बैंशाख ३० गते ७५३ स्थानीय तहमा निर्वाचन भएको थियो । जस अन्तर्गत एकै पटक ७५३ गाँउ÷नगरपालिका लागि र ६७४३ वडाका प्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचनमा ७५३ स्थानीय तहका प्रमुख र ७५३ स्थानीय तहकै लागि उपप्रमुख गरी कुल १५०६ जना निर्वाचित भएका छन् । यसैगरी, ७५३ स्थानीय तहमा ६७४३ वडाहरु रहेका छन् । प्रत्येक वडामा वडा अध्यक्षदेखि सदस्यसमेत निर्वाचित भएका छन् ।
निर्वाचनमा जित हासिल गर्ने र अन्य पराजित उम्मेदवारले निकै ठूलो परिणामको रकम गाँउ गाँउमा खर्च गरेका थिए । सामान्य हिसाब किताब गर्दा पनि झन्डै ३० अर्ब रुपैयाँ स्थानीय निर्वाचनमा उम्मेदवारले खर्च गरेका थिए ।
निर्वाचनमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा आउन थालेकाले शेयर बजारमा सुधार देखिएको छ । निर्वाचन प्रचार प्रसारका लागि गाडी, होटलमा बस्न तथा खानामा धेरै रकम खर्च गरेका थिए । यस्तो, रकमले विकास निर्माणमा प्रत्यक्ष रुपमा टेवा नपुगेपनि आर्थिक गतिविधि चलायमान भएकाले राष्ट्रिय अर्थतन्त्रको लागि फाइदा पुगेको एक अर्थविद्ले बताए ।
‘कोरोना भाइरसको महामारीले शिथिल तुल्याएको अर्थतन्त्रलाई निर्वाचनका बेला भएका यस्ता क्रियाकलापले चलायमान बनाएको छ,’ उनले भने, ‘कोभिड १९ का कारण सबै भन्दा बढी होटल व्यवसाय, यातायातका साधन तथा पर्यटन क्षेत्रमा असर परेको थियो । ती क्षेत्रलाई निर्वाचनमा भएको आर्थिक क्रियाकलापले उकास्न मदत गरेको छ ।’
स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारले गरेका कार्यक्रमले त्यहाको आर्थिक गतिविधीलाई चलायमान बनाउने काम गरेको छ । बैंकिङ प्रणालीमा नआएको रकम समेत निर्वाचनपछि आएको छ ।
यसैगरी, विदेशमा रहेका नेपालीले अवैध रुपमा (हुन्डी) बाट पठाएको रकम समेत निर्वाचनमा खर्च भएको छ । बैधानिक रुपमा कमाइएको र अवैध रुपमा पठाइएको रकम समेत निर्वाचनमा खर्च भएको र त्यो रकम बैंकिङ प्रणालीमा आएकाले तरलता केही सहज भएको बैंकरको भनाइ छ ।
व्यपारीहरुबाट चन्दाको रुपमा उठाइएको रकम समेत निर्वाचनमा खर्च भएको छ । यसले पनि श्रीलंका जस्तो थिलोथिलो हुने अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउने काम गरेको छ ।